लघुकथा : सुपर हीरो

विहीबार, २७ चैत्र २०७६, १२ : ५०
लघुकथा : सुपर हीरो

- धनराज गिरी

"बा "

गुलियो संबोधन, हरेक सन्तानको मुखबाट "बा " सुन्दा ऊ पुलकित हुन्छ,ऊ --अर्थात् ऊ ---आज ऊ पनि ऊ भएर बसेको छ |

"बा "भन्दै उसकी जेठी सुपुत्री " आरती " उसको नजिक आएर बसिनन्| कुमारी आरती एम फिल अंग्रेजी साहित्यको विद्यार्थी --अध्ययनशील र सर्जक मात्र होइन समालोचक पनि |

"छोरी, पितामह भीष्म केही समस्या परे माता गंगाको काखमा पुगेको कुरा महाभारतको कथाले भन्छ, तिमी पनि केही खुल्दुली साम्य गर्न परेमा 'बा 'भनेर नजिक आएको कुरा मलाई थाहा छ |भन मेरी गाइड,आज यो बाले कुन हिसाब मिलाउन पर्यो ?"

छोरीको अनुहारतिर हेर्यो,निस्पृह भाव," बा,मैले केही जीवनी पढ़ें, सो कल्ड ठूला मानिसहरूको ---सबैले आफूलाई "सुपर हीरो "सावित गर्ने प्रयास गरेको पाएँ,किन बा यस्तो ? अरूलाई "सुपर हीरो "देखने आँखा यो धरतीमा नहुने हो ?"

" गुड्डी,यो जटिल मनोविज्ञान हो |"अहम् ब्रह्मास्मि " अथवा "आई एम द बेस्ट "अथवा "राम्रो म "को शिकार जो पनि हुन्छ |यो मानवीय स्वभाव हो |"हीनग्रन्थि "को उपज पनि हो | अरूलाई "सुपर हीरो "भित्री आँखाले देखन ठूलो छाती चाहिन्छ छोरी,ठूलो छाती |हामी हरेक मानिसको मनमा कालो मन भएको "श्री कृष्ण "बसेको हुन्छ र अरू मानिसलाई "दुर्योधन "बनाएर उसको "कमजोर अंग --दुखती रग " खोजीरहेको हुन्छ ---भीमसेनको गदा एक बिम्ब हो --सम्पूर्ण महाभारत एक प्रवित्ति हो छोरी |तिमीले आजसम्म पूर्व हेडमास्टरले बहालवाला हेड मास्टरको मुक्त कन्ठले तारीफ़ गरेको सुनेकी छ्यौ ? "

"छैन बा, मात्र आलोचना !"

"मैले लगभग ७ क्याम्पस प्रमुख बेहोरेको ,हरेकले आफ्नो मात्र कामको बखान गरेको पाएँ |फलानाले पनि यो यो काम राम्रो गर्यो भन्ने प्रमुख कोही पनि पाएको रेकर्ड छैन | अरू जीरो --आफू सुपर हीरो --यही हो मानवीय प्रवित्ति |हो ,अक्सर --हरेक छोरीको लागि उनको बा सुपर हीरो हो |"

"त्यो त हो !"

प्रतिक्रिया दिनुहोस