मुख्यमन्त्री राई र युरोपियन युनियननका राजदूतबीच भेटवार्ता

सफल खबर संवाददाता

शुक्रबार, ३० फागुन २०७६, १५ : २३
मुख्यमन्त्री राई र युरोपियन युनियननका राजदूतबीच भेटवार्ता

विराटनगर । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राई र युरोपियन युनियन डेलिगेशन नेपालका राजदुत भेरोनिका कोडीबीच भेटवार्ता भएको छ । शुक्रबार बिहान मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय विराटनगरमा मुख्यमन्त्री राईसँग राजदूत कोडीले भेटवार्ता गर्नुभएको हो । 

भेटवार्ताको क्रममा राजदूत कोडीले बहुक्षेत्रीय पोषण कार्यक्रमका बारेमा गरेको कामहरु मुख्यमन्त्री राईलाई जानकारी गराउनु भएको थियो । त्यस्तै राजदूत कोडीले संघीयता नेपालको लागि अवसर भएको बताउनु भएको थियो । संघीयता लागू भएको देशहरुमा पनि यसको कार्यान्वयनमा समय लागेको उहाँको धारणा थियो । 

संघीयता कार्यान्वयन, कर्मचारी समायोजन लगायतका विषयमा राजदूत कोडीले जिज्ञासा राख्नुभएको थियो । उहाँले प्रदेश १ सरकारले गरेका कामहरुको प्रशंसा गर्नुका साथै डिजिटल प्रदेशको अवधारणा राम्रो रहेको बताउनुभयो । 

भेटवार्तामा मुख्यमन्त्री राईले नेपालले संघीयता पहिलो पटक अवलम्बन गरेको र मौलिकतामा आधारित रहेको बताउनुभयो । ‘नेपाल विविधताले भरिएको देश हो, हामीले अवलम्बन गरेको संघीयता मौलिकतामा आधारित छ’ मुख्यमन्त्री राईले भन्नुभयो ।

प्रदेश संरचना नयाँ रहको बताउँदै मुख्यमन्त्री राईले शुन्य संरचनाबाट सुरु भएर यो दुई वर्षमा महत्वपूर्ण आधारहरु तयार भएको जानकारी गराउनुभयो । प्रदेश तहमा जनशक्ति अभाव रहेको बताउँदै मुख्यमन्त्री राईले प्रदेश लोकसेवा आयोग गठन भएकोले समस्या समाधान हुने बताउनुभयो । जनताका असिमित चाहना र सिमित स्रोतका बीच काम गरिरहेको मुख्यमन्त्री राईले बताउनुभयो । प्रदेश सरकारले पञ्चवर्षीय आवधिक योजना, १० बर्षे सडक गुरुयोजना सार्वजनिक गरिसकेको भेटवार्ताका क्रममा बताउनुभयो । 

मुख्यमन्त्री राईले साना सिँचाइ, सहरी विकास, पर्यटनको गुरुयोजना बनिरहेको बताउँदै चिफ मिनिस्टर ड्यास बोर्डको काम भइरहेको बताउनुभयो । रुपान्तरणकारी योजनाहरुको सूची बनाउँदै लगानी सम्मेलन गर्न प्रदेश सरकारले तयारी गरिरहेको मुख्यमन्त्री राईले बताउनुभयो ।  

सामाजिक विकास मन्त्री जीवन घिमिरेले बालबालिका सम्बन्धि विधेयक प्रदेश सभामा पेश भएको बताउँदै उक्त विधेयकले वालबालिकाहरुको अधिकार सुनिश्चित हुने बताउनुभयो । प्रदेश योजना आयोगका उपाध्यक्ष सुबोधराज प्याकुरेलले प्रदेशको अवस्था र आवधिक योजनाको बारेमा जानकारी गराउनुभएको थियो । 

प्रतिक्रिया दिनुहोस