गैँडाकोट नगरपालिकामा मेयर र उपमेयरको घम्साघम्सी, नीतिगत विधेयकहरु पनि पारित हुन सकेन

बुधबार, २१ फागुन २०७६, १७ : २७
गैँडाकोट नगरपालिकामा मेयर र उपमेयरको घम्साघम्सी, नीतिगत विधेयकहरु पनि पारित हुन सकेन

नवलपुर । गैँडाकोट नगरपालिकाको बुधबार भएको छैटौँ नगर सभामा नगर प्रमुख छत्रराज पौडेल र  उपप्रमुख विष्णुकुमारी पौडेलको ठूलै घम्साघम्सी परेको स्पष्ट देखियो ।

नगर सभामा प्रमुख पौडेलले शिक्षा विधेयक वाचन गरिरहँदा, बाहिर उपप्रमुख विष्णुकुमारीले कांग्रेसबाट निर्वाचित भएका प्रतिनिधिहरुलाई लिएर एकलौटी ढंगले आएको विधेयक कुनै हालतमा पास गर्न नदिने बताइरहेकी थिइन् । अन्ततः दुई घण्टा लगाएर प्रमुख पौडेलले वाचन गरेको अत्यावश्यक शिक्षा विधेयक बहुमतले पास हुन दिएन । 

उपप्रमुख पौडेललगायतका बहुमत सदस्यहरुले एकतर्फी ढंगले ल्याइएको शिक्षा विधेयक अस्वीकृत गर्न दबाब दिएपछि बाध्य भएर प्रमुख पौडेलले विधेयक पास हुन नसकेको जानकारी सभामा गराए । प्रमुख पौडेलले भने, ‘अत्यावश्यक शिक्षाजस्तो विधेयक तीन वर्ष भयो, पास गर्न दिएका छैनन्, यस्तो अवस्थामा मैले कसरी गैँडाकोट नगरको शिक्षामा आमुल परिवर्तन गर्न सक्छु ? उनले कांग्रेस समर्थित प्रतिनिधिहरुको बहुमतको दम्भ देखाएर उपप्रमुख विष्णुकुमारीलगायतबाट शिक्षा विधेयक पास हुनबाट रोकिएको आरोप लगाए । 

सभापछि आफ्नो कार्यकक्षमा पत्रकार सम्मेलन गर्दै प्रमुख छत्रराज पौडेलले भने, ‘उनीहरुले माग गरेका शिक्षा विधेयक उनीहरुले नै पास गर्न दिएनन्, अब कसको के लाक्छ ? शिक्षाविद्हरु राखेर उनीहरुकै सल्लाहमा उनीहरुकै मान्छे राखेर बनाइएको शिक्षा विधेयक पास हुन नसक्दा शिक्षाको स्तर बढ्न सकेको छैन ।’

सभामा शिक्षा विधेयकलाई लिएर प्रमुख छत्रराज र उपप्रमुख विष्णुकुमारीबीच आरोप प्रत्यारोप नै चलेको थियो । सभामा प्रमुख छत्रराजले जसरी पनि शिक्षा विधेयक पास गर्नुपर्नेमा जोड दिएका थिए भने उपप्रमुख विष्णुकुमारीले एकलौटी ढंगले मेयरले पेलेर ल्याइएको विधेयक पास नगराउने भनेर अड्डी कसेकी थिइन् । 

शिक्षा विधेयकमात्र होइन, उपमेयर विष्णुकुमारीलगायत कांग्रेस प्रतिनिधिहरुले लेखा र सुशासनसम्बन्धी विधेयक पनि पास हुन दिएनन् । लेखा र सुशासनसम्बन्धी विधेयक पास गराउन जोडबल गरेका प्रमुख छत्रराज पौडेल अन्तत यी विधेयक पनि पास नगराई सभाको समापन गरेका थिए । 

के भन्छिन् उपप्रमुख ?
नमस्कार ! 
म गैँडाकोट नगरपालिका उपप्रमुख विष्णुकुमारी पौडेल । 
मेयरज्यूले नगर सभामा जति विधेयकहरु ल्याएका छन्, धेरै विधेयकहरु आज पास गर्न सकेनौँ । शिक्षा विधेयक, सुशासन विधेयक र लेखा विधेयक हामीले बहुमतको आधारमा पास हुन दिएनौँ । यसमा मलाई पनि दुःख लागेको छ । तर जुन विधेयकहरु मेयरज्यूबाट आएको छ, ती विधेयक एकलौटी ढंगबाट ल्याइयो ।

मेयरले मात्र पेलेर ल्याइएका विधेयकहरु हामी पास हुन दिँदैनौँ । हामी भन्दा पनि बहुमतले पास हुन दिएन भनौँ । पावरको बलमा ल्याएका विधेयकहरु कसरी पास गर्न सक्छौँ ? विधेयक बनाउनुअघि हामीसँग कुनै छलफल भएको छैन, कार्यपालिकाको बैठकमा पेस नगरी एकैचोटी नगरसभामा विधेयक किन ल्याइयो ? 

हाम्रो अस्तित्व नै नरहने गरी विधेयक ल्याउने ? कुनै सल्लाह छैन, कुनै सुझाव छैन, अनि कसरी विधेयक पास गर्न सकिन्छ ? उहाँ (मेयर छत्रराज) ले सबैलाई समेट्न सक्नुभएन । आफ्नो स्वार्थले विधेयकहरु ल्याउने जमर्को भयो, एकलौटी ढंगले अघि बढ्नुभयो । सुझावहरु अवमूल्यन भयो, त्यसैले आज विधेयकहरु पास हुन सकेनन् । उहाँले सबैलाई समेटेर चित्त बुझाएर विधेयकहरु ल्याउन जरुरी थियो । 

के भन्छन् प्रमुख ?
नगर सभाको समापनपछि भएको पत्रकार सम्मेलनमा सम्पूर्ण पत्रकार साथीहरुलाई नमस्कार !

