मिर्गौला पीडित थापालार्ई पाँच लाख सहयोग

शनिबार, २४ फागुन २०७६, ०९ : १२
मिर्गौला पीडित थापालार्ई पाँच लाख सहयोग

गलकोट । दुवै मिर्गौला काम नलाग्ने भएर उपचारका लागि सहयोगको याचना गर्नुभएका बागलुङ जैमिनी नगरपालिका–१ कुश्मीशेराका बिन्दु थापालाई आर्थिक सहयोग प्रदान गरिएको छ ।

सामाजिक सञ्जाल फेसबुकमार्फत सुनौलो बागलुङ संस्थाका संस्थापक शिव श्रीस, नेपाली काँग्रेस जैमिनी नगरपालिकाका सचिव तथा युवा नेता पुरन श्रीस र जोजो क्षेत्रीको पहलमा स्वदेश विदेशमा सङ्कलित रु पाँच लाख पाँच हजार ८०५  रकम उपचारमा सहयोग पु¥याउन मिर्गौला पीडित थापाका बुबा मनबहादुरलाई शुक्रबार हस्तान्तरण गरिएको हो ।

दुवै मिर्गौला काम नलाग्ने भएपछि २२ वर्षीया बिन्दुको हाल भारतको नयाँ दिल्लीको एक अस्पतालमा उपचार भइरहेको छ । फेसबुकमा सुनौलो बागलुङ नामक संस्थामार्फत विभिन्न सामाजिक कार्य गर्दै आएका ती युवाले थापाको उपचारमा आर्थिक अभाव भएपछि बिन्दु बचाउ अभियान चलाएका थिए ।

फागुन १ गतेदेखि सञ्चालन गरिएको अभियानमा देश तथा विदेशमा रहेका जैमिनीवासी र शुभेच्छुक झण्डै १०० ले सहयोग गरेको अभियन्ता पुरन श्रीसले जानकारी दिनुभयो । “पीडितलाई उपचारमा आर्थिक अभाव भएका कारण स्वतःस्फूर्तरुपमा सहयोग अभियान सञ्चालन गरेका थियौँ ।” श्रीसले भन्नुभयो, “सबैको सहयोगले गर्दा थापाको उपचारमा सहयोग पुग्नेछ ।”

     श्रीसका अनुसार हङकङमा कार्यरत जैमिनीवासी र अन्य विभिन्न क्षेत्रका प्रवासीले यसअघि नगद रु एक लाख ११ हजार सहयोग गरेका थिए । पीडित बिन्दुका बुबा मनबहादुरका अनुसार हालसम्म उपचारमा रु छदेखि सात लाख खर्च भइसकेको छ । परिवारको आर्थिक अवस्था कमजोर भएका कारण उपचारमा सहयोगको अपिल गरिएको थियो । (रासस)

प्रतिक्रिया दिनुहोस