‘न्यारोबडी विमान खरिदमा अनियमितता’

पत्रपत्रिकाबाट

बुधबार, २२ माघ २०७६, ०७ : ४७
‘न्यारोबडी विमान खरिदमा अनियमितता’

file photo

काठमाडौँ  । संघीय संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध समितिले न्यारोबडी विमान खरिदमा कानुनी प्रक्रिया नमिलेको भन्दै सरकारलाई छानबिन गर्न मंगलबार निर्देशन दिएको छ । समितिकी सभापति पवित्रा निरौला खरेलले त्यही समयमा अन्य एयरलाइन्सले खरिद गरेका जहाजको मूल्यसूचीसमेत झिकाई अध्ययन–अनुसन्धान र कारबाही गर्न निर्देशन दिएको जानकारी दिइन् । 

समितिले २०७५ मंसिरमा नेकपाका सांसद दीपकप्रकाश भट्टको नेतृत्वमा पाँच सदस्यीय छानबिन उपसमिति गठन गरेको थियो । सुरुमा एक महिना म्याद पाएको समितिले पाँच महिनापछि २०७६ वैशाखमा प्रतिवेदन समितिलाई बुझाएको थियो ।

तर खरिदबिक्रीमा संलग्न नेपाली सरकारी अधिकारी तथा एजेन्टलाई ३ लाख ४० हजार युरो ‘घूस’ दिएको युरोपियन कम्पनी एयरबसको खुलासाबारे दी काठमान्डु पोस्टले मंगलबार समाचार प्रकाशन गरेपछि मात्र समितिले सरकारलाई छानबिनका लागि निर्देशन दिएको हो ।न्यारोबडीपछिका दुइटा वाइडबडी विमान खरिदमा समेत अनियमितता भएको भनी संसद्को सार्वजनिक लेखा समितिले गत वर्ष अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई अनुसन्धान गरी कारबाही अघि बढाउन निर्देशन दिएको थियो ।

एयरबससँग विवरण मागिएकामा जवाफ नआएको भन्दै अख्तियारले अनुसन्धान अघि बढाउन सकेको छैन । लेखा समितिले वाइडबडी खरिदमा ४ अर्ब ३५ करोड ५६ लाख रुपैयाँ ‘अनियमितता’ भएको निष्कर्ष निकालेको थियो । हालसम्म देखिएको कागजातबाट अनियमितताको अंक यकिन गरिएको भन्दै उपसमितिले एयरबस र बिचौलिया हाई–फ्लाई–एक्सबीचको कारोबार रकम खुले अनियमितता बढ्ने स्पष्ट पारेको थियो । कान्तिपुर दैनिकमा खबर छ । 

प्रतिक्रिया दिनुहोस