‘वामदेवलाई प्रधानमन्त्री बनाउन संविधान संशोधन हुन्न’

पत्रपत्रिकाबाट

मंगलबार, १३ फागुन २०७६, ०७ : ०७
‘वामदेवलाई प्रधानमन्त्री बनाउन संविधान संशोधन हुन्न’

काठमाडौँ । राष्ट्रियसभा सदस्यलाई प्रधानमन्त्री बन्‍ने बाटो खोल्न सत्तारुढ नेकपाको सचिवालयले तीन सदस्यीय संविधान संशोधन कार्यदल गठन गर्‍यो । शनिबार बसेको सचिवालय बैठकले वरिष्ठ नेता माधवकुमार नेपालको संयोजकत्वमा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ र केन्द्रीय सदस्य खिमलाल देवकोटा सदस्य रहेको कार्यदल गठन गरेको थियो । 

पार्टी उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभामा लैजाने वातावरण बनाउन नेकपाले उक्त कार्यदल गठन गरेको आइतबार मात्रै खुलासा भयो। संघीय संसदमा झन्डै दुई तिहाइको बहुमत प्राप्त नेकपाले संविधान संशोधन कार्यदललाई गुपचुप राख्‍न खोजेको थियो। तर, २४ घण्टा नबित्दै कार्यदल गठन भएको कुरा बाहिरियो।

नेकपाले पार्टी विधान संशोधन गरेर वामदेव गौतमका लागि उपाध्यक्ष पद बनाएको थियो। तर, संविधान संशोधन गरेर उनलाई प्रधानमन्त्री बनाउन कार्यदल गठन गरिएको समाचार बाहिरिएसँगै नेकपा नेतृत्व आन्तरिक र बाह्य विवादमा फसेको छ। सोमबार बिहान संयोजक नेपालले सदस्य तोकिएका दुवै नेतालाई आफ्‍नो निवास कोटेश्वरमा बोलाएका थिए।

नेम्वाङ र कानुनविद् तथा संविधानसभा सदस्य देवकोटाले जुन उद्देश्य राखेर कार्यदल गठन गरिएको हो त्यसअनुसार काम गर्न नसकिने नेपाललाई बताइसकेका छन्। बैठकमा नेम्वाङ र देवकोटाले जनतालाई थाहा नदिएरै संविधान संशोधन जस्तो विषयमा कार्यदल गठन गरेको भन्दै सदस्य बन्‍न अस्वीकार गरेका थिए। प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको एजेन्डा बोकेको नेकपाले राष्ट्रियसभा सदस्यलाई प्रधानमन्त्री बन्‍ने बाटो खोल्ने काम गर्न नसकिने नेम्वाङ र देवकोटाले बताएका थिए।

पारदर्शिता र शासकीय स्वरुपलाई लिएर पार्टीको लक्ष्य स्मरण गराउँदै नेता नेपाललाई पनि कार्यदलमा नबस्‍न सुझाव दिएर फर्किएको नेम्वाङले बताए।प्रतिनिधिसभामा बर्दिया निर्वाचन क्षेत्र नम्बर १ बाट पराजित गौतमको संसद प्रवेशको भरमग्दुर प्रयास जारी छ। प्रत्यक्ष निर्वाचित सांसदलाई राजीनामा गराएर आफू सांसद बन्‍ने दुईपटकको प्रयासमा असफलता मात्रै भेटेका वामदेवले हेलिकप्टर दुर्घटनामा परी निधन भएका रवीन्द्र अधिकारीको खाली भएको कास्की निर्वाचन क्षेत्र नम्बर २ बाट पनि सांसद बन्‍न चाहना राखे।

तर, त्यहाँ पनि आफ्‍नो पक्षमा जनताले भोट नहाल्ने आँकलन गरेर पछि हटे। कतैबाट आफ्‍नो पक्षमा माहौल बन्ने नदेखेका वामदेव गौतमले राष्ट्रियसभा सदस्यलाई प्रधानमन्त्री बनाउने बाटो खोलेर आफूलाई सांसद बनाउन पार्टीमा दबाब बनाइरहे। संघीय संसदका दुई सदनमा विभेद रहेको र त्यो विभेद अन्त्य नभएसम्म आफू राष्ट्रिय सभामा नजाने उनको अड्डी थियो। सोही अडान बमोजिम माघ ९ गतेको राष्ट्रिय सभा निर्वाचनमा उम्मेदवार नबनेका उनी सांसद बन्ने अर्को प्रयासमा लागेका हुन्। कान्तिपुर दैनिकमा खबर छ । 

प्रतिक्रिया दिनुहोस