‘लकडाउनका कारण ललितपुरबाट हिडेरै सप्तरी’

सोमबार, २४ चैत्र २०७६, ०८ : १०
‘लकडाउनका कारण ललितपुरबाट हिडेरै सप्तरी’

काठमाडौँ । लकडाउन छिटै खुल्ला भन्ने आस थियो । १२ दिनसम्म छाप्रोमै कोचिँदा पनि छाँटकाट देखिएन । ललितपुरको ठैबस्थित एउटै छाप्रोमा बस्ने सात जनाको समूह शनिबार नै सप्तरीको कन्चनरूप नगरपालिका गइसकेका थिए ।

टेकराम चौधरी र उनका अरू पाँच जना साथी भने मंगलबारबाट लकडाउन खुल्न सक्ने भन्दै यतै बसिरहे । तर, मन्त्रिपरिषद्को शनिबारको निर्णयले उनीहरू आत्तिए । सरकारले आइतबारदेखि एक जिल्लाबाट अर्को जिल्ला, एक प्रदेशबाट अर्को प्रदेश र स्थानीय तहबाट अर्को स्थानीय तहमा आउजाउ गर्न नदिने निर्णय गरेको थियो। यो खबर सुनेर गाउँबाट परिवारले रुँदै घर आउन फोन गरेपछि यी ६ जनाको समूह पनि आइतबार बिहान ५ बजे ललितपुरको ठैबबाट हिँडेरै सप्तरी जाने यात्रामा निस्कियो।

सबैले पिठ्युँमा भिर्ने झोला बोकेका र हातमा अर्को झोला झुन्ड्याएका छन्। बिहान साढे ७ बजे उनीहरूको समूह सूर्यविनायकमा भेटिँदा साढे दुई घण्टामा २४ किलोमिटर यात्रा छोट्याइसकेका थिए। ३ सय ५ किलोमिटर टाढाको यात्राका लागि निस्केका चौधरीको समूहका तीन जना फित्तावाल चप्पल पड्काउँदै अरनिको राजमार्ग हुँदै धुलिखेलतर्फ गइरहेका थिए। सबैले मास्क लगाएका र झोलामा खाजा बोकेका छन्। बाटोमा पसल खुलेको नभेटिए आफैंले बोकेका चिउरा र चाउचाउ खाएर पनि घर पुग्ने उनीहरूको अठोट छ।

घर बनाउने ज्यामी काम गर्ने उनीहरूलाई लकडाउनले बेरोजगार बनाएको हो। एकातिर कोरोनाको डर, अर्कातिर रोजगारी नहुँदा डेरामा हातमुख जार्ने खर्च सकिएको थियो। ‘यहाँ पैसा नभएकाले खाना खानै नपाउने भयो,’ चौधरीले भने, ‘१२ दिन त अस्ति कमाएको पैसा थियो। अब त खर्च नभएपछि कम्पनीसँग घर जाने खर्च मागेर हिँड्यौ।’

रेडियो र टीभीबाट कोरोनाको बिरामी भेटिएका समाचार बज्नेबित्तिकै घरबाट आफन्तले आत्तिँदै फोन गर्ने गरेको सुमन सदाले बताए। ‘काठमाडौंमा भोकै नबस्नु घर आउनु भनेर रुँदै फोन गर्ने गर्छन्,’ उनले भने, ‘यता बस्यौं भने त काम नभएपछि कमाइ हुँदैन। भोकै मर्नुभन्दा परिवारसँगै बस्ने भनेर हिँड्यौं।’ यता बस्दा परिवारलाई आफ्ना चिन्ता र आफूलाई परिवारको चिन्ताले सताउने गरेकाले घर जान लागेको उनले बताए।

उनीहरू गाउँबाट काठमाडौं कामको खोजीमा आएको दुई महिनामात्रै भयो। सीई कन्स्ट्रक्सन कम्पनीमा दैनिक सात सय रुपैयाँ ज्यालामा काम गर्ने उनीहरूले बेखर्ची भएपछि गाउँ जाने अन्तिम विकल्प रोजेका हुन्। घर जान कम्पनीले १५ सयदेखि २ हजार सहयोग गरेको चौधरीले बताए। उनीहरू यही पैसाले बाटो खर्च धान्ने गरी घर हिँडेका हुन्। उनीहरू साँगा भन्ज्याङ कटेपछि तरकारी र खाद्यान्न ढुवानी गर्ने गाडीमा चढ्ने योजनामा थिए। दुई दिनमा घर पुग्न सकिएला कि भन्ने उनीहरूले सोचेका छन्।कान्तिपुर दैनिकमा खबर छ । 

प्रतिक्रिया दिनुहोस