गाँजा खेतीलाई खुलाउने गैरसरकारी विधेयक सांसदमा पेश हुँदै

सफल खबर संवाददाता

सोमबार, १९ फागुन २०७६, १२ : ५६
गाँजा खेतीलाई खुलाउने गैरसरकारी विधेयक सांसदमा पेश हुँदै

काठमाडौं । सांसद शेरबहादुर तामाङले गाँजा खेतीको नियमन र व्यवस्थापन गर्न बनेको विधेयक ल्याउन लागेका छन् ।

तामाङले पेश गर्न लागेको उक्त विधेयक संविधान जारी भएपछिकै पहिले गैरसरकारी विधेयक हो । संसदमा सामान्यतयाः सरकारले नै विधेयकहरु ल्याउने प्रावधान भए पनि सांसदहरुलाई सोझै विधेयक ल्याउने अधिकार पनि हुन्छ । 

सोही अधिकारलाई प्रयोग गर्दै पूर्व कानूनमन्त्रीसमेत रहेका तामाङले सो विधेयक ल्याउन लागेका हुन् । संघीय संसदको प्रतिनिधिसभा अन्तर्गतको विधेयक शाखामा आज सोमबार सांसद तामाङले उक्त विधेयक दर्ता गर्न लागेका हुन् ।

अहिले नेपालमा गाँजाको खेती तथा कारोबार प्रतिबन्धित छ । नेपालमा प्रतिबन्धित गाँजा अन्य विभिन्न देशहरुमा भने कानूनी रुपमा खरिदबिक्री हुन्छ । गाँजामा ४०० भन्दा बढी तत्त्व पाइन्छन् जुन क्यान्सर लगायतका विभिन्न रोगहरुको उपचारमा समेत प्रयोग हुन्छ । त्यही कारण यसलाई खुला गर्न र त्यसको नियमन र व्यवस्थापन गर्न यस्तो विधेयक ल्याउनुपरेको सांसद तामाङले बताए ।

संसदमा गैरसरकारी विधेयक विरलै मात्र आउँछ । यसअघि सांसद विजय सुब्बाले आईएलओ सम्बधी विधेयक संसदमा प्रस्तुत गरेका थिए जसलाई पछि सरकारी विधेयकको मान्यता दिएको थियो । सो विधेयकपछि हालसम्म अन्य दुईओटा विधेयक आएका थिए । आज प्रस्तुत गर्न लागिएको विधेयक चौथो गैरसरकारी विधेयक भएको सांसद तामाङले बताए ।

प्रतिक्रिया दिनुहोस