सुर्तीजन्य पदार्थ विक्री गर्ने पसलहरुमा भरतपुर महानगरको अनुगमन, ३४ हजारभन्दा बढी जरिवाना संकलन

सफल खबर संवाददाता

विहीबार, १५ फागुन २०७६, १८ : २६
सुर्तीजन्य पदार्थ विक्री गर्ने पसलहरुमा भरतपुर महानगरको अनुगमन, ३४ हजारभन्दा बढी जरिवाना संकलन

चितवन । भरतपुर महानगरपालिका कार्यालयले सुर्तीजन्य पदार्थ विक्री वितरण तथा सेवन नियन्त्रणका लागि अनुगमनको कार्य गरेको छ ।  

आज विहीबार महानगरबाट खटिएको अनुगमन टोलीले भरतपुर महानगरपालिका वडा नम्बर १० स्थित चितवन मेडिकल कलेज र पुरानो मेडिकल कलेज वरिपरिका पसल, होटल र रेष्टुरेन्टमा सुर्तीजन्य पदार्थ विक्री वितरणको अवस्थाको अनुगमन गरेको भरतपुर महानगर कार्यालयले आज एक विज्ञप्ति जारी गरी जानकारी दिएको छ ।

टोलीले अनुगमन गरेका २६ वटा पसल, होटल र रेस्टुरेन्टमध्ये १६ वटा होटल, रेष्टुरेन्ट तथा पसलहरुमा विभिन्न किसिमका सुर्तिजन्य पदार्थहरु फेला पारेर जफत गरेको छ । यिनमा भोला, रजनिगंघा, सूर्ति, शुद्ध प्लस रेड, राज निवास, तुलसी, मेघदूतजस्ता ब्राण्डका गुट्खा र अनेक ब्राण्डका चुरोट रहेका विज्ञप्तिमा उल्लेख छ । 

विज्ञप्तिमा जनाइएअनुसार सुर्तीजन्य पदार्थ नियन्त्रण र नियमन गर्ने ऐन, २०६८ को दफा १७ ले दिएको अधिकार प्रयोग गरी अनुगमन टोलीले तत्काल जरिवाना गरेको हो । अनुगमनको क्रममा १६ वटा पसल लगायतबाट ३४ हजार ८ सय रुपैयाँ जरिवानावापत प्राप्त भएको छ ।

यस्तो अनुगमनको कार्य आगामी दिनमा महानगरले थप सक्रियतापूर्वक गर्ने विज्ञप्तिमा उल्लेख छ । महानगरले कार्यायले भरतपुर महानगरलाई सुर्तिजन्य पदार्थ निषेधित क्षेत्र बनाउने अभियानमा सम्पूर्ण महानगरवासीहरुको सहयोग प्राप्त हुने विश्वास लिएको छ ।

भरतपुर महानगरलाई सुर्तिजन्य पदार्थरहित बनाउने अभियानको हिस्साअन्तर्गत महानगरले अनुगमनको कार्य शुरू गरेको हो । केही समयअघि महानगरपालिका कार्यालयले विभिन्न सञ्चार माध्यमद्वारा सार्वजनिक स्थलहरुमा सुर्तिजन्य पदार्थ सेवन तथा बिक्री वितरण गर्न प्रतिबन्ध लगाएकोबारे सूचना सम्प्रेषण गरेको थियो । 

प्रतिक्रिया दिनुहोस