गोकुल बास्कोटा निवास अगाडि बम विस्फोट

बुधबार, २८ फागुन २०७६, ०८ : ३०
गोकुल बास्कोटा निवास अगाडि बम विस्फोट

काठमाडौं । सेक्युरेटी प्रिन्टिङ प्रेस खरिदमा ७० करोड रुपैया कमिसन मागेको अडियो सार्वजनिक भएपछि सञ्चार तथा सूचना प्रविधि मन्त्रीबाट राजीनामा दिन बाध्य भएका गोकुलप्रसाद बास्कोटाको निवास छेउमा बम विस्फोट भएका छ ।

जिल्ला प्रहरी कार्यालय भक्तपुरका अनुसार, भक्तपुर जिल्लाको मनहरा फाँटस्थित बास्कोटाको निर्माणाधीन घर नजिकै बुधबार बिहान ७ः४५ बजे बम विष्फोट भएको हो ।

विस्फोटका बेला बास्कोटा भने निवासमा थिएनन् । उनी मन्त्री भएदेखि नै प्रधानमन्त्री केपी शर्मा ओलीको बालकोटस्थित निजी निवासमा बस्दै आएका छन् । मन्त्रीबाट राजीनामा दिएपछि पनि उनी आफ्नो निवास सरेका छैनन् ।

बास्कोटाको घरलाई नै लक्षित गरी बम विष्फोट गराइएको प्रहरीले बताए पनि कसले र किन गरायो भन्ने खुलाएको छैन । घटनास्थलमा जिल्ला प्रहरी कार्यालय भक्तपुरका प्रहरी उपरीक्षक सविन प्रधान नेतृत्वको टोली पुगेको छ ।

प्रहरीका अनुसार विस्फोटबाट बास्कोटाको घरको पर्खाल र सिसाहरुमा क्षति पुगेको छ भने त्यहाँ राखिएको एउटा मारुती भ्यानमा समेत क्षति पुगेको छ । विस्फोटबाट छिमेकीहरुको घरमा समेत क्षति पुगेको छ  ।