चिकित्सकहरुलाई चौध दिनको चुनौती

सूर्यप्रकाश कँडेल

बुधबार, २२ माघ २०७६, १८ : ०१
चिकित्सकहरुलाई चौध दिनको चुनौती

चितवन । विश्वको सबैभन्दा महँगो बियर कोरोनाको नाम एउटा भाइरससँग मिल्छ । त्यही कोरोना भाइरसको नयाँ स्वरुप नोबेल कोरोना भाइरसले दुई महिनाभित्र चार सय ९० जनाको ज्यान लिइसकेको छ । २४ हजार जनामा नोबेल कोरोना भाइरसको संक्रमण पाइएको छ ।

छिमेकी देश चीनको उहान शहरमा पहिलोपटक गत डिसेम्बरमा देखा परेको नोबेल कोरोना भाइरस नेपालका चिकित्सकहरुका लागि पनि टाउकोदुखाईको विषय भएको छ । नेपालमा नोबेल कोरोना भाइरसबाट संक्रमित व्यक्ति एक जना काठमाडौँमा देखिएपनि उनलाई उपचारपछि सञ्चो बनाइएको छ ।

नोबेल कोरोना भाइरस के हो ? यसबाट बच्न के गर्ने ? भन्ने विषयमा बुधबार भरतपुरमा अदब मिडिया नेटवर्कले सम्वाद कार्यक्रम सम्पन्न गरेको छ । सम्वाद कार्यक्रममा सहभागी तीन जना चिकित्सकले नोबेल कोरोना भाइरसबाट संक्रमित वा शंकास्पद बिरामीलाई चौध दिनसम्म सुरक्षित राख्नु पर्ने चुनौती रहेको बताएका छन् । मानव शरीरमा नोबेल कोरोना भाइरस प्रवेश गरेपछि त्यसको लक्षण देखा पर्न दसदेखि चौध दिन लाग्ने भएकोले चौध दिनको चुनौती चानचुने नभएको उनीहरुको भनाइ थियो ।

नेपाल चिकित्सक संघ चितवन शाखाका अध्यक्ष डा. प्रकाश खतिवडाले चितवनमा नोबेल कोरोना भाइरसबाट संक्रमित भएको हुन सक्ने शंकास्पद बिरामी अहिलेसम्म देखा नपरेकोले आत्तिनु पर्ने अवस्था नरहेको बताए । उनले कुनै पनि बेला त्यस्ता बिरामी देखा पर्न सक्ने सम्भावना भएकोले शंकास्पद बिरामीको परीक्षण र उपचारका लागि भरतपुर अस्पतालमा पाँच बेडको आइसोलेसन वार्ड निर्माण गरिएको जानकारी दिए । चीनमा जस्तै गरी नेपालमा नोबेल कोरोना भाइरसको संक्रमण फैलिएमा एकतिहाई जनसंख्या प्रभावित हुन सक्ने भएकोले पूर्वतयारी र सचेतता आवश्यक रहेको उनको भनाइ छ ।

भरतपुर अस्पतालका फिजिसियन डा. भोजराज अधिकारीले नोबेल कोरोना भाइरसले रुघा, खोकी, ज्वरो र निमोनिया गराउने बताए । नोबेल कोरोना भाइरसबाट संक्रमित व्यक्तिमा जटिलता थपिएमा मिर्गौला र कलेजोमा असर पुग्ने तथा भित्री अंगहरुले काम नगरी बिरामीको मृत्यु हुने जानकारी दिए । डा. अधिकारीका अनुसार विश्वमा दुई सय ९१ थरी भाइरस छन् । तीमध्येको एक कोरोना भाइरस सबैभन्दा पहिले सन् १९६० मा पत्ता लागेको जानकारी दिँदै डा. अधिकारीले कोरोना भाइरसको सातौँ रुप नोबेल कोरोना भाइरस चीनको उहान शहरका कामदारमा गत डिसेम्बरमा पहिलोपटक संक्रमण देखा परेको बताए ।

भरतपुर अस्पतालका पूर्वमेडिकल सुपरिटेण्डेण्ट डा. कृष्ण पौडेलले नेपाल भौगोलिक रुपमा चीनसँग जोडिएको हुनाले सचेत रहन आवश्यक रहेको धारणा सुनाए । उनले नोबेल कोरोना भाइरसबाट बच्न हातको सरसफाईमा बढी ध्यान दिनु पर्ने बताए । हातबाट ब्याक्टेरिया र भाइरस सर्ने बताउँदै उनले भने, साबुन दलेर पानीले हात धुने बानी बसालौँ । रोगहरुबाट बचौँ । चितवन पोल्ट्रीको बास्केट र तेस्रो पर्यटकीय गन्तव्य भएको हुनाले नोबेल कोरोना भाइरसविरुद्ध पूर्वतयारीका साथै जनचेतना जगाउन आवश्यक रहेको विचार व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस