गैंडाकोटमा पिस पार्कको लोकप्रियता बढ्दै, डेटिंगदेखि ध्यान साधना गर्ने एउटै उत्तम थलो

प्रकाश सिग्देल

बुधबार, १४ फागुन २०७६, १८ : २०
गैंडाकोटमा पिस पार्कको लोकप्रियता बढ्दै, डेटिंगदेखि ध्यान साधना गर्ने एउटै उत्तम थलो

नवलपुर । गैंडाकोट ७ मा रहेको ओम शान्ति पिस पार्कको लोकप्रियता बढ्दै गएको छ । आध्यात्ममा रम्न चाहानेलाई मात्र नभै बाहिरी सुन्दरतामा दंग पर्न चाहानेहरुका लागि पनि यो पार्क अहिले लोकप्रिय बनेको छ । 

बिशेष गरी पछिल्लो समय यो पार्कमा पुगेर फोटो खिच्नेहरुको जमात समेत बढेको बताइएको छ । ब्रहमकुमारी राजयोगले सञ्चालन र व्यवस्थापन गरेको यो पार्कमा किशोर किशोरीदेखि वृद्ध वृद्धाहरु समेत जाने गरेका छन् । ब्रहमकुमारी राज योग सेन्टरले त्यहाँ ध्यान तथा योगसँगै व्यवस्थित रुपमा बगैंचा निर्माण गरी आकर्षक बनाएपछि त्यो क्षेत्रमा बाहिरी थकानबाट मुक्त भई आनन्दको अनुभुति प्राप्तिका लागि पनि सर्वसाधारण जाने गरेका छन् । विशेष गरी विद्यालय विदाको समयमा भने साना साना बालबालिकाहरु मनोरन्जनका लागि पुग्ने गरेका छन् । 

बालबालिकालाई खेल्ने सामाग्रीहरुसँगै त्यहाँको मनोरम र आकर्षक दृश्यहरुले लोभ्याउने गरेको छ । गैंडाकोट ८ कि दिव्या सुवेदीले यो ठाउँ निकै आकर्षक भएकाले विदाको समयमा यहाँ घुम्न आउने गरेको बताइन । साथिभाइहरुसँग स्कुल विदा हुँदा अधिकांस समय यहीं आएर रमाइलो गर्ने गरेको उनको भनाइ छ । त्यस्तै रिया लामाले यो पिस पार्क सबै मानिसका लागि उपयुक्त भएको बताइन् । यहाँ युवा युवतीहरु डेटिंग गर्न देखी वृद्धवृद्धाहरु ध्यान गर्न र भक्तजनहरु पूजा आरधनाका लागि आउने गरेको उनको भनाइ छ । 

पार्क परिसरमा भगवान शिवको मुर्ती निर्माण गरिएको छ जसमा पूजा गर्न शिवरात्रीमा मेला नै लाग्ने गरेको स्थानीयहरु बताउँछन् । करिव १० कठ्ठाभन्दा बढी क्षेत्रफलमा फैलिएको यो पार्क निकै आकर्षक रहेको छ । यहाँ हरेक दिन बिहान र बेलुका ध्यान तथा साधना हुने गरेको छ भने बेलाबेलामा विशिष्ठ व्यत्तिहरुलाई सहभागी गराई आध्यात्मका बारेमा ज्ञान प्रदान समेत गर्ने गरिएको छ । पार्कमा दैनिक दर्जनौं मानिसहरु अवलोकन र ध्यान गर्न आउने गरेको पार्कको नेतृत्व गर्दै आउनुभएकी ब्रहमकुमारी कमलाले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस