पात्रोबिहिन बने घरका भित्ता, सित्तैमा पाउने लोभमा पात्रो नकिन्दा तिथिमिति हेर्न समस्या

प्रकाश सिग्देल

मंगलबार, ०२ बैशाख २०७७, १५ : ४५
पात्रोबिहिन बने घरका भित्ता, सित्तैमा पाउने लोभमा पात्रो नकिन्दा तिथिमिति हेर्न समस्या

– प्रकाश सिग्देल
चितवन । कोरोनाको कहरकाबीच पुरानो वर्षलाई बिधाई गरेका हामिले नयाँ वर्षको गणना गर्ने हाम्रो मुख्य आधार भित्ते पात्रो भने घरघरमा भित्र्याउन सकेनौं । बजारमा भित्तेपात्रो तथा पात्रो फाल्गुणको अन्तिमतिर आईसके पनि सर्वसाधारणले पात्रो किनेर लाने चलन त्यति नभएकाले अहिले सर्वसाधारणहरुले पात्रो पाउन नसकेको बिक्रेताहरु बताउँछन् । 

पूजा सामाग्रीको होलसेल बिक्रेता दैनिक पूजा सामाग्री पुतली बजारका सञ्चालक बिनोद ढकालले लक डाउनले पात्रो छपाईमा कुनै असर नगरेको र पञ्चाक निर्णायक समितिले तिथि मिति फाइनल गरेपछि फागुणको अन्तिम तिर बजारमा पात्रो आइसकेको बताउनु भयो ।

केही वर्षदेखि विभिन्न संघ, संस्था, स्कुल, कलेज, मठमन्दिर लगायत सबैले पात्रो छापेर बाँड्ने चलन रहेको र लकडाउले गर्दा उनिहरुले पात्रो छाप्न नपाएकाले सर्वसाधारणले भित्ते पात्रो पाउन नसकेको ढकाल बताउनु हुन्छ । भित्ते पात्रो तथा पात्रो किन्न चाहनेले पात्रो बजारमा फाल्गुणको अन्तिम देखि नै पाएको तर अहिले घरघरमा सित्तैमा पात्रो आउने भएपछि सर्वसाधारणले पात्रो किन्न छाडेको ढकालको भनाइ छ । लकडाउन अघि आफ््नो पसलबाट १५ सय बढी पात्रो र ६ सय बढी भित्ते पात्रो बिक्री भएको ढकालले बताउनु भयो । कोरोना भाइरसको विश्वव्यापी संक्रमणबाट बच्न जारी लकडाउनका बीच नयाँ वर्ष २०७७ सुरु हुँदा धेरै नेपालीका घरमा भित्तेपात्रो उपलब्ध हुन सकेको छैन ।

कोरोनाको त्रासले हामीलाई आफ्नो ज्यानको बाहेक अरु चिजको यतिबेला चिन्ता हुन छाडेको छ । जसले गर्दा हामीलाई अहिले हाम्रो मोबाईलमा रहेको पात्रोले नयाँ वर्ष आएको अनुभुती दिलाएको छ । 

लकडाउनकै करण वैदिक सनातन हिन्दू धर्मावलम्बीले प्रत्येक महिनाको संक्रातिका दिन गुरु पुरोहितबाट सुन्ने मास फल समेत सुन्न नपाएको ज्योतिष पण्डित विष्णु सिग्देलले बताउनु भयो ।  घरमा पात्रो नभएको र लकडाउनका  कारण गुरु पुरोहित आउन नसकेकाले वैशाख संक्रातिमा यो परम्परामा समेत प्रभावित भएको उहाँको तर्क छ ।

सौर मासअनुसार वर्षका १२ संक्रातिलाई पर्वका रूपमा मनाउने शास्त्रीय विधि छ । वैशाख, साउन र माघ महिनाको संक्राति त अझ विशेष मानिन्छ । वैशाखमा सूर्य मेष राशिबाट भ्रमण सुरु गर्ने दिन अर्थात् विक्रम संवतअनुसार नयाँ वर्ष, साउन संक्रातिदेखि दक्षिणायन र माघ संक्रातिदेखि उत्तरायण शुरु हुने भएकाले यी तीन संक्रातिलाई विशेष रूपमा मनाउने प्रचलन पनि प्राचीनकालदेखि रहेको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्राडा रामचन्द्र गौतम बताउनु हुन्छ ।

वैशाख १ गतेलाई वर्षकै पहिलोका साथै जेठो दिनका रूपमा पनि लिइन्छ । नेपालमा प्रकाशित भइरहेको पात्रोमध्ये सबैभन्दा पुरानो तोयनाथ पन्तको पात्रो हो । वि.सं १९४७ मा तोयनाथ पन्तले सुरु गरेको पात्रोलाई उनका चौथो पुस्ताले भित्तेपात्रो, गोजीपात्रोसहित निरन्तरता दिएका छन् ।

नेपाल पञ्चाङ्ग निर्णायक समितिसँगको स्वीकृत भई पात्रो प्रकाशन भएर बजारमा गएपछि त्यसैका आधारमा धेरै सरकारी कार्यालय, संघसंस्था, बैंक, सहकारीलगायत वित्तीय संस्थाले प्रकाशन गर्ने गरेका भित्तेपात्रो पनि यस वर्ष प्रभावित भएका छन् । जसले गर्दा सर्वसाधारणहरुले पनि भित्ते पात्रो पाउन सकेन्न । देश संघीयतामा गएसँगै प्रदेश सरकार र स्थानीय तहले पनि भित्तेपात्रो प्रकाशन गर्न थालेका थिए । चैतको अन्तिममा पात्रो एवं भित्तेपात्रो किन्नेले भने यस वर्ष लकडाउन हुँदा सेवा पाउन सकेनन् ।

घरमा पात्रो नभएपनि आफ्नो दैनिक जीवनको पात्रोको समय भने आफै मिलाउनु होला । आफ्नो दैनिक कर्मकै आधारमा यतिबेलाको महामारीबाट बच्न सक्छौं । त्यसैले कोरोना र लकडाउले पात्रोमा असर गरेपनि तपाईंको जिवनमा असर नगरोस । 

प्रतिक्रिया दिनुहोस