कुहिएको चामल राहतमा

शुक्रबार, २८ चैत्र २०७६, १२ : ३९
कुहिएको चामल राहतमा

सांकेतिक तस्विर

तनहुँ । यहाँको एक स्थानीय तहले वितरण गरेको राहतको चामल सडेको र ढुसी परेको भेटिएको छ ।  बन्दीपुर गाउँपालिका वडा नं ५ ले कल्चोक क्षेत्रका केही घरपरिवारलाई वितरण गरेको चामल ढुसीयुक्त छ । चामलको रङ कालो भएको र अमिलो गन्ध आएको राहत पाउने स्थानीयवासीले बताएका छन् । 

चामल तीनचार पटक पखाल्दा पनि कालो नगएको तथा एकदुई छाक पकाएर खाँदा स्वादै अर्कै आएकाले कुखुरा र सुँगुरलाई कुँडो बनाएर खुवाउन थालिएको स्थानीयवासी रेशम विकले बताउनुभयो । गाउँपालिकाका अध्यक्ष पूर्णसिंह थापाले राहत वितरणका लागि वडालाई नै जिम्मा लगाइएको जानकारी दिँदै लापरवाही गर्नेलाई कारवाही गरिने चेतावनी दिनुभयो । 

वडाध्यक्ष ध्रुवप्रसाद लामिछानेले  वडा सदस्यलाई सो क्षेत्रमा राहत वितरण गर्न जिम्मेवारी दिइएकाले चामल कस्तो प¥यो  भन्ने आफूले थाहा नभएको बताउँदै सडेगलेको चामल बिक्री गर्ने थोक बिक्रेतालाई कारवाही गरिने दृढता व्यक्त गर्नुभयो । उहाँका अनुसार उक्त चामल फिर्ता गरी आजै अर्को  वितरण गर्न लागिएको छ । (रासस)