नारायणकाजी श्रेष्ठ भन्छन्, : ‘यसकारण मैले दौरासुरुवाल लगाए’

शुक्रबार, २३ फागुन २०७६, ०८ : ५८
नारायणकाजी श्रेष्ठ भन्छन्, : ‘यसकारण मैले दौरासुरुवाल लगाए’

काठमाडौं । नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठ २१ फागुनमा नयाँ वानेश्वर स्थित संसद भवनमा एकाएक दौरा सुरुवालमा देखिए । त्यो दिन उनको सात वर्ष पछिको सांसदको रुपमा संसद भवनको इन्ट्रीको दिन थियो । उनले गण्डकी प्रदेशबाट राष्ट्रिय सभा सदस्यका रुपमा त्यस दिन सपथ लिए ।

त्यसपछिको राष्ट्रिय सभा बैठकमा उनले झण्डै एक घण्टा लामो सम्बोधन नै गरे । नेकपाका तर्फबाट राष्ट्रिय सभामा अहिले उनी सबै भन्दा उच्च तहका नेता पनि हुन् ।  सपथ लिन जाँदा दौरा सुरुवालमा ठाँटवाठका साथ पुगेका श्रेष्ठ यस अगाडी पनि औपचारिक कार्यक्रममा दौरा सुरुवाल प्रेमी नदेखिएका होइनन । 

उनको दौरा सुरुवाल अनुभव यस्तो छ :
झट्ट हेर्दा पोशाक भनेको लगाउनेलाई जे मनपर्छ त्यहि लगाउने हो । यो सबैलाई लाद्ने कुरा होइन । मलाई साधारणतया सजिलो चाँही पाईन्ट र सर्ट नै लाग्छ । धेरै त्यहि नै लगाउछु । मुल कुरा कुनै पनि ब्यक्तिको आन्तरिक पक्ष हो । पोशाक भन्दा पनि उसको बिचार हो, ब्यवहार नै हो । तर बाहिरको कुराले पनि केही न केही प्रतिनिधित्व चाँही गर्नै पर्छ भन्ने मेरो मान्यता रह्यो । 

जस्तो तपाई बिदेशमा टोपी लगाएको मान्छे कोही फेला पर्यो भने ‘ए नेपाली रहेछ’ भनेर झ्याप्प अँगालो हाल्न मन लाग्छ । किन ? किनभने त्यो मान्छे भ्रष्टाचारी, फटाहा, शोसक जे भए पनि बाहिर देखिँदैन र थाहा हुँदैन तर टोपी लगाए पछि नेपाली रहेछ भन्ने प्रष्ट थाहा हुन्छ । अनि गम्लङग अँगालो हाल्ने स्थिति बन्छ । त्यसैले बाहिरै देखिने गरिको चिनारी हामी नेपालीको हुनुपर्छ भन्ने मान्यता मैले लिएको हुँ । कोही पनि बाहिरको ब्यक्तिले म सँग कुरा गरिरहँदा उसले फिल गरिरहोस् की म नेपालीसँग कुरा गरिरहेको छु भन्ने । 

कसैले नेपाली हो भनेर चिन्ने बाहिर कुनै पक्ष पनि स्वाट्टै प्रतिनिधित्व गर्दा बेश हुन्छ भन्ने मैले ठाने र दौरा सुरुवाल छाने । मेरो एउटा बानी के छ भने, मलाई ठिक लागे पछि म गर्छु । जे सुकै होस् अरुले के भन्छ भन्ने होइन पहिला मलाई ठिक लाग्नु पर्यो । कहिले काँही कुनै पनि बिषयमा म एक्लै भए पनि मलाई चिन्ता लाग्दैन । किनभने म सफलतालाई ध्यान दिन्न । म मुल्य र मान्यतालाई ध्यान दिन्छु । 

अहिले पनि राष्ट्रिय सभा सदस्यका रुपमा सपथ ग्रह्ण गर्न जाँदा र त्यो सन्दर्भमा लगाएको हो । मलाई सजिलो चाँही पेन्ट र सर्ट नै लाग्छ । मुख्य कुरा त हाम्रो अडान हो, बिचार नै हो, त्यसमा संका छैन । पोशाकले मात्रै देशभक्त बनाउने भन्नु कुरा पनि होइन । तर नेपाली भन्नेकुरा स्याटट्ै देखा परोस् भन्ने चाँही हो नै । नेपाल राष्ट्रको नागरिक हुँ भन्ने स्याट्टै चिनिने केही कुरा होस् भन्ने चाहना मेरो हो । जुन यहि दौरा सुरुवाल र टोपीलाई मैले लिए ।

पहिला मैले लगाएको दौरा सुरुवालको बिषय हाम्रै तत्कालिन पार्टी भित्र चर्चा र छलफलको बिषय बन्थ्यो । अध्यक्षले त त्यसवेला ‘मलाई त राम्रै लाग्यो’ भन्नुभयो । मैले भने ‘तपाईहरु टोपी सम्म त लगाउनु हुन्थ्यो नी हैन’ भने । अध्यक्षले पनि ‘टोपी चाँही म पनि लाउछु तर अरु चाँही खै ।’ भनेर हाँस्नु भएको थियो ।

अध्यक्ष देखि पार्टीका अन्य साथीहरुले दिएको प्रतिकृयामा मैले नकारात्मक टिप्पणीको भाव कत्तै पाएको थिइन, त्यसबेला पनि । सबैको सकारात्मक भाव नै छ । तर अहिले त महत्वपूर्ण जिम्मेवारी लिदाँ, या औपचारिक विशेष कार्यक्रममा अरु साथीहरुले पनि दौरा सुरुवाल लगाएको पाएको छु । लगाउन पनि थाल्नुभएको छ । 

अव, तराई मधेशका साथिहरुले दौरा सुरुवार टोपि नै लगाओस् भन्ने मेरो चाहना होइन । बल जफ्ती गरेर हुँदैन । यो राष्ट्रिय पोशाक भनेर घोषणा भएको पनि छैन । तर, आम रुपमा ठ्याक्कै नेपाली भनेर सबभन्दा बढी केले चिनिन्छि त भन्ने मैले चाहेको हो । त्यसैको रोजाईमा दौरा सुरुवाल परेको हो । हो, हामी कतिपय कुराहरुमा चुकेउँ । बढी क्रान्तिकारिता देखाउन खोजियो भन्ने बझुाई भएकै छ, अहिले हेर्दा ।

पहिलो पटक दौरा सुुरुवाल लगाएर औपचारिक कार्यक्रममा जादा पार्टी भित्र मात्रै होइन, अन्य राजनीतिक दलका साथीहरुको वीचमा पनि मैल दौरा सुरुवाल लगाएकोमा चर्चा चलेको छ । धेरैले मलाई दुई वटा प्रतिकृया दिनुभएको थियो, पहिलो ‘खुसी लाग्यो’ भन्नु भयो र अर्को चाँही ‘ओ हो कस्तो सुहाएको’ ।

संसदमा भारतीय प्रधानमन्त्रीको सम्बोधनको कार्यक्रम थियो । मलाई अहिले पनि याद छ त्यसदिनको दौरा सुरुवाल लगाएर गएको दिनको । माधबजी (माधबकुमार नेपाल ) ले त सबैको बीचमा लगेर फोटो खिचाउनुभयो । कृष्ण सिटौलाजी, पूर्णबहादुर खड्काजीहरुले ‘बाफ रे बाफ, छलाङ्ग भनेको यहि रहेछ’ भन्नुभयो । कतपय साथीहरुले ‘तपाइँईहरुको क्रमभंग थियो नी हो, त्यो त यहाँ भएछ’ भन्नुभयो । तर मेरो क्रमभंग त होइन ।

म नेवार समुदायको ब्यक्ति । ज्यापुहरुको पहिले देखिको ड्रेस नै हो दौरासुरुवाल त । मैले पहिला पनि दौरा सुरुवाल लगाएको थिए । अझै पनि म सँधै लगाउछु भन्ने होइन तर बिदेशीसँग आफूले प्रतिनिधित्व गर्ने ठाउँमा दौरा सुरुवाल लगाएर जाँदा मलाई खुसी लाग्छ । औपचारिक कार्यक्रममा लगाउदा मलाई खुसी लाग्छ । सके सम्म म त्यो गर्छु र नेपाली हो भनेर बाहिरी रुपमा चिनाउनको लागि मैले सँधै दौरा सुरुवा, र टोपी लगाउने छु ।
 

प्रतिक्रिया दिनुहोस