केही नियमहरु जारी राख्दै लकडाउन खुकुलो पार्ने जर्मनीको तयारी

विहीबार, ०४ बैशाख २०७७, ०७ : ५५
केही नियमहरु जारी राख्दै लकडाउन खुकुलो पार्ने जर्मनीको तयारी

एजेन्सी । लकडाउनले जनजिवन अस्तव्यस्त भएको भन्दै जर्मन चान्सलर आंगेला मर्केलले बिस्तारै लकडाउन खुकुलो पार्दै जाने घोषणा गरेकी छन् । कोरोना भाइरसको महामारी फैलिएका कारण संक्रमण बिस्तार नहोस् भन्नका लागि जर्मनी लकडाउनमा छ।

तर अब बिस्तारै केही खुकुलो बनाउँदै लैजाने घोषणा उनले गरेकी हुन् । तर सामाजिक दूरीसहितका नियमहरु भने कम्तिमा आउँदो मे ३ सम्म कायम रहने छन् । चान्सलर आंगेलाले पसल तथा सार्वजनिक स्थल वा सार्वजनिक बस चढ्दा मास्क अनिवार्य रुपमा लगाउन पुनः आग्रह गरेकी छन् । आउँदो हप्तादेखि केही पसलहरु खुला हुने छन् ।

यस्तै आउँदो मे ४ देखि विद्यालय पनि सञ्चालनमा आउने जनाइएको छ । कडा नियमका कारण महामारी नियन्त्रणको दिशामा देश गएको चान्सलर आंगेलाले उल्लेख गरेकी छन् । धार्मिक सभासहित ठूला सार्वजनिक कार्यक्रमहरु आउँदो अगस्ट ३१ सम्म बन्द रहने छन् । यस्तै बार, क्याफे, रेस्टुरेन्ट, चलचित्र घर तथा सांगीतिक कार्यक्रम स्थलहरु पनि बन्द नै हुने छन् ।

जर्मनीको आधिकारिक तथ्यांक अनुसार अहिलेसम्म एक लाख २७ हजार ५८४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने कोभिड–१९ बाट ३ हजार २ सय ५४ जनाको निधन भएको छ ।

प्रतिक्रिया दिनुहोस