आज मलाई अति नै चिन्ताबोध भएको छ, ग्लानी महसुुुस भएको छ । पास नगरी नहुने विधेयकहरु पनि बहुमतको दम्भ देखाएर पास हुन दिइएन । यो सरासर गैँडाकोट नगरको विकासमा लात हान्ने काम भएको मलाई महसुुस भइरहेको छ ।

अरु नजिकका नगरपालिकाहरु कहाँ पुगे, तर हामीलाई विधेयकसमेत पास गर्न दिदैँनन् । अनि कसरी विकास अगाडि बढ्न सक्छ ? लेखा समिति र सुशासन समिति विधेयक पास गर्न नदिएर बहुमतको भरमा भ्रष्टाचारको छेलोखेलो गर्ने चलखेल त गरिएको होइन ? अब आशंका गर्ने ठाउँहरु हुन थाल्यो । जहाँसम्म लेखालाई पारदर्शी बनाउन, सुशासन कायम राख्न ल्याइएको विधेयक पास गर्न नदिएर गर्न खोजिएको के हो ? अब गैँडाकोट नगरवासीले बुझ्नेछन् । 

विगतमा जस्तै लुटतन्त्र मच्चाउन विधेयकलाई पास गर्न नदिने खेल सुरु भएको छ । गैँडाकोट नगरपालिकाको विकास गर्न नदिने काम भइरहेको छ । जति विधेयकहरु बनाइएको छ, सम्बन्धित विज्ञ र उनीहरुका पक्षका (कांग्रेस समर्थित) मान्छेलाई राखेर विधेयक बनाएको हो, कसरी एकलौटी हुन्छ ? नगरप्रमुख भएको नाताले हरेक विधेयकमा एकजना प्रतिनिधि त म बस्न परेन ? सबै मिलेर सबैको सुझावअनुसार कार्यपालिका बैठकबाट पास गराएर सभामा लगेको विधेयक कसरी एकलौटी हुन्छ ? 

विकास निर्माणलाई ठप्प पार्ने हिसाबले, मेयरलाई पंगु बनाउने तरिकाले आज विधेयकहरु पास गर्न दिइएको छैन । बहुमतको दम्भ देखाएर जसरी पनि पास गर्न पर्ने विधेयक रोक्न मिल्छ ? उनीहरुकै सुझावअनुसार उनीहरुकै मागबमोजिम तयार पारिएको विधेयक आज फेल गराइएको छ, यो भनेको गैँडाकोट नगरपालिका अघि नबढोस्, छत्रराज पौडेलले काम गरेको नदेखियोस् भनेर नै हो । आफ्ना कार्यकर्ता भर्ती गर्न, लुटतन्त्र मच्चाउन आर्थिक पारदर्शी नहोस् भन्ने चाहनाले आज विधेयकहरु खारेज गरिएको छ ।

विधेयकहरु बनाउँदा आरोप लाग्ला कि भनेर नेकपाको कसैलाई राखेको छैन,  तर पनि पास हुन दिँदैनन् । गर्न खोज्या के हो ? विधेयक पढ्नूस् कहाँ छ यहाँ मेयरको स्वार्थ ? कहाँ छ एकलौटी ? कहाँ देखिन्छ नेकपा ? जे मन लाग्छ, त्यही बोल्ने ? मेयरलाई पंगु बनाउने ? आज मैले विकासको कुनै काममा ३० हजार दिन्छु भनेर बोल्न पनि नपाउने अवस्था सिर्जना भएको छ ? मैले विकास गर्न नपाउने ? गैँडाकोट नगरवासीले बुझेका छन् ।

अनावश्यक रकमका बिलहरु आइरहेका छन्, निःशुल्क शिविरमा समेत खर्चका बिलहरु आइरहेका छन्, यसलाई नियमन गर्न लेखा विधेयक ल्याउँदा पास हुन नदिने ? यो गर्न खोज्या के हो ? प्रष्ट छ, जनताले बुझेका छन्, आज नबुझे पनि भोलि त अवश्य बुझ्नेछन् । 

अनुमानित विवरण प्रस्तुत 

उपप्रमुख विष्णुकुमारीले नगर सभामा आर्थिक वर्ष ०७५\७६ को यथार्थ विवरण र आर्थिक वर्ष ०७६\७७ को माघ मसान्तसम्मको राजस्व आम्दानी र खर्चको सशोधित अनुमानित विवरण प्रस्तुत गरेकी थिइन् । 

गत आर्थिक वर्ष २०७५\०७६ मा कुल बजेट ७८ करोड ६० लाख १५ हजार ९९४ रुपैयाँमा चालु खर्चतर्फ ४१ करोड ९१ लाख १२ हजार ७६१ रुपैयाँ ५५ पैसा र पुँजीगत खर्चतर्फ २४ करोड ९० लाख ८८ हजार ३२२ रुपैयाँ ८२ पैसा खर्च भई ११ करोड ७८ लाख १४ हजार ९०९ रुपैयाँ ६३ पैसा बचत हुन आएको विवरण उपप्रमुख विष्णुकुमारीले प्रस्तुत गरेकी थिइन् । 

नगर सभामा विनियोजन विधेयक पास भएको थियो भने जनप्रतिनिधिहरुको सेवासुविधाको विधेयक पास भएको छैन । 
 

 

 

प्रतिक्रिया दिनुहोस