‘मार्च ८’ आजकै दिन अन्तर्राष्ट्रिय महिला दिवस किन मनाईन्छ ?

आइतबार, २५ फागुन २०७६, १० : ३६
‘मार्च ८’ आजकै दिन अन्तर्राष्ट्रिय महिला दिवस किन मनाईन्छ ?

काठमाडौं ।  आज '८ मार्च' अर्थात अन्तराष्ट्रिय महिला दिवस । यो दिवस आज संसारभरी ११० औं अन्तर्रा्ष्ट्रिय महिला दिवसको रुपमा मनाईदैछ । यसको सुरुवात आजभन्दा करिब एक शताब्दी अघि समाजवादी आन्दोलनमार्फत् भएको थियो ।
आज यसको स्वरुप निकै परिवर्तन भइसकेको छ । संसारका विभिन्न देशमा यो दिवस आ–आफ्नै शैली र तरिकाले मनाईन्छ । यो दिवस किन मनाईन्छ ? कहाँबाट शुरु भयो । महिलाले सामाजिक, राजनीतिक, आर्थिक र सांस्कृतिकसहितका विभिन्न क्षेत्रमा झेल्नु परेका समस्या र त्यसको अवस्थाका बारेमा वकालत गर्ने र जागरुक बनाउने उद्देश्य अन्तर्रा्ष्ट्रिय महिला दिवसको शुरुवात भएको हो । 

विश्वमा महिलाका लागि अधिक सम्भावनाहरु रहेको तर त्यसको प्राप्तिका लागि पहुँचको सवाल कमजोर बनेकाले उद्देश्यपूर्ण सहकार्यबाट महिलाको सबलिकरण सम्भव हुने महिलाको सवलिकरणको पक्षमा काम गर्दै आएका संस्थाले बताउने गरेका छन् ।  यो दिनलाई महिलालाई महिला भएकोमा लाज होइन गर्व गर्नु पर्छ भन्ने कुरालाई स्थापित गर्न महत्वपूर्ण भूमिका खेलेका महिलाको योगदानको कदर गर्ने दिनका रुपमा पनि लिइन्छ ।

अन्तर्रा्ष्ट्रिय महिला दिवस सुरुमा सन् १९११ को मार्च १९ मा मनाइएको थियो । पहिलो अन्तर्रा्ष्ट्रिय महिला दिवसको अवसरमा भएको कार्यक्रममा १० लाख भन्दा बढी महिला तथा पुरुषले र्‍याली गरेका थिए । अन्तर्रा्ष्ट्रिय महिला दिवसको अवधारणा अमेरिकाको सोसिअलिस्ट पार्टीले सन् १९०९ को फेब्रुअरी २८ मा घोषणा गरेको राष्ट्रिय महिला दिवसबाट प्रभावित भएको हो ।

अर्को वर्ष अर्थात सन् १९१० मा विश्वभरका सोसिअलिस्ट डेनमार्कमा भेला भए र सहभागीले अन्तर्रा्ष्ट्रिय महिला दिवसको अवधारणा पारित गरे । त्यसको अर्को वर्ष मार्च १९ मा पहिलो अन्तर्रा्ष्ट्रिय महिला दिवस मनाइयो, त्यो बेला यसलाई कामकाजी महिलाको अन्तर्रा्ष्ट्रिय दिवस भनिन्थ्यो । पहिलो महिला दिवसमा डेनमार्क, जर्मनी, स्वीट्जरल्याण्ड र अस्ट्रियामा र्‍याली भएका थिए ।

पहिलो अन्तर्रा्ष्ट्रिय महिला दिवस मनाएको हप्ता दिन पनि नपुग्दै अमेरिकाको न्यूयोर्क सिटीमा रहेको ट्रिएन्जल सर्टवेस्ट फ्याक्ट्रीमा आगलागी भयो । त्यसमा १४६ जनाको ज्यान गयो, ज्यान गुमाउनेमा अधिकांश त्यहाँ कार्यरत आप्रवासी महिला थिए । यो घटनाले उद्योगमा काम गर्ने अवस्था र परिवेशबारे मुख्य परिवर्तनको कारण बन्यो । त्यहि आगलागीमा मारिएका कामकाजी महिलाको सम्झनाको रुपमा पनि अन्तर्रा्ष्ट्रिय महिला दिवस रहने गरेको छ । सुरुका वर्षहरुमा अन्तर्रा्ष्ट्रिय महिला दिवस कामकाजी महिलाको अधिकार र उनीहरुको सबलीकरणका सवालमा केन्द्रित थियो ।

