अब एक परिवारलाई मासिक एक सिलिन्डर ग्यास

पत्रपत्रिकाबाट

विहीबार, १३ चैत्र २०७६, ०८ : ०९
अब एक परिवारलाई मासिक एक सिलिन्डर ग्यास

काठमाडौँ । कोरोना भाइरस नियन्त्रणका लागि गरिएको लकडाउनको अवधि लम्बिन सक्ने र ग्यास बिक्री वितरणमा समस्या हुनसक्ने भएकाले महिनामा एक परिवारलाई एउटा सिलिन्डर उपलब्ध गराइने भएको छ ।

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको बिक्री–वितरणमा नयाँ वितरण नीति तथा प्रणाली लागू गरी सो व्यवस्था गरेको हो । त्यसका लागि बिक्रेताले उपभोक्ताको नाम, ठेगाना नागरिकता नम्बर र फोन नम्बरसहितको तथ्याङ्क राख्नुपर्नेछ । सो तथ्याङ्क जिल्ला प्रशासन कार्यालय वा निगमले अनुगमनका बेला वा जुनसुकै बेला पनि बिक्रेतासँग माग्न सक्नेछ ।

ग्यास उद्योगले डिलर बिक्री गरेको सिलिन्डरको परिमाण र डिलरले उपभोक्तालाई बिक्री गरेको परिमाण नियमित रूपमा परीक्षण गर्नुपर्नेछ । निगमका अनुसार ग्यास उद्योगले बिक्रेतालाई पठाउने ग्यास सिलिन्डरको परिमाण, बिक्रेताको नाम, ठेगाना, प्यान वा भ्याट नम्बरलगायतका विवरण खुलाउनुपर्नेछ ।

निगमको स्वीकृतिबिना ग्यास बिक्री गर्न पाइने छैन । काठमाडौँ उपत्यकामा नेपाल आयल निगमको कार्यालय, निगमको स्थानीय कार्यालय भएको जिल्लामा सोही कार्यालयबाट र निगमको कार्यालय नभएको जिल्लामा जिल्ला प्रशासन कार्यालयको स्वीकृत लिएरमात्र बिक्री–वितरण गर्नुपर्नेछ ।

अर्को सूचना जारी नभएसम्मका लागि यही प्रक्रियामा ग्यास वितरण हुने निगमका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेलले जानकारी दिए । गोरखापत्रमा खबर छ ।

प्रतिक्रिया दिनुहोस