जो चिहानबाट निकालिएको श्रीमतीको अवशेषसँग १६ वर्षदेखि सँगै सुतिरहेछन् (भिडियोसहित)

विहीबार, ०१ फागुन २०७६, १५ : ५२
जो चिहानबाट निकालिएको श्रीमतीको अवशेषसँग १६ वर्षदेखि सँगै सुतिरहेछन् (भिडियोसहित)

एजेन्सी । श्रीमतीको मृत्यु सहन नसकेर भियतनामका एक व्यक्तिले उनी गाडेको चिहान खनेर अवशेष निकाले, त्यसलाई प्लास्टर गरिएको मूर्तीभित्र राखे । उक्त मूर्तीसँग उनी विगत १६ वर्षदेखि सुतिरहेका छन् ।

जब ली भानको यस्तो चकित पारिदिने घटना सन् २००९ मा सार्वजनिक भयो, तब धेरैले यो खबर झुटो भएको ठाने । किनभने कसैले आफ्नी श्रीमतीको अवशेष खनेर निकालेको र त्यसलाई घरमा ल्याएर सँगै सुतिरहेको छ भन्ने खबर पत्याउन जो कोहीलाई पनि गाह्रै हुन्छ । तर यो कुरा साँचो हो । आफन्त, छिमेकीले उनको यस्तो क्रियाकलापको  विरोध गरेपनि उनले भने आफ्नी श्रीमतीलाई कतै जान दिएका छैनन् । यो क्रम विगत १६ वर्षदेखि चलिरहेको छ ।

भानको सन् १९७५ मा विवाह भएको थियो । विवाह अघि उनीहरुले एकअर्कालाई चिन्दैनथे । भान, सेनाका जवान थिए । सेनाको जागिरबाट घर फर्किएका बेला निकै सानो उमेरमा नै उनको विवाह भयो । विवाह पछि यी दुईको प्रेम झाङ्गियो, उनीहरुको जीवन निकै खुसी साथ अघि बढिरहेको थियो । उनीहरुले सात सन्तान जन्माए । तर घरबाट टाढा रहेका भानले सन् २००३ मा श्रीमतीको अचानक मृत्यु भएको खबर पाए । उनी घर हानिए तर उनी घर पुग्नु अगावै श्रीमतीको अन्तिम संस्कार गरेर गाडिसकिएको थियो ।

श्रीमतीको मृत्यु भएको सुरुवाती दिनमा ली भानले आफ्नो दिनरात श्रीमती गाडिएकै चिहानमा बिताए । तर केही महिना पछि खराब मौसम र पानी पर्न सुरु भएपछि उनी समस्यामा परे । त्यसपछि उनले श्रीमती गाडिएकै ठाउँमा खाल्डो बनाउने र उनी नजिकै सुत्ने निधो गरे । तर खाल्डो खनेर मृतक श्रीमतीसँगै बुवा सुतेको थाहा पाएका उनका सन्तानले उनलाई चिहानमा सुत्न दिएनन् । तर भानले श्रीमतीलाई आफूबाट टाढा राख्नेबारे सोच्नै सकेनन् ।

एकदिन भानले विचार गरे, यदि उनी श्रीमतीसँग चिहानमा सुत्न सक्दैनन् भने श्रीमतीको अवशेषलाई आफूसँगै घरमा त राख्न सक्छन् नि । सुरुमा उनले चिहान खने, त्यसपछि श्रीमतीको हड्डी जम्मा गरेर ब्यागमा राखे । त्यसपछि उनले महिलाको आकृति दिइएको एउटा खोक्रो मूर्तीलाई सिमेन्ट, प्लास्टर, बालुवा, ग्लूको प्रयोग गरेर बनाए र त्यसभित्र श्रीमतीको अवशेष राखे ।  त्यसपछि  त्यो मूर्तीलाई आफू सुत्ने बेडमा राखे । त्यस दिनदेखि आजसम्म उनी श्रीमतीको अवशेषसँगै सुतिरहेका छन् ।

जब ली भानका सन्तानलाई बुवाको क्रियाकलापबारे थाहा भयो तब उनीहरुले रिसाएर आमालाई अन्तिम पटक बिदा दिएको स्थानमा फिर्ता राखिदिन बुवालाई अह्राए । तर उनका बुवाले श्रीमती छोड्न सकेनन् । उनले श्रीमतीको हड्डी फिर्ता ल्याएको थाहा पाएपछि छिमेकीहरु उनको घरमा पस्दैनन् । कतिले भानले रोग सारेको भन्दै स्थानीय अधिकारीलाई पनि जानकारी दिए । पुलिसले उनलाई सम्झाई बुझाई गरे तर उनले केही गरे पनि मानेनन् । तसर्थ पुलिसले पनि उनलाई केही भन्नै छाडे ।

स्थानीय अधिकारीले भानलाई श्रीमतीलाई पुनः गाडिदिन आग्रह गरे, उनले माने पनि । तर केही समय पछि स्थानीयले भानको घरमा अझै पनि श्रीमतीको अवशेष भएको भन्दै ऊजुरी दिए ।

‘हामीले आफ्नो तर्फबाट जतिसक्दो गरेका हौं तर पुरातनवादी सोच भएका भानलाई सम्झाउनै सकिएन त्यसकारण यो मुद्दा सुल्झिन सकेको छैन,’ हा लाम गाउँका प्रमुख त्रान त्रोङ्ग सानले भने ।

नेट न्यूज भियतनामका अनुसार ली भान पछिल्लो दुई वर्षदेखि ह्विलचेयरमा छन् तर उनी प्रत्येक राती आफ्नी श्रीमती सँगै सुत्न घिस्रिएर भएपनि खाटसम्म पुग्छन् । उनले श्रीमतीको अवशेष राखिएको मूर्तीलाई सधैं सफा गर्छन् र मेकअप गरेर दिनको दुई पटक लुगा फेरिदिन्छन् ।

‘जब मेरी श्रीमती जीवित थिइन् तब उनले कहिल्यै राम्रो लुगा लगाउन पाइनन् त्यसकारण मैले उनको लागि राम्रो लुगा बनाउनुपर्छ । मैले दिनको दुईपटक उनको लुगा फेरिदिन्छु, ’ ली भानले भने । ‘मानिसहरुले मलाई शवको हेरविचार गरिरहेको छ भनेर पागल भन्छन् तर मलाई के विश्वास छ भने उनी सधैं मसँगै छिन् । मेरो मृत्यु नहुञ्जेल म उनीसँगै सुत्नेछु ।’ - अडिटी सेन्ट्रलबाट

प्रतिक्रिया दिनुहोस