काठमाडौँ । प्रदेश नं ५ का मुख्यमन्त्री शंकर पोखरेलले नागरिक सचेतनाले नै कोरोना विरुद्धको लडाइँ जित्न सकिने बताउनुभएको छ । उहाँले महामारीसँग जुध्न सबैले आफ्ना व्यवहार, आनीबानी र दैनिकीमा परिवर्तन गर्न जरूरी रहेको बताउँदै कोरोना विरुद्धको लडाइँ जित्न सरकारले गरेका निर्णयलाई पूर्णरुपमा पालना गर्न र अरुलाई पनि पालना गर्न प्रेरित गर्न प्रदेशवाशी जनतामा अनुरोध गर्नुभएको छ ।
मुख्यमन्त्री पोखरेलले प्रदेशवाशी जनताका नाममा आज सम्बोधन गर्नुहुँदै कोरोनाको सङ्क्रमण रोक्न अपनाइएका महत्वपुर्ण कदमलगायत यसको रोकथामका लागि प्रदेश सरकारका तर्फबाट कोरोनाको सम्भावित जोखिमबाट बच्न पूर्व तयारीको कामलाई प्रभावकारी बनाइएको बताउनुभयो । उहाँले सङ्क्रमण भित्रिन नदिन, सचेतना जगाउन, क्वारेन्टाइनको प्रबन्ध मिलाउन र सङ्क्रमितको उपचारको व्यवस्थाका लागि तीनै तहका सरकार आपसी समन्वय र सहकार्यमा क्रियाशिल रहेका बताउँदै सरकारले सम्भावित जोखिमलाई नियन्त्रण गर्न लिएका निर्णयको पूर्ण कार्यान्वयनका लागि सबैको सार्थक सहयोगको आवश्यकता औल्याउनुभयो ।
मुख्यमन्त्री पोखरेलले कोरोना भाइरस नियन्त्रणका लागि नेपाल सरकारले नागरिकलाई महामारीबाट बचाउन मङ्गलबारदेखि घोषणा गरेको ‘लकडाउन’को आदेश सबैले अनिवार्य रुपमा पालना गर्न अपिल समेत गर्नुभएको छ । उहाँले उक्त आदेश पालना नगरे उल्लङ्घन गर्नेलाई सुरक्षा निकायले कारवाही अघि बढाउनेसमेत स्पष्ट पार्नुभयो ।
उहाँले कोरोनाको सङ्क्रमण नियन्त्रणका प्रमुख उपाय शहरी आवास क्षेत्रका टोल विकास संस्थाले स्थानीय सुरक्षा निकायको सहयोगमा टोलभन्दा बाहिरका व्यक्तिलाई प्रवेशमा रोक लगाउने र टोलका बासिन्दा पनि बाहिर नजाने व्यवस्था गर्न अपिल गर्नुभएको छ । टोलमा खाद्यान्न र तरकारी टोलकै पसलमा व्यवस्थापन गर्न, कोरोना भाइरसबाट जोगिन सामाजिक र व्यक्तिगत दूरीलाई निरन्तर कायम राख्ने र अत्यावश्यक कामका लागि बाहिर जानु नै परेमा स्थानीय सुरक्षा निकायको अनुमति लिएर मात्र जान उहाँले अनुरोध गर्नुभएको छ ।
मुख्यमन्त्री पोखरेलले कोरोनाको जोखिमलाई ख्याल गर्दै प्रदेश सरकारले बुटवल, भैरहवा, दाङको बेलझण्डी र बाँकेको खजुरामा गरेर चार वटा कोरोना विशेष अस्पतालको निर्माण प्रक्रिया अघि बढाइसकेको जानकारी दिनुहुदै कोरोना सङ्क्रमितकोे आशङ्कामा रहेका नागरिकलाई राख्न प्रत्येक स्थानीय तहले तत्काल २५ शै्ययाको क्वारेन्टाइन बनाउने र क्वारेन्टाइनमा राखिएकाको सम्पुर्ण व्यवस्थापन गर्ने ब्यवस्था गरिएको बताउनुभयो ।
उहाँले नागरिकका लागि अत्यावश्यक स्वास्थ्य सेवा तथा औषधी पसल, खाद्यान्न, खाद्यजन्य सामाग्री, तरकारीको ढुवानी र बेचबिखन, दुधको ढुवानी र डेरी उद्योग, खानेपानी सेवा, फोहरमैला सङ्कलन र व्यवस्थापन, विद्युत् एवं सञ्चार सेवालगायत सञ्चालनका लागि आवश्यक व्यवस्था मिलाइएको तर, उक्त सेवामा संलग्न व्यक्तिले स्वास्थ्य सुरक्षा अनिवार्य रुपमा पालना गर्नसमेत अनुरोध गर्नुभएको छ ।
प्रतिक्रिया दिनुहोस
रासस
बुधबार, १२ चैत्र २०७६, १८ : १६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
हावाबाट कोरोना फैलिएको विश्व स्वास्थ्य संगठनको स्विकारोक्ति
कोरोना भाइरसविरुद्धको खोप विसर्जन गरिँदै
नेपालमा कोभिडको नयाँ भेरियन्ट नभित्रिएको स्वास्थ्य मन्त्रालयको भनाइ
भारतको ११ राज्यमा फैलियो कोरोना भाइरसको नयाँ भेरियन्ट
भारतमा भेटियो कोरोनाको नयाँ भेरियन्ट
कोरोना भाइरसविरुद्धको ४० लाख मात्रा डोज खोप खेर जाँदै