कोरोनाको संक्रमण रोक्न हाटबजार नै बन्द

बुधबार, ०५ चैत्र २०७६, ०८ : १९
कोरोनाको संक्रमण रोक्न हाटबजार नै बन्द

file photo

बर्दिया । विश्वभर महामारीका रुपमा फैलिरहेको कोरोना भाइरसबाट बच्न यहाँ विशेष सर्तकता अपनाइने भएको छ । कोरोना भाइरससंक्रमणको रोकथाम तथा नियन्त्रणको लागि १६ बुँदे कार्ययोजना पारित गर्दै जिल्ला विपद् व्यवस्थापन समिति बर्दियाले पूर्वतयारी सुरु गरेको छ ।

जिल्लामा कोरोना भाईरसको संक्रमण भित्रिन नदिन बिशेष सतर्कता अपनाईएको जिल्ला प्रशाशन कार्यालय बर्दियाले जनाएको छ । यहाँ १५ दिनका लागि जिल्लाका सबै हाटबजार बन्द गर्ने, नेपाल भारत सीमा भएर आवतजावत गर्ने दुबै देशका नागरिकहरुलाई सुरक्षाकर्मीको स्वीकृति लिएर कोरोना हेल्प डेस्क भएको स्थानबाट मात्र आवतजावत गर्न दिने मेला महोत्सव, भेला, खेलकूदका कार्यक्रम गर्न र भिडभाड हुने कुनै पनि कार्यक्रम नगरिने प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले बताए ।

केही महीना देखी फैलिएको कोरोना भाईरसको संक्रमण फैलन नदिन प्रशासनले सबै नागरिकलाई उच्च सर्तकता अपनाउन अनुरोध गरेको छ । कोरोनाको संक्रमण फैलन नदिनका लागि सम्भव हुने सबै उपाय अबलम्वन गर्दै उच्च सर्तकता अपनाउने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी लामिछानेले बताए । कोरोना संक्रमण भित्रिन नदिन भारतीय सीमा क्षेत्रका काउन्टर पार्टस, प्रशासन, प्रहरी, स्थानीय तह, सरकारी निकाय सबै परिचालन गरिने भएको छ । कोरोना भाइरस भित्रिन नदिन ठाउँठाउँमा हेल्प डेस्क तथा नेपाल प्रहरी, सशस्त्र प्रहरी, सेना लगायतका स्वास्थ्य संयन्त्र प्रभावकारी परिचालन गरिने प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले बताए ।

हेल्प डेस्कमा खटिने सुरक्षाकर्मी र कर्मचारीलाई उचित सेवा सुविधाको व्यवस्था गर्ने, आइसोलेसन वार्ड र हेल्पडेस्क मा खटिने कर्मचारीलाई आवश्यक सामग्रीको व्यवस्था गर्न प्रदेश सामाजिक विकास मन्त्रालयमा अनुरोध गरिएको प्रमुख जिल्ला अधिकारी लामिछानेले बताए ।

यसैगरि कोरोनाको जोखिमलाई मध्यनजर गर्दै जिल्लाको नेपाल भारत सीमा क्षेत्रका ७ स्थानमा हेल्पडेस्क स्थापना गरिएको छ । भारतीय सीमा जोडिएको बढैयाताल गाउँपालिकाको फुटाहा र कण्ठपुर, गुलरिया नगरपालिकाको सुरजपुरमा, मधुवन नगरपालिकाको धनौरा र राजापुर नगरपालिकाको भारतसँग सीमा जोडएका ३ स्थानमा गरि जम्मा ७ स्थानमा हेल्पडेक्स स्थापना गरिएको जिल्ला स्वास्थ्य कार्यालय बर्दियाले जनाएको छ । राजधानी दैनिकमा खबर छ । 

प्रतिक्रिया दिनुहोस