होम क्वारेन्टाईन पुरा गरेको भन्दै ९ जनालाई गाँउपालिकाले दियो नगद १ हजार

शनिबार, २२ चैत्र २०७६, ११ : ०१
होम क्वारेन्टाईन पुरा गरेको भन्दै ९ जनालाई गाँउपालिकाले दियो नगद १ हजार

स्याङजा । स्याङजाको फेदीखोला गाउँपालिकाले शुक्रबार ९ जनालाई क्वारेन्टाइनबाट घर फिर्ता गरेको छ । उनीहरुलाई सामाजिक उत्तरदायित्व पुरा गरेको भन्दै गाउँपालिकाले जनही १–१ हजार नगद समेत दिइएको छ । 

फेदीखोला–३ का विजय रानाभाट र जीवन भुजेल, वडा नम्बर–४ का कुमार रानाभाट, वडा नम्बर २ का सुन्दर गुरुङ र चन्द्र बहादुर क्षेत्री र वडा नम्बर–१ का राजेश गुरुङ १४ दिनको क्वारेन्टाइन बसाईपछि घर फिर्ता भएको हो । यसैगरी क्वारेन्टाइनबाट फिर्ता हुनेमा राजेश गुरुङकी श्रीमती भगवती गुरुङ र छोरी प्रिना गुरुङ, सुन्दर गुरुङको श्रीमती सीता गुरुङ रहेका छन् । 

जसमध्ये राजेश र चन्द्रबहादुर कोरोना संक्रमित युवातीसँगै एयर आरेबियाको उडानमा चैत ६ गते  नेपालमा आएका थिए । संक्रमितसँग नेपाल आएको थाहा पाए लगत्तै उनीहरुलाई फेदीखोला क्वारेन्टाइनमा राखिएको थियो ।

संक्रमितसँगै आएको २ जना राजेश गुरुङकी श्रीमती गरी ३ जनाको स्वाब परीक्षण गर्दा रिर्पोट नेगेटिभ आएको थियो । हाल सबैको अवस्था सामान्य रहेकोले घर फिर्ता गरिएको गाउँपालिकाका अध्यक्ष घनश्याम सुवेदीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस