वाम को सान

तीनै क्षेत्रमा वाम गठबन्धनका उम्मेदवार अगाडि : चितवन जिल्ला लाल किल्ला बनाउने तयारी

शनिबार, ०२ मंसिर २०७४, १८ : १०
तीनै क्षेत्रमा वाम गठबन्धनका उम्मेदवार अगाडि : चितवन जिल्ला लाल किल्ला बनाउने तयारी


चितवन । प्रतिनिधि सभा र प्रदेश सभा सदस्य पदको निर्वाचनको मिति नजिकिँदै गर्दा चितवनमा प्रतिनिधि सभाका तीन वटा र प्रदेश सभाका ६ वटा निर्वाचन क्षेत्रमा वाम गठबन्धनका उम्मेदवार अगाडि देखिएका छन् । यसअघिको संविधान सभा निर्वाचनमा बहुमत सिट र स्थानीय तह निर्वाचनमा दुईतिहाई सिट जितेका पार्टी मिलेर बनेको वाम गठबन्धनले यसपटक चितवन जिल्लालाई लालकिल्ला बनाउने देखिएको छ ।

नेकपा एमाले र नेकपा माओवादी केन्द्र मिलेर बनेको वाम गठबन्धनले प्रतिनिधि सभातर्फ क्षेत्र नम्बर एकबाट पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डे, दुईबाट एमाले जिल्ला अध्यक्ष कृष्णभक्त पोखरेल र तीनबाट नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई उम्मेदवार बनाएको छ । वाम गठबन्धनबाट क्षेत्र नम्बर एकको प्रदेश क मा दावा दोर्जे लामा, प्रदेश ख मा कृष्णप्रसाद खनाल, क्षेत्र नम्बर दुईको प्रदेश क मा घनश्याम दाहाल र प्रदेश ख मा विजय सुवेदी, क्षेत्र नम्बर तीनको प्रदेश क मा कृष्ण भुर्तेल र प्रदेश ख मा रामलाल महतो उम्मेदवार छन् ।

नेपाली काँग्रेस र राप्रपा प्रजातान्त्रिक मिलेर बनेको लोकतान्त्रिक गठबन्धनले प्रतिनिधि सभातर्फ क्षेत्र नम्बर एकबाट काँग्रेसका पुराना नेता राजेन्द्र बुर्लाकोटी, दुईबाट शिक्षा राज्यमन्त्री शेषनाथ अधिकारी र तीनबाट वनमन्त्री विक्रम पाण्डेलाई उम्मेदवार बनाएको छ । लोकतान्त्रिक गठबन्धनबाट क्षेत्र नम्बर एकको प्रदेश क मा धनबहादुर गुरुङ, प्रदेश ख मा उत्तम आचार्य, क्षेत्र नम्बर दुईको प्रदेश क मा जितनारायण श्रेष्ठ र प्रदेश ख मा प्रकाश अधिकारी, क्षेत्र नम्बर तीनको प्रदेश क मा दिनेश कोइराला र प्रदेश ख मा साजन महतो उम्मेदवार छन् ।

चितवनको क्षेत्र नम्बर १ मा पूर्वी चितवनका राप्ती, खैरहनी र रत्ननगर नगरपालिका पर्दछन् । यस क्षेत्रमा गत संविधान सभा निर्वाचनको क्षेत्र नम्बर १ को पुरै र क्षेत्र नम्बर २ को आंशिक भाग पर्दछन् । क्षेत्र नम्बर २ मा पूर्वी चितवनको कालिका नगरपालिका, उत्तरको इच्छाकामना गाउँपालिका र भरतपुर नगरपालिकाभित्रका १० वडा पर्दछन् । यस क्षेत्रमा गत संविधान सभा निर्वाचनको क्षेत्र नम्बर २ को केही भाग र क्षेत्र नम्बर ३ को पुरै भाग समेटिएको छ । निर्वाचन क्षेत्र नम्बर ३ मा माडी नगरपालिका र भरतपुर नगरपालिकाभित्रका १९ वडा समेटिएका छन् । यस क्षेत्रमा यसअघिको क्षेत्र नम्बर ४ र ५ क्षेत्र समेटिएको छ ।

