इलामकाे विश्वमै दुर्लभ जातको चिया लाेप हुने खतरा

पत्रपत्रिकाबाट

विहीबार, १५ फागुन २०७६, ०८ : १७
इलामकाे विश्वमै दुर्लभ जातको चिया लाेप हुने खतरा

file photo

इलाम । इलाममा विश्वमै दुर्लभ हुन लागेको चियाको जात संरक्षण गर्न माग गरिएको छ । चिया भन्नेबित्तिकै इलामलाई नसम्झने कमै हुन्छन् किनभने नेपालको चियाको इतिहास पनि इलाममै छ । इलाम सदरमुकामस्थित इलाम बजारसँगै जोडिएको चिया बगान नै नेपालको चियाको इतिहास बोकेको पुरानो बगान हो ।

वि.सं. १९२० मा तत्कालीन बडाहाकिम गजराजसिंह थापाले रोप्न सुरु गरेको चिया अहिले देशैभर विस्तार हुने तरखरमा छ । जहाँ पहिलो पटक चिया रोपियो, त्यही बगान भने अहिले खण्डहर बन्न थालेको छ । जिल्लावासीले विगतदेखि नै यो बगानलाई चियाको अनुसन्धान केन्द्र बनाइनुपर्ने माग सरकारसँग गरेका छन् । तर, नेपाल सरकारले इलाम चिया बगानसहित सातवटा चिया बगान २०५७ सालमा ५० वर्षका लागि त्रिवेणी सङ्घाई समूहलाई लिजमा दिएपछि यो चिया बगान दिनानुदिन जीर्ण बन्दै गएको छ ।

चियाको इतिहास नाशिने अवस्थामा पुगेपछि इलाम नगरपालिकाले आफ्नो छैटौँ नगर सभाबाट सरकारलाई इतिहास जोगाउन आग्रह गरेको छ । नगर सभाले चियाको इतिहास बचाउनकै लागि इलाम चिया बगान नगरपालिकालाई हस्तान्तरण गरिदिन आग्रहसमेत गरेको छ ।

आइतबार सम्पन्न नगर सभाले इलाम चिया बगानमा रहेको ऐतिहासिक र पुराताŒिवक सम्पदाको संरक्षण गर्दै चिया सङ्ग्रहालय र अध्ययनन, अन्वेषणको केन्द्रका रूपमा स्थापना गर्न नेपाल सरकारलाई माग गर्ने निर्णय गरेको इलाम नगरपालिकाका प्रवक्ता ठाकुर श्रेष्ठले बताउनुभयो ।

डेढ सय वर्षअघि चीनबाट ल्याएर रोपिएको यहाँको चिया विश्वमै दुर्लभ हुन लागेको जात रहेको चियाविज्ञ सोनाम पाल्जोर लामा बताउनुहुन्छ । यो चियाको वैज्ञानिक नाम ‘क्यामेलिया साइनेसिस’ हो । लामाले भन्नुभयो, “ओरिजिनल क्यामेलिया साइनेसिसचाहिँ अहिले इलाम चिया बगानमा मात्रै छ । यहाँको पनि तीन–चार सेक्सनमा मात्रै यो जातको चिया छ, जसको मुना नै रातो पलाउँछ । ” विश्वमै दुर्लभ बन्दै गएको यो चियाको संरक्षणमा कसैले ध्यान नदिएको उहाँ बताउनुहुन्छ ।

तत्कालीन प्रधानमन्त्री जङ्गबहादुर राणालाई चिनियाँ सम्राट्ले उपहारका रूपमा पठाएको चिया इलामका बडाहाकिम गजराजसिंह थापाले इलाम सदरमुकाममा खेती सुरु गरेको इतिहास छ । यसरी सुरु भएको चिया बगान निजीकरण भएपछि पछिल्ला दिनमा नासिँदै गएको इलामका इतिहासकार युद्धप्रसाद वैद्य बताउनुहुन्छ । चिया कारखानामा भएका पित्तलजडित मेसिनहरू पनि अचेल नभएको उहाँको भनाइ छ । गोरखापत्र दैनिकमा खबर छ । 

प्रतिक्रिया दिनुहोस