नयाँदिल्ली । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प फेब्रुअरी २४ मा भारत आउँदैछन् । उनी गुजरातको अहमदाबादमा आयोजना हुने विशेष कार्यक्रममा सहभागी हुने जनाइएको छ । ट्रम्प भारत आउन अझै ६ दिन बाँकी रहेपनि उनको आन्तरिक सुरक्षामा तैनाथ रहने अमेरिकी सुरक्षाकर्मीका अतिरिक्त ट्रम्पले प्रयोग गर्ने विशेष कार भारतमा आइसकेका छन् ।
अमेरिकी वायुसेनाको विशेष विमानले ट्रम्पको कारका अतिरिक्त सुरक्षाकर्मीको टोलीलाई भ्रमणको एक हप्ता अघिनै भारत ल्याएको हो । ट्रम्पको भ्रमणमा सुरक्षाको कुनै त्रुटि नहोस् भनेर भारतीय सुरक्षाकर्मीले अहमदावादमा विशेष सुरक्षा व्यवस्था लागू गरेका छन् भने ट्रम्पको सुरक्षाका लागि छुट्टै टोलीलाई तैनाथ गरिएको छ ।
ट्रम्पको भ्रमण अवधिमा अहमदावादलाई ‘नो फ्लाइ जोन’ (उडान निषेध क्षेत्र) घोषणा गर्ने तयारीसमेत भएको अधिकारीहरु बताउँछन् । ट्रम्पको सुरक्षाका लागि आकाशमात्र होइन, जमिनमा पनि उत्तिकै सचेतता अपनाइने भारतीय अधिकारीको भनाइ छ ।
आफ्नै कार चढ्नेछन् ट्रम्प
भारतमा भीभीआइपीका लागि सुरक्षाको पूर्ण प्रबन्धसहितका सवारी साधन भए पनि ट्रम्पले भारत भ्रमणका क्रममा आफ्नै कार प्रयोग गर्ने भएका छन् । यस अतिरिक्त ट्रम्पको सुरक्षामा अमेरिकी सुरक्षा एजेन्सी ‘सीआइए’ का करिब २०० एजेन्ट अहमदावाद आइसकेका छन् । उनीहरुले दैनिक अहमदावादको सुरक्षा अवस्था, सम्भावित चुनौती लगायत ट्रम्पले प्रयोग गर्ने बाटो, कार्यक्रम आयोजना हुने स्थल लगायतको निगरानी गर्नेछन् ।
ट्रम्पको कारमा अभेद्य सुरक्षा
विश्वकै शक्तिशाली नेता मानिने अमेरिकी राष्ट्रपतिले प्रयोग गर्ने कार विशेष रुपले डिजाइन गरिएको छ । ‘आर्म्र्ड लिमोजिन’ नाम दिइएको उक्त कार सन् २०१८ मा राष्ट्रपतिको प्रयोगमा सामेल गरिएको हो । यो कारलाई ‘द बिस्ट’ पनि भनिन्छ ।
यो कार विशेष धातुबाट बनाइएको छ जो कुनै पनि बन्दुकको गोली, बम, क्षेप्यास्त्र हमलालाई समेत झेल्न सक्छ । यो कारको झ्याल पोली कार्बोनेटको पाँच तहबाट बनाइएको छ । यसको सिसा यति बलियो हुन्छ कि कुनै पनि बन्दुकको गोलीले यसलाई छेड्न सक्दैन ।
कारको ढोका पनि विशेष प्रकारको हुन्छ । ८ इन्च मोटो आर्मर प्लेटबाट बनाइएको ढोकाले कुनै पनि प्रकारको हमलालाई झेल्न सक्छ । यसको वजन एउटा बोइङ विमानको केबिनको ढोकाजत्तिकै हुन्छ । कारको झ्याल–ढोका बन्द गरिसकेपछि कारभित्र कुनै प्रकारको रसायनिक ग्याससमेत छिर्न सक्दैन ।
ट्रम्पको कारको बडी पनि उत्तिकै मजबुत छ । यसलाई पाँच इन्च मोटो स्टिल, टाइटेनियम, अल्मुनियम र चिनियाँ माटो मिलाएर बनाइएको हुन्छ, जो आगो तथा अन्य कुनै पनि प्रकारका हमलालाई झेल्न सक्छ । यो कारको इन्धन ट्याङ्क पनि जस्तोसूकै हमलालाई झेल्न सक्ने गरी डिजाइन गरिएको छ । गाडीको तल्लो भागमा पनि स्टिलको पाता लगाइएको हुन्छ, जो भूमिगत अवस्थामा राखिएका विस्फोटक पदार्थबाट हुने क्षतिलाई रोक्न सक्छ ।
अमेरिकी राष्ट्रपतिको कारमा चालकका लागि छुट्टै केबिन बनाइएको हुन्छ । चालकले राष्ट्रपतिको कुनै पनि गतिविधि देख्न सक्दैनन् । केविनमा कम्युनिकेशन र जीपीएस ट्रयाकिङ सिस्टम जडान गरिएको हुन्छ, जसको मद्दतमा सुरक्षाकर्मीले राष्ट्रपतिको कारको हरेक सेकेन्डको गतिविधिलाई निगरानी गर्न सक्छन् ।
अमेरिकी राष्ट्रपति चढ्ने कार एक प्रकारले युद्ध ट्याङ्क जस्तै हुन्छ । यो कारमा सुरक्षात्मक प्रबन्धमात्र नभएर आक्रमण गर्न सक्ने हतियारहरुसमेत जडान गरिएको हुन्छ । कारको अघिल्लो भागमा अश्रु ग्यास, ग्रिनेड लञ्चर, नाइट भिजन क्यामेरा जडान गरिएको छ । ‘पम्प एक्सन सट गन’ जस्ता हतियार पनि उक्त कारमा जडान गरिएको हुन्छ ।
गाडीमा अक्सिजन सप्लाइ गर्ने व्यवस्थासमेत गरिएको हुन्छ । यस अतिरिक्त कारमा राष्ट्रपतिको रक्त समूहकै रगतसमेत राखिएको हुन्छ, जो कुनै प्रकारको दुर्घटनामा राष्ट्रपतिलाई रगत दिनुपर्ने अवस्थामा प्रयोग गरिन्छ ।
अमेरिकी राष्ट्रपतिको कार चालक अमेरिकी सिक्रेट सर्भिसका विशेष प्रशिक्षित कमाण्डोले चलाउने गर्दछन् । जस्तोसूकै परिस्थिति र स्पिडमा कारलाई १८० डिग्रीमा मोड्न सक्ने क्षमता भएका अभ्यस्त चालकलाई ट्रम्पको कारको जिम्मा दिइन्छ । ट्रम्पको कारमा एउटा स्याटेलाइट फोन पनि छ, जसको माध्यमबाट उनले जस्तोसूकै परिस्थितिमा अमेरिकी उपराष्ट्रपति र पेन्टागन मुख्यालयमा सम्पर्क गर्न सक्छन् । एजेन्सी
प्रतिक्रिया दिनुहोस
एजेन्सी
मंगलबार, ०६ फागुन २०७६, १५ : ४६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
क्यानाडालाई विमानमा ५० प्रतिशत कर लगाउने ट्रम्पको चेतावनी
ट्रम्पले आफूलाई गरे ‘भेनेजुएलाको कार्यवाहक राष्ट्रपति’ घोषणा
ग्रीनल्याण्ड कब्जा गर्ने ट्रम्पको चेतावनी
इरानमा प्रदर्शनकारी मारिए अमेरिका हस्तक्षेप गर्न तयार : ट्रम्प
शान्ति प्रयासमा कूटनीतिक समन्वय आवश्यक : ट्रम्प
ट्रम्पले फिर्ता बोलाए नेपालसहित ३० देशका राजदुत