जिल्ला निर्वाचन कार्यालयले दिएको जानकारी अनुसार चितवनमा कूल तीन लाख ५४ हजार ३६ जना मतदाता रहेका छन् । क्षेत्र नम्बर एकमा एक लाख १९ हजार नौ सय ९८, दुईमा एक लाख आठ हजार दुई सय १५ र तीनमा एक लाख २५ हजार आठ सय २३ जना मतदाता छन् । क्षेत्र नम्बर एकको प्रदेश क मा ५५ हजार पाँच सय ४४, प्रदेश ख मा ६४ हजार चार सय ५४, क्षेत्र नम्बर दुईको प्रदेश क मा ५२ हजार दुई सय ९८, प्रदेश ख मा ५५ हजार नौ सय १७, क्षेत्र नम्बर तीनको प्रदेश क मा ६८ हजार तीन सय ६२ र प्रदेश ख मा ५७ हजार चार सय ६१ जना मतदाता रहेका छन् ।
गत संविधान सभा निर्वाचनको परिणाम अनुसार चितवनको क्षेत्र नम्बर १ र ३ नेकपा एमालेले जितेको थियो । यसैगरी क्षेत्र नम्बर २ र ४ मा नेपाली काँग्रेसका उम्मेदवार विजयी बनेका थिए । क्षेत्र नम्बर ५ मा राप्रापाले बाजी मारेको थियो । गत स्थानीय तहको निर्वाचनमा भने चितवनमा नेकपा एमालेले सात वटा स्थानीय निकायमध्ये पूर्वी चितवनका चार वटै नगरपालिकामा बहुमत जित्न सफल भयो । माडी नगरपालिका र भरतपुर महानगरपालिका प्रमुखमा नेकपा माओवादी केन्द्रले जित्यो । नेपाली काँग्रेसले जिल्लाको एउटामात्र गाउँपालिका इच्छाकामनामा बहुमत ल्याएको छ ।

स्थानीय तह निर्वाचनमा भरतपुर महानगरपालिकामा नेपाली काँग्रेससँग तालमेल गरेको माओवादी केन्द्रले यस निर्वाचनमा मुलुकभर नै नेकपा एमालेसँग चुनावी गठबन्धन गरेको छ । चितवनको पूर्वी क्षेत्रमा कम प्रभाव भएपनि पश्चिम चितवन र माडी नगरपालिकामा माओवादी केन्द्रको प्रभाव राम्रै छ । यसैगरी नेपाली काँग्रेसले पनि राप्रापासँग मिलेर प्रतिष्पर्धा गरेको छ ।

गत संविधानसभा निर्वाचन र स्थानीय तहको मत परिणामको आधारमा चितवनको तीन वटै क्षेत्रमा वाम गठबन्धनका उम्मेदवारहरु बलिया देखिन्छन् । क्षेत्र नम्बर १ र २ मा प्रतिष्पर्धी नेपाली काँग्रेसको तुलनामा नेकपा एमाले बलियो अवस्थामा छ । उक्त क्षेत्रमा राप्रपाको जनाधार नभएको र एमाले उम्मेदवारलाई माओवादी केन्द्रले सघाउँदा उनीहरु विजयी हुनेमा ढुक्क छन् ।

‘चितवन प्रतिनिधि सभाको तीन वटै क्षेत्र र प्रदेश सभाको ६ वटै क्षेत्र वाम गठबन्धनका उम्मेदवारले जित्नेमा कुनै शंका छैन’ नेकपा एमाले चितवनका अध्यक्ष तथा प्रतिनिधि सभा क्षेत्र नम्बर २ का उम्मेदवार कृष्णभक्त पोखरेल भन्छन्, ‘प्रतिनिधि सभाको तीन वटै क्षेत्रमा हाम्रो प्रतिष्पर्धी छैनन् । प्रदेश सभाका ६ वटै क्षेत्रमा पनि भारी मत अन्तरले जित्छौं’ ।

 

प्रतिक्रिया दिनुहोस