काठमाडौं । मन्त्रिपरिषद्को नियमित बैठक आज बस्दैछ । दिउँसो ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने मन्त्रिपरिषद् बैठकले गृह सचिव नियुक्तिको तयारी गरेको प्रधानमन्त्री कार्यालय स्रोतले बताएको छ ।
गृह सचिव प्रेमकुमार राईले शुक्रवार राजीनामा दिएपछि आइतबार उनको बिदाई गरिएको थियो । गृह सचिवका लागि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव यादवप्रसाद कोइराला, काठमाडौं महानगरपालिकाका कार्यकारी अधिकृत केदार न्यौपाने, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सचिव महेश्वर न्यौपाने, पर्यटन मन्त्रालयका सचिव केदारबहादुर अधिकारीलगायत दौडमा छन् ।
कर्मचारीहरु गृहमा जान लालायित हुन्छन् । पावरफुल हुने भएकाले पनि गृह सचिवका लागि सचिवहरुको आन्तरिक दौड निक्कै नै हुने गरेको हुन्छ । अहिले पनि आकांक्षी सचिवहरु प्रधानमन्त्री देखि तालुकदार मन्त्री सम्मका कोठा धाउने प्रयास गरिरहेको स्रोतले बताएको छ ।
उच्च स्रोतका अनुसार, गृहमा महेश्वर न्यौपानेले बाजी मार्ने सम्भावना बलियो देखिएको छ । न्यौपाने गृह सचिव भएमा सूर्य गौतम अख्तियार सचिव हुन सक्ने चर्चा पनि चलेको छ ।
प्रधानमन्त्रीले गृहमा आफ्नो विश्वासिलो मान्छेलाई सचिव बनाएर पठाउन चाहेका छन् । राई पनि प्रधानमन्त्रीका अति विश्वासप्राप्त सचिव थिए ।
प्रतिक्रिया दिनुहोस