हाडनाता करणीका दोषीलाई जन्मकैद

रासस

सोमबार, १२ फागुन २०७६, १९ : ०५
हाडनाता करणीका दोषीलाई जन्मकैद

प्रतिकात्मक फोटो

काठमाडौं । तनहुँ जिल्ला अदालतले हाडनाता सम्बन्धमा भएको बलात्कार घटनाका अभियुक्तलाई जन्मकैदको फैसला सुनाएको छ । जिल्ला न्यायाधीश दुर्गाप्रसाद ढुङ्गेलको आजको इजलासले छोरीलाई जबर्जस्ती करणी गरेको अभियोगमा बाबुलाई जन्मकैदको फैसला सुनाएको हो ।

शुक्लागण्डकी नगरपालिका–८ ढोरफिर्दी बस्ने अभियुक्तलाई जबर्जस्ती करणी र हाडनातामा जन्मकैदको फैसला भएको जिल्ला अदालतका स्रेस्तेदार सुदर्शन खनालले जानकारी दिनुभयो । अभियुक्तविरुद्ध जबर्जस्ती करणी उद्योग तथा हाडनाता करणीमा गत भदौ ५ गते अदालतमा मुद्दा दायर गरिएको थियो । 

लागुऔषध नियन्त्रणमा पहल
पृथ्वीराजमार्गअन्तर्गत तनहुँको मुख्य प्रवेशद्वार आँबुखैरेनीमा मुख्य समस्याका रुपमा रहेको लागुऔषध दुव्र्यसनी रोकथामका लागि प्रहरीले सचेतना कार्यक्रम अगाडि बढाएको छ । राजमार्ग हुँदै लागुऔषध ओसारपसार गर्नेको सङ्ख्या बढ्न थालेको र त्यसले समाजमा नकारात्मक असर पर्ने गरेको भन्दै इलाका प्रहरी कार्यालय आँबुखैरेनीले यसविरुद्ध सचेतना कार्यक्रम सञ्चालन गरेको हो ।

समुदाय–प्रहरी साझेदारी अभियानअन्तर्गत लागुऔषधविरुद्ध प्रचारप्रसार तथा सचेतना कार्यक्रम सञ्चालन गरिएको इलाका प्रहरी कार्यालय आँबुखैरेनीका प्रहरी निरीक्षक बुद्धि सुवेदीले जानकारी दिनुभयो । अभियानअन्तर्गत आज आँबुखैरेनी गाउँपालिकाको सभाहलमा जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, व्यवसायी, विद्यालयका प्रधानाध्यापक, सर्वसाधारण लगायतको उपस्थितिमा लागुऔषध नियन्त्रणसम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ ।

उक्त कार्यक्रममा प्रहरी निरीक्षक सुवेदीले लागुऔषध दुव्र्यसनी, यसको असर, कारण तथा लागुऔषधसम्बन्धी कानूनी व्यवस्था र गाउँपालिकामा लागुऔषधको वर्तमान अवस्थाका बारेमा जानकारी गराउनुभयो । गाउँपालिकाका अध्यक्ष गिरबहादुर थापाले लागुऔषध नियन्त्रणका लागि सबैको सामूहिक प्रयास आवश्यक रहेकामा जोड दिनुभयो ।

प्रतिक्रिया दिनुहोस