काठमाडौँ । सरकारले कोभिड–१९ को परीक्षण दायरा बढाए पनि द्रुत गतिमा परीक्षण हुन सकेको छैन । यसअघि टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट मात्रै भइरहेको परीक्षण अब राजधानीको वीर अस्पतालबाट पनि हुने भएको छ ।
राजधानीबाहिर सातै प्रदेशका नौ प्रयोगशालाबाट नमुना परीक्षण सुरु भए पनि सुस्त गतिमा अघि बढेको छ । विज्ञहरूले कोभिड परीक्षणको दायरा व्यापक बनाउन सुझाव दिइरहेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालका अनुसार धनगढी, पोखरा र नेपालगन्जमा छिटो परीक्षण ल्याब मेसिन जडान गरिँदैछ । स्वास्थ्य मन्त्रालयका अनुसार धुलिखेलमा मंगलबारबाट परीक्षण थालिएको हो भने वीर अस्पतालमा बुधबारबाट सुरु गरिएको छ ।
यी अस्पतालमा पीसीआर उपकरण भएकाले परीक्षण गर्ने जिम्मा दिइएको मन्त्रालयका प्रमुख विशेषज्ञ डा। रोशन पोखरेलले बताए । ‘पहिले शंकास्पद र ट्राभल हिस्ट्री भएका व्यक्तिको मात्रै परीक्षण हुन्थ्यो,’ उनले भने, ‘अब क्वारेन्टाइनमा बसेका सबैको स्वाब परीक्षण हुने भएकाले दायरा बढाइएको हो ।’ उनका अनुसार यी अस्पतालमा दैनिक २ सयदेखि ५ सय नमुना परीक्षण गर्ने क्षमता छ । अस्पताललाई परीक्षणका लागि आवश्यक रिएजेन्ट केमिकल भने मन्त्रालयले नै व्यवस्था गर्ने उनले बताए ।
आवश्यक परे प्रयोगशालाकर्मी पनि दिन मन्त्रालय तयार छ । बुधबार पोखरा, धनगढी र कञ्चनपुरबाट संकलन भएर आएको स्वाब यी अस्पतालमा पनि परीक्षण हुने डा. पोखरेलले बताए । ‘जनस्वास्थ्य प्रयोगशालाबाहेक अहिले देशभर १० ठाउँमा कोभिड–१९ परीक्षण भइरहेको छ ।
उनले भने, ‘प्रयोगशाला भएका ठाउँमा परीक्षण सुरु भइसक्यो । अन्य ठाउँमा पोर्टेबल पीसीआर मेसिन दिएर भए पनि परीक्षण दायरा बढाउँछौं ।’ अस्पतालमा परीक्षण भएका स्वाबको रिपोर्टमा शंका लागे प्रयोगशालामा ल्याएर पुनः परीक्षण गरिने उनले बताए । ‘बिरामीमा कोभिड लक्षण देखिने तर रिपोर्ट नेगेटिभ आउने पनि हुन्छ,’ उनले भने, ‘स्वाब दिने र परीक्षण गर्ने प्रक्रियामा त्रुटि हुँदा यस्तो हुन्छ ।’
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। विकास देवकोटाले दिएको जानकारीअनुसार बुधबार अपराह्नसम्म दुई हजार तीन सय ६६ नमुना परीक्षण भई नतिजा आएको छ । यसमध्ये राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा हालसम्म एक हजार नौ सय ६५ र राजधानी बाहिरका नौवटा ल्याबमा चार सय एक नमुनाको नतिजा आएको थियो ।
बुधबार बेलुकासम्म सात प्रदेशमा सञ्चालित प्रयोगशालामा ५१४ नमुनाको नतिजा आएको छ भने जनस्वास्थ्य प्रयोगशाला टेकुमा १९६५ गरी जम्मा २४७९ नमुना परीक्षण पूरा भएको छ । सबै नमुना परीक्षणबाट नौजनामा संक्रमण भेटिएको छ भने एक जना निको भएर घर फर्किसकेका छन् । धरानको बीपी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा परीक्षण गरिएका ९१ नमुनामा संक्रमण देखिएको छैन । यो प्रदेश १ को कोभिड–१९ नमुना परीक्षण प्रयोगशाला हो ।
प्रतिष्ठानको आइसोलेसन वार्डमा भर्ना भएका शंकास्पद १२ जना बिरामीमध्ये ११ जना उपचारपछि डिस्चार्ज भएका छन् । एक जनाको उपचार भइरहेको छ । भर्ना भएका कसैमा पनि संक्रमण नदेखिएको प्रतिष्ठानले जनाएको छ । यसैगरी प्रदेशका विभिन्न जिल्लाबाट नमुना संकलन भएका ६५ जनाको परीक्षण रिपोर्ट आइसकेको छ । ती सबैमा संक्रमण नदेखिएको प्रतिष्ठानको माइक्रोबायोलोजी ल्याबले जनाएको छ । अघिल्लो आइतबारदेखि बीपी प्रतिष्ठानमा कोरोना संक्रमण परीक्षण गर्न थालिएको हो ।
प्रदेशका विभिन्न जिल्लामा रहेका अस्पताल र अन्य स्थानमा गरी ४ सय ३८ आइसोलेसन शय्या छन् । ४ हजार ३७ वटा शय्या रहेको क्वारेन्टाइन तयारी अवस्थामा छ । हालसम्म ६ सय १० जनालाई क्वारेन्टाइनमा राखिएको छ । भारतलगायत मुलुकबाट आएका झन्डै तीन हजार जना होम क्वारेन्टाइनमा बसिरहेको जनाइएको छ । प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार सम्भावित संक्रमितलाई राखेर उपचार गर्नका लागि आईसीयूसहितको ४४ वटा शय्या तयार छ । कान्तिपुर दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस