शुलभ अग्रवालको कालोबजारी : लगानी ५ करोड, नाफा २५ करोड

पत्रपत्रिकाबाट

शुक्रबार, २८ चैत्र २०७६, ०६ : ४३
शुलभ अग्रवालको कालोबजारी :  लगानी ५ करोड, नाफा २५ करोड

फाईल फोटो

काठमाडौं । ओम्नी ग्रुपका लागि स्वास्थ्य सामग्री ल्याउन सरकारले चार्टर गरेको नेपाल एयरलाइन्सको जहाजले चैत २० गते २० हजार थर्मल गन पनि ल्याएको प्रहरीले ढिलो सूचना पायो। थाहा पाउँदा ती सामान गायब पारिसकिएका थिए। भन्सारमा हेर्दा सुलभ अग्रवालले ल्याएको खुल्यो। तर, भन्सार तिरिएको थियो १२ सय वटाको मात्र।

यसलाई प्रहरीले ठूलै रहस्य ठान्यो। र, तीव्र अनुसन्धान सुरु गर्‍यो। नाटकीय क्रेता बनेर सुलभसँग ‘डिल’ गर्‍यो। बार्गेनिङपछि प्रतिगोटा १५ हजार रुपैयाँमा कुरा मिल्यो। सुलभ आफैं कूटनीतिक प्रयोजनको गाडीमा राखेर सामान पुर्‍याउन आए। त्यही क्रममा पक्राउ परे।

उनले भन्सारमा यसको प्रतिगोटा मूल्य २ सय अमेरिकी डलर (करिब २३ सय रुपैयाँ) देखाएका छन्। चीनबाट ल्याउँदा पर्ने सरदर मूल्य त्यही हो।

त्यस आधारमा उनले २० हजार वटाको बढीमा ५ करोड रुपैयाँ तिरे। प्रहरी अनुसन्धानले भन्छ– प्रतिगोटा १५ देखि २२ हजारमा बेचे। १५ हजारलाई नै आधारमूल्य मान्ने हो भने पनि बेचेर ३० करोड रुपैयाँ आउँछ। त्यसबाट २५ करोडभन्दा बढी नाफा हुन्छ। प्रहरी स्रोतका अनुसार उनले करिब–करिब त्यो बेचिसकेका छन्।

शंकर ग्रुपका सुलभ अग्रवाल कालोबजारी गर्दागर्दै रंगेहात पक्राउ परेपछि उद्यम क्षेत्रमै हलचल मच्चिएको छ। कोरोना भाइरस (कोभिड १९) मा व्यवसायीले सेवाग्राहीलाई सहयोग गर्नुपर्नेमा उल्टै कालोबजारीमा उत्रिएपछि प्रहरीको ध्यानसमेत उच्च व्यापारिक घरानातिर केन्द्रित भएको छ। आजको अन्नपूर्णपोस्ट दैनिकमा खबर छ । 

प्रतिक्रिया दिनुहोस