जसले क्यान्सरलाई जित्दाजित्दै...

सोमबार, २६ फागुन २०७६, १८ : ०२
जसले क्यान्सरलाई जित्दाजित्दै...

चितवन । ‘मलाई क्यान्सर लाग्यो भनेर कुनै सुर्ता छैन, क्यान्सरसँग लडिरहेको छु, अहिलेसम्म जितिरहेको छु, रोगसँग लडेरै भए पनि अरुलाई मृत्युको मुखबाट जोगाइरहेको छु’ समाजसेवी डा. बीएम खरेलको यी ओजिला शब्दहरुले अब सधैँको लागि विश्राम लिएका छन् । 

क्यान्सरजस्तो रोगसँग लडेर भए पनि अरुलाई जीवन दिइरहेकी डा खरेल नफर्कने गरी सबैलाई आँसुको सागरमा डुबाएर बिदा भएकी छन् । साहस र दह्रो आत्मबलले क्यान्सरलाई जित्दाजित्दै डा. खरेल अस्ताइन् । डाक्टरी पेसासँगसँगै समाजसेवामा आफूलाई लगाउन सफल भएकी डा. खरेलको उपचारको क्रममा आइतबार राति पुरानो मेडिकल कलेजमा निधन भयो । उनको पार्थिव शरीर सदाको लागि अस्ताए पनि डा खरेलले गरेको समाजसेवामा गरेको योगदान सदाको लागि सम्झनयोग्य छ । उनको उपचारबाट निको भएका बिरामीहरुले डा खरेल भगवान नै मान्थे । 

भरतपुरको चितवन मेडिकल कलेज अगाडि रहेको एलाइभ हस्पिटलको प्रबन्ध निर्देशक हुनुुहुन्थ्यो । उहाँ क्यान्सरसँग लड्दालड्दै उपचारमा निरन्तर खटिनुहुन्थ्यो । सदैव खुसी देखिनु हुने डा खरेल कहिल्यै आफू विचलित नभएको बताउनुहुन्थ्यो । डा. खरेलका एक मात्र छोरा छन् । उहाँका श्रीमान प्रमोद लामिछाने पनि डाक्टर हुन् । 

उहाँ आफै क्यान्सरबाट ग्रसित भए पनि बिरामीको उपचारमा खटिरहनु भएको थियो । डा.खरेल र डा.प्रमोदले थुप्रै बिरामीको निःशुल्क उपचार गरेर समाजमा उदाहरणीय व्यक्तित्वको रुपमा पहिचान बनाउनुभएको थियो । ३५ वर्षको उमेरमा नै पेटको क्यान्सरबाट पीडित बनेकी डा. खरेललाई देख्दा कसैले पनि अनुमान गर्दैनथे क्यान्सर भएको छ भनेर । क्यान्सरसँग लडेर भएपनि उहाँले अरुलाई जीवन दिनरहनुभएको थियो, तर उहाँ सदाको लागि बिदा हुनुभएको छ । 

बिरामीको उपचार र अस्पताल व्यवस्थापनमा उनको सक्रियता क्यान्सर पहिचान हुनुअघि जति थियो, त्यो भन्दा पनि बढी भयो । समाजसेवामा निरन्तर उहाँ लागिरहनुभएको थियो । 

डा. खरेल भरतपुरको एलाइभ हस्पिटल एण्ड ट्रमा सेन्टरमा दिनरात काममा खटिनुहुन्थ्यो । क्यान्सर लाग्यो भनेर पिरोलिने र कमजोर हुने काम कहिल्यै उहाँबाट भएन । उनको व्यस्त दैनिकीले पनि त्यसतर्फ सोच्न फुर्सद दिएको थिएन । खरेल दन्त चिकित्सक थिइन् ।

डा. खरेल र अर्थोपेडिक सर्जन डा. प्रमोद लामिछानेबीच २०६७ सालमा विवाह भएको हो । डा खरेलको देनपछि एलाइभ हस्पिटल एण्ड ट्रमा सेन्टरको जन्म भएको हो । हस्पिटल जन्माएर समाजसेवामा लागेर क्यान्सरसँग लड्दालड्दै डा खरेल बिदा भएकी छन् ।  

शुरुमा अस्पताल खोल्दा निकै संघर्ष गरेको यो जोडी पछिल्लो समयमा चितवनमा अस्पतालसँगै स्थापित बन्दै गएको छ । श्रीमानलाई अस्पताल व्यवस्थापनको काममा सघाउनु, बिरामीको नियमित उपचार गर्नु डा. खरेलको दैनिकी थियो । 

डा. खरेल ठूलो रोग लागेको नठानी बिरामीको सेवामा खटिन्थिन् । तन्दुरुस्त र फुर्तिली देखिने डा खरेल क्यान्सर पीडितका लागि प्रेरणा नै बनेर गएकी छन् । डा खरेलले २०७४ बैशाख २८ गते पेटको क्यान्सर भएको थाहा पाएकी थिइन् । क्यान्सर भएको थाहा पाएपछि उनी थप उपचारका लागि भारत समेत पुगेकी थिइन् । त्यहाँका चिकित्सकले अन्तिम स्टेजको क्यान्सर भएकाले निको नहुने कुरा बताएका थिए । उनीहरुले भनेका थिए–अन्तिम स्टेजको क्यान्सर हो, वेट एन्ड वाच ।’

त्यसपछि उनी नेपाल फर्किएर आवश्यक थप उपचार अगाडि बढाइरहेकी थिइन् । उपचार सम्भव हुने आशामा डा खरेल श्रीमानसँग जापान समेत पुगेकी थिइन् ।

जापान पुगेर गरिएको उपचार र अनुसन्धानपछि डा. खरेलको क्यान्सर ‘एडिनो कासिनो अफ स्टोमक पोलिडिफरेन्सियट’ भन्ने पत्ता  लागेको थियो । उनले भनेकी थिइन् ‘बच्चादेखि नै ‘नेभर कम्स टुमरो’ भन्ने सोच भएको मान्छे हुँ । पढ्ने बेलामा पनि म कहिल्यै मर्दिन भनेर सिकियो भने धेरै राम्रो कुरा जानिन्छ भन्ने सोच लिएर पढ्थेँ । 

तर जिन्दगी जिउने कुरामा भने म भोलि नै मर्दैछु भन्ने सोच आउँथ्यो । भोलि नै मर्दा, केही छिनमा मर्दा वा केही घण्टा र मिनेट मात्रै मेरो जीवन बाँकी छ भने पनि म पूर्णरुपमा आफूप्रति कन्भिन्स छु । मलाई मेरो जीवन र जीवनीसँग कदापि कुनै सिकायत रहने छैन ।’

क्यान्सरले गाल्दै गए पनि उनको आत्मबल दरिलो थियो । तर आइतबार राती उनले क्यान्सरलाई जित्न सकिनन् । उनको सोमबार देवघाटमा अन्त्येष्टी गरिएको छ ।

प्रतिक्रिया दिनुहोस