रुसमा पहिलो पटक सन् १९१३ को फेब्रुअरीमा अन्तर्रा्ष्ट्रिय महिला दिवस मनाइएको थियो । सन् १९१४ मा पहिलो विश्व युद्ध सुरु भयो । मार्च ८ मा महिलाहरुले युद्ध विरुद्ध र्‍याली गरे । महिलाहरुले युद्धको समयमा विश्वभरबाट एकताको प्रदर्शन गरे ।  सन् १९१७ को फेब्रुअरी २३ (रुस), पश्चिमी क्यालेन्डरमा भने मार्च ८ का दिन रुसका महिलाले महत्वपूर्ण बन्द आह्वान गरे । यसलाई जार शासन पतनको आधार विन्दु मानिन्छ । त्यसपछिका केही वर्ष पूर्वी युरोप र सोभियत युनियनमा मार्च ८ को दिन सार्वजनिक बिदा हुने गर्‍यो । बिस्तारै यो दिन विश्वभर अन्तर्रा्ष्ट्रिय महिला दिवसको रुपमा स्वीकार्य हुँदै गयो ।

संयुक्त राष्ट्रसंघको आह्वानमा सन् १९७५ मा अन्तर्रा्ष्ट्रिय महिला वर्ष मनाइयो । त्यसपछि सन् १९७७ मा संयुक्त राष्ट्रसंघले आधिकारिक रुपमा महिला अधिकारको उत्सवको रुपमा मनाइने अन्तर्रा्ष्ट्रिय महिला दिवसलाई मान्यता दियो । यो दिनलाई संयुक्त राष्ट्रसंघले ‘महिला अधिकारका क्षेत्रमा भएका प्रगतिको परिदृश्य दर्शाउन, परिवर्तनका लागि आह्वान गर्न र उत्प्रेरणा प्रदान गर्ने खालका कानुनको सम्मान गर्न तथा सामान्य महिलाले देखाएको लगनको जसले महिला अधिकारको इतिहासमा अतुलनीय योदान गरेका छन्, त्यो देखाउन’ मनाइने दिनको रुपमा उल्लेख गरेको छ ।

सन् २०११ मा अन्तर्रा्ष्ट्रिय महिला दिवसको १०० वर्ष पूरा भएको अवसरमा विश्वभर विविध कार्यक्रम भए । त्यसपछिका वर्ष अन्तर्रा्ष्ट्रिय महिला दिवसले थप सघन रुप लिइएको छ । संयुक्त राष्ट्रसंघले तय गरेको दीगोविकास लक्ष्य २०३० मा महिलामाथि महिला भएकै कारण हुने सबैप्रकारका हिंसा वा विभेद अन्त्य गर्ने लक्ष्य राखिएको छ ।

अन्तर्राष्ट्रिय महिला दिवसमा यो वर्ष के–के भइरहेको छ ?

यो वर्ष अन्तरराष्ट्रिय महिला दिवस अभियानले #EachForEqual थीम छानेको छ ।  यो विचार सामूहिक व्यक्तिवादमार्फत् लिइएको हो । अभियान अन्तर्गत के हुनेछ, यसलाई यसरी परिभाषित गरिएको छ –

‘हामी सबै एक सम्पूर्ण विश्वको हिस्सा हौं । हाम्रो व्यक्तिगत काम, संवाद, व्यवहार र सोचले हाम्रो समाजमा व्यापक असर पार्छ । त्यसकारण हामी सबै मिलेर एउटा ठूलो परिवर्तन ल्याउन सक्छौं । हामी सबैले मिलीजुली एक लैङ्गिक रुपमा समान संसारको रचना गर्न सक्छौं ।’

पछिल्ला केही वर्षमा हामीले महिलाको अन्दोलन व्यापक स्तरमा पुगेको देखेका छौं । सन् २०१७ मा अक्टोबरमा लाखौं मानिसले ह्याशट्याग  #MeToo अभियान सोसल मिडियामा सुरु गरेर शोषण र यौन हिंसाको आफ्नो अनुभवविरुद्ध आवाज उठाए । यी महिलाले संसारभरीका महिलाको यौन शोषण बन्द हुनुपर्ने माग गरे ।

सन् २०१८ मा पनि  #MeToo संवाद विश्व स्तरमा जारी रह्यो । फ्रान्स, चीन, दक्षिण कोरिया, भारतजस्ता देश महिलाको यो अभियानको हिस्सा बन्यो र उनीहरुले स्थितीमा परिवर्तनको मागलाई तीब्र पारे । अमेरिकामा भएको मध्यावधि चुनावमा रेकर्ड स्तरमा महिलाले जीत हासिल गरे ।

प्रतिक्रिया दिनुहोस