भरतपुर महानगरमा सुर्तीजन्य पदार्थ बेचबिखनमा थप कडाइ, आज ३५ पसलमा अनुगमन

सफल खबर संवाददाता

शुक्रबार, १६ फागुन २०७६, १६ : ४६
भरतपुर महानगरमा सुर्तीजन्य पदार्थ बेचबिखनमा थप कडाइ, आज ३५ पसलमा अनुगमन

भरतपुर । भरतपुर महानगरपालिका कार्यालयले सुर्तीजन्य पदार्थ बिक्री वितरण तथा सेवन नियन्त्रणका लागि थप कडाइ गरेको छ । भरतपुर महानगरको अनुगमन टोली आज भरतपुर महानगरपालिका वडा नम्बर १० स्थित भरतपुर अस्पताल वरपर, हस्पिटल रोड र बीपी कोइराला क्यान्सर अस्पताल वरपरका पसल, होटल र रेष्टुरेन्टहरुमा पुगेको छ । महानगर प्रमुख रेनु दाहालले महानगरको अनुगमन टोलीले सूर्तीजन्य पदार्थ जफत गरी सुर्तीजन्य पदार्थ नियन्त्रण र नियमन गर्ने ऐन, २०६८ को प्रावधानबमोजिम जरिवाना तथा कारवाहीसमेत गरेको बताउनुभयो । 

टोलीले अनुगमन गरेका कुल ३५ वटा पसल, होटल र रेस्टुरेन्टमध्ये १४ वटा होटल, रेष्टुरेन्ट तथा पसलहरुमा विभिन्न किसिमका सुर्तीजन्य पदार्थहरु सूर्ती, गुट्खा, पान मसला र चुरोट बिक्रीका लागि राखेको अवस्थामा भेटेर जफत गरेको छ । 
त्यस्तै, दुईजना व्यक्तिलाई सार्वजनिक स्थलमा धुम्रपान तथा सूर्ती सेवन गरेको अवस्थामा भेटेर तत्काल जरिवानासमेत गरिएको छ । टोलीले अनुगमनको क्रममा अस्पताल, शिक्षण संस्था आदिको परिसरबाट १०० मिटरको दूरीमा कुनै किसिमको सूर्तीजन्य पदार्थ बेचबिखन गर्न नपाउने कानूनी व्यवस्था रहेको भनी सचेतसमेत गराएको छ  ।

अनुगमन टोलीलाई स्थानीय समुदाय तथा व्यापारीहरुको सहयोग र सहजीकरण प्राप्त भएको महानगरले जनाएको छ । तथापि दुई स्थानमा यस कार्यमा अटेर गर्ने र जरिवाना तिर्न नखोज्ने व्यापारीहरुलाई नेपाल प्रहरीले सहजीकरण गरेको छ । 

भरतपुर महानगरलाई सुर्तीजन्य पदार्थरहित बनाउने अभियानको हिस्साअन्तर्गत अनुगमनको कार्य तीव्र पारिएको हो ।  महानगरपालिका कार्यालयले विभिन्न सञ्चार माध्यमद्वारा सार्वजनिक स्थलहरुमा सर्तीजन्य पदार्थ सेवन तथा बिक्री वितरण गर्न प्रतिबन्ध लगाएकोबारे स्थानीय पत्रपत्रिका, रेडियो तथा सामाजिक संजालमा समेत पर्याप्त सूचना सम्प्रेषण गरिरहेको छ ्र

अनुगमन कार्य आगामी दिनहरुमा अझ सक्रिय पारिने भरतपुर महानगरले जनाएको छ । महानगरले सर्तीजन्य पदार्थ निषेधित क्षेत्र बनाउने यस अभियानमा सम्पूर्ण महानगरवासीहरुले साथ दिने समेत विश्वास लिइएकोछ।

प्रतिक्रिया दिनुहोस