शेयर बजारमा नयाँ रेकर्ड

आइतबार, ११ फागुन २०७६, १६ : २६
शेयर बजारमा नयाँ रेकर्ड

काठमाडौं । आइतबार शेयर बजारले नयाँ रेकर्ड कायम गरेको छ । नेप्से परिसूचक साढे दुई वर्ष याताकै उच्च विन्दुमा पुगेको छ भने कारोबार रकम साढे ३ अर्ब भन्दा माथि पुगेको छ । बजारमा लगानीकर्ताले शेयर खरिदचाप बढाउँदा माग र आपूर्तिको सन्तुलन विग्रिन गई नेप्सेमा उच्च वृद्धि भएको छ । 

आइतबार शेयर बजारमा परिसूचक नेप्से ६९ दशमलव ५६ अंकले बढेर १ हजार ५ सय ४ दशमल १४ अंकमा बन्द भएको छ । सेन्सेटिभ परिसूचक पनि १७ दशमलव शुन्य ७ अंकले बढेर ३ सय १७ दशमलव ५ अंकमा बन्द भएको छ । कारोबार रकम पनि ३ अर्ब ६० करोड ८५ लाख २६ हजार ३ सय ५४ रुपैयाँको भएको छ ।

वित्तीय क्षेत्रमा तरलता अभाव हुँदापनि बैंकहरुको ब्याजको आधारदर घटिरहेको र घरजग्गा तथा सवारीसाधानमा जाने लगानी समेत शेयर बजारमा आउँदा शेयरको माग बढेको देखिन्छ । बैंकहरुले अन्य क्षेत्रमा लगानी गर्न नसकेको र शेयर बजारलाई प्राथमिकतामा राख्न थालेपछि बजारमा लगानी बढेको छ । जसको कारण पनि लागनीकर्ता उत्साहित हुँदा कारोबार रकमसँगै नेप्से परिसूचकमा पनि उच्च वृद्धि भएको छ ।

लगानीकर्ता प्रोफेसर डा. मनोहरकृष्ण श्रेष्ठले केही महिनादेखि बजार सकारात्मक बन्दै गएको र अहिले घरजग्गा तथा सवारीसाधनमा जाने लगानी पनि शेयर बाजरमा आउन थालेकाले नेप्सेमा उच्च वृद्धि भएको बताउनुभयो । उहाँले कारोबार रकममा लगातार नयाँ रेकर्ड कायम हुँदै जाँनु र नेप्सेमा पनि बढ्दो अवस्थाको संकेत देखिनुले लगानीकर्तामा आत्मविश्वास बढेकाले माग बढ्न गई नेप्से र कारोबार रकममा उच्च वृद्धि भएको बताउनुभयो ।