कोरोना नियन्त्रणका लागि कुन व्यवसायिक घरानाले कति गरे सरकारी कोषमा सहयोग

सोमबार, १७ चैत्र २०७६, ०८ : ४२
कोरोना नियन्त्रणका लागि कुन व्यवसायिक घरानाले कति गरे सरकारी कोषमा सहयोग

काठमाडौं । नेपालमा कोरोना भाइरस (कोभिड–१९)को जोखिम कम गर्न विशाल ग्रुपअन्तर्गतको भिजी फाउन्डेसनले बिहीबार एक करोड रुपैयाँबराबरका राहत सामग्री सहयोग गर्ने घोषणा ग(यो ।

एन–९५ मास्क, स्यानिटाइजर, संक्रमितको उपचारका क्रममा प्रयोग हुने व्यक्तिगत सुरक्षा उपकरण (पिपिई), इन्फ्रारेड थर्मोमिटरलगायत स्वास्थ्य सामग्री आपूर्ति गरेर देशभरका स्वास्थ्य केन्द्रहरूमा उपलब्ध गराउने योजना फाउन्डेसनको छ । यसअघि कोरोनाको त्रास सुरु भएपछि फाउन्डेसनले वीर अस्पताल, प्रसूतिगृह र कान्ति बाल अस्पताललाई स्यानिटाइजर र सर्जिकल मास्क उपलब्ध गराएको थियो ।

यस्तै, अर्बपति उद्योगी विनोद चौधरीले कोरोना संक्रमितको उपचार गरिने अस्पतालमा सर्जिकल मास्क र पिपिई वितरण गरिरहेका छन् । उनका माइला भाइ वसन्त चौधरीले सरकारको कोरोना कोषमा एक करोड रुपैयाँ सहयोग दिने भएका छन् । त्यसमा ५० लाख नगद र बाँकी मेडिकल उपकरणहरू उपलब्ध गराउने उनको भनाइ छ ।

व्यावसायिक घराना लक्ष्मी ग्रुपले पनि कोरोना भाइरसविरुद्ध लड्न एक करोड रुपैयाँ सहयोग गर्ने भएको छ ।विश्वभर कोरोना भाइरसको संक्रमण फैलिँदै गर्दा नेपाल पनि तीन दिनदेखि ‘लकडाउन’ छ । आममानिस घरभित्रै थुनिएका छन् । मुलुक संकटमा परेको वेलामा उद्योगी–व्यवसायीले सहयोगी हात अगाडि बढाएका छन् । कतिपयले घोषणा गरिसकेका छन् भने कतिपय सहयोग घोषणा गर्ने तयारीमा छन् । विश्वभर एकैपटक महामारी फैलिएकाले नेपालमा पनि सुरक्षा उपकरणहरू मास्क, पिपिई, स्यानिटाइजर, पन्जालगायतको अभाव छ ।

सरकारले निजी क्षेत्रलाई कोरोनासँग सम्बन्धित स्वास्थ्य उपकरण आयातका लागि आग्रह गरेको छ । विनोद चौधरी नेतृत्वको चौधरी ग्रुपका सबै कर्मचारीलाई सेल्फ आइसोलेसनमा बस्न घरबिदा दिइएको छ । माथिल्लो तहका कर्मचारी भने सिजी फाउन्डेसनको काममा सक्रिय रहेको ग्रुपका कर्पोरेट कम्युनिकेसन महाप्रबन्धक मधुसूदन पौडेल बताउँछन् ।

फाउन्डेसनले देशभर पिपिई र मास्क वितरण गरिरहेको छ । पौडेलका अनुसार बिहीबार मात्र प्रदेश–१, प्रदेश–२ र सुदूरपश्चिम प्रदेशमा मास्क र पिपिई वितरण गरिएको छ । सिजी फाउन्डेसनले केही पिपिई विदेशबाट मगाएको छ भने केही स्थानीय व्यापारीसँग खरिद गरेको छ ।

कच्चा पदार्थ आयात गरेर थप पिपिई सिलाउन दिइएको पौडेल बताउँछन् । चौधरी ग्रुपले कोरोना जाँचका लागि आवश्यक किट विदेशबाट मगाएको छ । तर, ढुवानीका कारण अझै आइपुगेको छैन । अर्का व्यवसायी दीपक मल्होत्राले स्वदेशमै डिस्पोजेबल मास्क उत्पादन र वितरण गरिरहेका छन् । उनले बुधबार स्वास्थ्य सेवा विभागलाई ५० हजार गोटा मास्क उपलब्ध गराए । ती मास्क सरकारी अस्पतालहरूमा वितरण हुनेछन् ।

मास्कको चरम अभाव भएपछि मल्होत्राले नेपाल चेम्बर अफ कमर्ससँगको सहकार्यमा मास्क उत्पादन थालेका हुन् । ललितपुरको लुभुस्थित उद्योगले दैनिक ७० हजार थान मास्क उत्पादन गर्छ । मुलुकको संकटलाई मध्यनजर गर्दै परल मूल्य ९नाफा नराखी० सात रुपैयाँमा मास्क बिक्री गर्ने मल्होत्रा बताउँछन् ।

लक्ष्मी ग्रुपका कार्यकारी निर्देशक अञ्जन श्रेष्ठ देशका पाँचवटा अस्पतालमा फिभर क्लिनिक बनाउने तयारी रहेको बताउँछन् । ‘पाटन अस्पतालमा फिभर क्लिनिकलाई आवश्यक सामग्री दिइसकेका छौँ । पोखराको गण्डकी क्षेत्रीय अस्पतालमा कुराकानी भइरहेको छ,’ उनी भन्छन्, ‘अरू अस्पताल पनि पहिचान गरेर क्लिनिक बनाइदिने छौँ ।’

यस्तो क्लिनिकको उद्देश्य कोरोना संक्रमणका लक्षण देखिएका बिरामीको प्रारम्भिक जाँच गर्नु हो । यस्तै, पछिल्लो १४ दिन विदेशमा रहेका, कोभिड–१९ संक्रमित मानिसको सम्पर्कमा आएका, लक्षणहरू देखिएका, संक्रमित भएँ कि भनेर चिन्तित व्यक्ति तथा परामर्श लिन वा विश्वस्त हुन चाहने अन्य रोगीका लागि क्लिनिकमार्फत सेवा दिइनेछ ।

यसैगरी, ग्लोबल आइएमई बैंकले सरकारको कोरोना कोषमा एक करोड रुपैयाँ सहयोग गर्ने घोषणा गरिसकेको छ । कोषमा एनसेल प्रालिले १० करोड रुपैयाँ दिने भएको छ । नेपाल बैंक लिमिटेडले कोषमा एक करोड रुपैयाँ सहयोग गर्ने भएको छ । भाटभटेनी सुपर मार्केटले मंगलबार कोषमा एक करोड रुपैयाँ नगद सहयोग गर्ने घोषणा गरेको छ ।

नेपाल धितोपत्र बोर्डले ५० लाख र सहकारी विकास बैंकले ११ लाख रुपैयाँ दिएका छन् । नेपाल चेम्बर अफ कमर्स, नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल उद्योग परिसंघले पनि सुरक्षा उपकरण सहयोग गरेका छन् । (नयाँ पत्रिका दैनिकमा खबर छ ।)

प्रतिक्रिया दिनुहोस