बुलिङटारमा कोरोना भाईरसबारे सचेतना र नि:शुल्क स्वास्थ्य शिविर

सफल खबर संवाददाता

विहीबार, ०६ चैत्र २०७६, १२ : ४८
बुलिङटारमा कोरोना भाईरसबारे सचेतना र नि:शुल्क स्वास्थ्य शिविर

बुलिङटार । नवलपरासी (बर्दघाट सुस्तापूर्व) जिल्लाको पहाडी भेग बुलिङटार गाउंँपालिका वडा नम्बर ५ जौबारी र ६ अत्र्रौलीमा कोरोना भाईरस सचेतना र स्वास्थ्य शिविर सम्पन्न भएको छ । जनप्रतिनिधि,शिक्षक र बिरामीलाई लक्षित गरी कोरोना भाईरस जोखिम न्यूनिकरण  र सचेतना जगाउन उक्त कार्यक्रम गरिएको हो ।

गंगा स्वास्थ्य दर्पण फाउण्डेशन नेपाल,बुलिङटार गाउंँपालिका नवलपरासी र स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा.लि.चितवनको  संयुक्त आयोजनामा  कार्यक्रम गरिएको थियो  । 

कार्यक्रममा कोरोना भाईरसको संक्रमणले मानव स्वास्थ्यमा पार्न सक्ने असर,सावधानी र दीर्घ रोगहरु साथै बालबालिकाहरुमा यसको प्रभावबारे डाक्टर राम पोखरेल र सुमन खनालले सहजीकरण गर्नु भएको थियो । 

सचेतना सहित आयोजित  शिविरमा महिलाहरुको स्तन क्यान्सर ,मेरुदण्ड ,हाडजोर्नी,नशारोग तथा बालरोग सम्बन्धीे उपचार गरिएको गंगा फाउण्डेशनका अध्यक्ष तथा स्वास्थ्य पत्रकार सन्दीपकुमार श्रेष्ठले जानकारी दिनुभयो  । श्रेष्ठका अनुसार २ दिन सम्म संञ्चालित सो कार्यक्रममा स्तन क्यान्सर रोगका २ सय ३० जना  ,हाडजोर्नी ,मेरुदण्ड ,नशारोगका २ सय २५ जना र त्यस्तै बालरोगका ९५ जना सहित ५ सय ५० जना विरामीको  स्वास्थ्य परीक्षण गरिएको थियो  ।
स्तन क्यान्सररोग बिशेषज्ञ डाक्टर सुमन खनाल र वरिष्ठ नर्स अयोध्या पाठकले  स्तन क्यान्सरको लक्षण संँग मिल्ने  करीब १२ जना बिरामी देखा परेको र रोगको थप पहिचानको लागी मेमोग्राफी गर्नु पर्ने बताउनु भयो । उहाँका अनुसार ती विरामीलाई थप परीक्षण गर्न  भरतपुरमा रहेको बि.पी.कोईराला मेमोरियल क्यान्सर अस्पतालमा रिफर गरिएको छ  । 
बालरोग विशेषज्ञ डा.राम पोखरेलले बालबालिकाहरुमा ज्वरो, रुघाखोकी,पेट दुख्ने,छालाको एलर्जी,लुतो,दाद, मुत्रनलीको संक्रमण , कान र आँखा पाक्ने जस्ता समस्या देखापरेको बताउनु भयो  । यस्तै शिविरमा  बिरामीमा ढाडको नशा च्यापिएको, मेरुदण्ड खिइएको, मेरुदण्डको क्षय.रोग ,युरीक एसीड, बाट पिडित बिरामीलाई स्वास्थ्य सेवा डाक्टरद्धय राजेन्द्र कार्की र  राजन कंडेलले दिनुभएको थियो । 


शिविरमा प्राविधिक सहयोग बि.पी.कोईराला मेमोरियल क्यान्सर अस्पताल भरतपुर, कलेज अफ मेडिकल साईन्सेस भरतपुरले गरेको थियो  । स्वास्थ्य परीक्षण पूर्व भएको औपचारिक  कार्यक्रममा स्वास्थ्य शाखा प्रमुख अशोककुमार श्रेष्ठले कार्यक्रमको  सहजीकरण का साथै स्वागत मन्तव्य राख्नु भएको थियो । सो कार्यक्रमको प्रमुख अतिथि गाउंँपालिकाका अध्यक्ष शशी किरण बस्ताकोटीले मिडिया हाउस र गंगा फाउन्डेशन संग सहकार्य गर्न पाउंँदा खुशी व्यक्त गर्नुभयो । यस्ता कार्यक्रमले टोलटोलमा सचेतना बृद्धि हुने भन्दै उहांँले आगामी दिनमा पनि सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । फरक फरक वडामा भएको कार्यक्रममा गाउंँपालिका वडा नम्बर ५ का अध्यक्ष पुर्ण सिङ्ग खण्डलुक साथै वडा नम्बर ६ का अध्यक्ष सूर्य बहादुर रानाको सभापतित्वमा सम्पन्न भएको थियो ।फाउण्डेशनले   गाउंपालिकाको ६ वटै वडामा सचेतना सहित स्वास्थ्य शिविर कार्यक्रम सम्पन्न गरिसकेको छ । नवलपरासी जिल्ला सुगम भनिए पनि यो क्षेत्र भौगोलिक विकटता संगै जनजाति  समुदायको बाहुल्यता रहेको छ ।

प्रतिक्रिया दिनुहोस