कोरोना भाइरस

सघन उपचारका लागि नेपालमा जनशक्तिसँगै आईसीयू र भेन्टिलेटरको अभाव

आइतबार, ३० चैत्र २०७६, १३ : २५
सघन उपचारका लागि नेपालमा जनशक्तिसँगै आईसीयू र भेन्टिलेटरको अभाव

File Photo

एजेन्सी । नेपालमा कोरोनाभाइरस सङ्क्रमण धेरै फैलिए सघन उपचार सेवाका लागि दक्ष जनशक्तिको निकै अभाव हुनसक्ने चेतावनी चिकित्सक र स्वास्थ्यकर्मीहरूले दिएका छन् ।

उनीहरूकाअनुसार कोरोनाभाइरस श्वासप्रश्वास सम्बन्धी रोग भएकाले सङ्क्रमितमध्ये पाँचदेखि १० प्रतिशतसम्म बिरामीलाई सघन उपचार आवश्यक पर्नसक्छ।

तर नेपालमा आईसीयू र भेन्टिलेटरको अभाव देखिएको छ र सघन उपचार सेवाका लागि तालिमप्राप्त जनशक्ति पनि निकै कम रहेको स्वास्थ्यकर्मीहरूको भनाइ छ।

नेप्लिज् सोसाइटी अफ क्रिटिकल केयर मेडिसिनका महासचिव डा। हेमराज पनेरु भन्छन्, 'सङ्क्रमण धेरै नै बढेर गयो भने अहिलेको जनशक्तिले थेग्नै नसक्ने अवस्था आउँछ। भेन्टिलेटर चलाउन जान्ने मान्छे चाहियो। आईसीयू फिजिसियनहरू र नर्सहरू चाहियो। पूर्वाधार बनेर मात्र पनि काम गर्न निकै गाह्रो छ।'

सघन उपचारमा उपेक्षा

पनेरु नेपालमा 'सघन उपचारका लागि तालिमप्राप्त र दक्ष जनशक्ति चाहिन्छ र यो पनि एउटा छुट्टै विधा हो' भन्ने सोच नै विकास हुन नसकेको बताउँछन् ।

उनले भने, 'विकसित देशहरूमा जस्तो हाम्रोमा क्रिटिकल केयरकै लागि तालिम पाएका स्वास्थकर्मीको सङ्ख्या अत्यन्तै न्यून छ। क्रिटिकल केयरकै लागि तालिम पाएका स्वास्थकर्मी मात्र त्यस्तो सेवा दिनुपर्छ भन्ने मानसिकता पनि विकास हुनै सकेको छैन।'

क्रिटिकल केयर नर्सेज् एसोसिएशन अफ नेपालकी महासचिव कविता सिटौला नेपालमा ुक्रिटिकल केयरुबारे विशेषज्ञता हुन्छ भन्ने सोचाइ भर्खरै विकास हुन थालेको बताउँछिन्।

उनी भन्छिन्, 'क्रिटिकल केयरमा नर्सहरूलाई विशेष खालको तालिम आवश्यक पर्छ भन्ने सोचाइ भर्खरभर्खर विकसित हुन थालेको छ। हामीले पनि केही नर्सहरूलाई तालिम दिएका छौँ। उहाँहरूले अरूलाई पनि दक्ष बनाउन मद्दत पुर्‍याउने अपेक्षा गरेका छौँ।'

कति छन् तालिम लिएका जनशक्तिर ?

कोरोनाभाइरस सङ्क्रमण देखिन थालेपछि हालै देशभरिबाट सघन उपचार सेवामा कार्यरत स्वास्थ्यकर्मीहरूको तथ्याङ्क सङ्कलन गरेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

देशभरबाट लिइएको विवरण अनुसार नेपालमा हाल कुल १४ सय ४३ जना स्वास्थ्यकर्मीहरू सघन उपचार सेवाका कार्यरत रहेका छन्।

मन्त्रालयका अधिकारीहरूका अनुसार उनीहरू सबैले छोटो वा लामो खालका सघन उपचार सेवा सम्बन्धी तालिम लिएका छन्।

त्यस्तै क्रिटिकल केयर नर्सेज् एसोसिएशन अफ नेपालले गएका चार वर्षमा डेढ सय नर्सहरूलाई सघन उपचारसम्बन्धी तालिम दिएको जानकारी दिएको छ।

त्यस बाहेक नेप्लिज् सोसाइटी अफ क्रिटिकल केयर मेडिसिन र नेपाल क्रिटिकल डेभलपमेन्ट फाउन्डेसनले पनि केही चिकित्सकहरूलाई सघन उपचार सम्बन्धी तालिम दिएको जनाएका छन्।

कोरोनाभाइरससँग लड्न भन्दै हालै सरकारले एक हजार जना नयाँ स्वास्थ्यकर्मीलाई यस्तो तालिम दिने तयारी गरेको तर त्यो सम्भव नभएको अधिकारीहरूले बताए।

राष्ट्रिय स्वास्थ्य तालिम केन्द्रका सूचना अधिकारी विजय श्रेष्ठले भने, ूलक्ष्य त एक हजार जनालाई दिने नै थियो तर अहिले विभिन्न कारणले सम्भव भएन। कोरोनाभाइरस सङ्क्रणम रोकथामकै लागि भनेर हालसम्म हामीले ५३ जना नयाँ स्वास्थ्यकर्मीलाई तालिम दिइसक्यौँ। अन्य थप तालिमहरू पनि हुँदैछन्।ू

स्वास्थ्य मन्त्रालयले भने कोरोनाभाइरस सङ्क्रमणसँग जुझ्नका लागि आवश्यकता अनुसार स्वास्थ्यकर्मीहरूलाई तालिम दिइदैँ आएको जनाएको छ।

मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता विकास देवकोटाले पनि उक्त कुरा बारम्बार दोहोर्‍याउने गरेका छन्।

चिकित्सकको सुझाव

चिकित्सकहरूले भने सरकारलाई तत्कालै छोटो खालको भए पनि सघन उपचार सम्बन्धी तालिमहरू दिनुपर्ने सुझाव दिँदै आएका छन्।

नेपाल मेडिकल एसोसिएसनका महासचिव डा। बद्री रिजाल भन्छन्, ूजनशक्ति र व्यवस्थापनको हिसाबले अहिले हामीले हेरेकै छैनौँ। जसले निकै समस्या निम्त्याउन सक्छ।ू

उनले सरकारले पूर्वाधार विकासका साथसाथै जनशक्ति व्यवस्थापनमा पनि ध्यान दिनुपर्ने सुझाव दिए।

नेप्लिज् सोसाइटी अफ क्रिटिकल केयर मेडिसिनका महासचिव डा। हेमराज पनेरु पनि सरकारले जनशक्ति व्यवस्थापनका लागि विशेष ध्यान दिनुपर्नेमा जोड दिन्छन्।

तत्कालका लागि आवश्यक पर्दा सरकारले अपरेसन तथा पोस्ट अपरेसन वार्डमा रहेका जनशक्तिलाई पनि सघन उपचारमा खटाउन सक्ने उनले बताए। (बीबीसी)