कोरोना भाइरस संक्रमणको भए नभएको चार चरण यसरी छुट्याइन्छ

सोमबार, ०१ बैशाख २०७७, ०७ : २९
कोरोना भाइरस संक्रमणको भए नभएको चार चरण यसरी छुट्याइन्छ

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले २२ फागुनमा मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा भने, ‘नेपाल कोरोना भाइरस संक्रमणको दोस्रो चरणमा प्रवेश गरेको छ ।’ दुबईबाट आएका कैलालीका कोरोना संक्रमित व्यक्तिबाट उनकी भाउजूमा कोरोना संक्रमण भएसँगै नेपाल कोरोना संक्रमणको दोस्रो चरणमा प्रवेश गरेको भनाइ थियो, प्रवक्ता डा। देवकोटाको । 

नयाँ वर्ष ०७७ को पूर्वसन्ध्या (३० चैत) सम्म आइपुग्दा नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या १२ पुगेको छ । भारतबाट नेपाल आएका तीन भारतीयमा संक्रमण रहेको पुष्टि भएसँगै यो संख्या नौबाट बढेर १२ पुगेको हो । 

दुबईबाट आएका व्यक्तिबाट उनकै परिवारका एक सदस्यको रूपमा रहेकी भाउजूमा कोरोना संक्रमण विस्तार हुँदा नेपाल संक्रमणको दोस्रो चरणमा प्रवेश गरेको बताइएको थियो । अहिले नेपाल आएका भारतीयहरूमा संक्रमण देखिएपछि नेपाल संक्रमणको कुन चरणमा प्रवेश ग¥यो होला त ? 

यो प्रश्नको उत्तरअघि कुन मुलुकमा कोरोना संक्रमण कुन चरणमा छ भनेर केका आधारमा निर्क्योल गरिन्छ र त्यसका चरण कतिवटा हुन्छन् भन्ने कुरा बुझ्न आवश्यक छ । 

भाइरसको संक्रमण विस्तारका चार चरण हुन्छन् । ती निम्नबमोजिम छन् ।

पहिलो चरणः रोगको पहिलो उपस्थिति 
कोरोना भाइरस संक्रमणको पहिलो चरण भनेको पहिलोपटक रोग देखिनु हो । यो चरणमा कुन मानिसमा, कहाँबाट, कसरी संक्रमण भयो भन्ने जानकारी हुन्छ । जस्तो कि नेपालमा पहिलो चरणमा चीनको वुहानबाट आएका नेपाली विद्यार्थीमा कोरोना भाइरस संक्रमण रहेको पुष्टि भएको थियो । ती युवालाई कहाँ र कसरी संक्रमण भयो भनेर थाहा भएको थियो ।

दोस्रो चरणः स्थानीय संक्रमण
रोगको संक्रमण स्थानीय रूपमै देखिएको अवस्थालाई दोस्रो चरण मानिन्छ । जस्तो, दुबईबाट आएका कैलालीका युवाबाट उनकी भाउजूलाई कोरोना संक्रमण हुनु स्थानीय संक्रमण हो । यो चरणसँगै संक्रमण विस्तार हुन सुरु गरेको हुन्छ । यो अवस्थालाई तेस्रो र चौथो चरणभन्दा कम भयानक मानिन्छ । किनकि सरकारले राम्रोसँग काम गर्ने हो भने ती संक्रमितहरूबाट सम्भावित संक्रमित व्यक्तिहरू पत्ता लगाउन सकिन्छ ।

यो अवस्थामा संक्रमणको आशंका रहेका व्यक्तिहरूलाई ‘आइसोलेसन’मा राखेर परीक्षण गर्न सकिन्छ ।

तेस्रो चरणः सामुदायिक संक्रमण
‘कम्युनिटी ट्रान्समिसन’ अर्थात् सामुदायिक संक्रमणको फैलावट भने जटिल अवस्था हो । यसलाई संक्रमणको तेस्रो चरण भनिन्छ । यस चरणमा संक्रमित व्यक्ति कुन मानिसबाट संक्रमित भयो भन्ने नै अनुमान लगाउन सकिँदैन । त्यसैले यो चरणमा ती व्यक्ति रहेको क्षेत्र र त्यहाँका मानिसलाई ‘लकडाउन’मा राखेर तीव्र रूपमा परीक्षण गरिनुपर्छ । यो अवस्थामा मानिसलाई संक्रमणबाट बचाउन निश्चित क्षेत्र, जस्तै देश, राज्य अथवा जिल्ला पूर्ण रूपमा ‘लकडाउन’ नै गरिनुपर्छ ।

चौथो चरणः व्यापक प्रकोप
संक्रमणको चौथो अर्थात् अन्तिम चरणमा भाइरसको संक्रमणले महामारीको रूप लिन्छ, र संक्रमित एवं मृत्यु हुनेको संख्या दोब्बर–तेब्बर हुँदै जान्छ । र, यो देशव्यापी रूपमा नै विस्तार हुन्छ । यस्तो व्यापक प्रकोप गत फेब्रुअरीमा चीनमा भएको थियो । अमेरिका, इटाली, स्पेनलगायतका देश अहिले यो चरणमा रहेका छन् । यो चरणको अवस्थामा कोरोना भाइरसको नियन्त्रण गर्न निकै नै कठिन हुन्छ । 

यतिवेला नेपाल संक्रमणको दोस्रो चरणमा छ । यो चरणको अवस्था भनेको संक्रमण नियन्त्रणनिकटको अवस्था हो । अर्थात् यो चरणमा संक्रमितहरू कहाँ–कहाँ छन् भनेर थाहा पाउन सकिन्छ । र, तिनीहरूलाई आइसोलेसनमा राखेर र परीक्षण गरेर संक्रमण फैलिनबाट जोगाउन सकिन्छ ।

संक्रमणको दोस्रो चरण मात्र रहेको नेपाल तेस्रो चरणमा प्रवेश ग¥यो भने त्यो निकै जटिल विषय हुनेछ । माथि नै भनिसकियो, यो चरणमा संक्रमण कहाँबाट कुन मानिसमा विस्तार भयो भन्ने जानकारी हुँदैन । र, यही कारण संक्रमण विस्तार हुनबाट रोक्न सकिँदैन ।

प्रतिक्रिया दिनुहोस