कुलमानको नाममा प्राधिकरणमा धन्दा !

कुलमानले कमाएका इज्जत ध्वस्त हुने खतरा

पत्रपत्रिकाबाट

शनिबार, १८ माघ २०७६, २० : १५
कुलमानको नाममा प्राधिकरणमा धन्दा !

काठमाडौं । ‘काम गर्ने कालू मकै खाने भालू’ नेपाली समाजको प्रसिद्ध लोकोत्ति हो यो । यस्तै भएको छ नेपाल विद्युत् प्राधिकरणमा । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको नाम लिएर पछिल्लो दिनमा प्राधिकरणका खुलमखुल्ला लुटपाटका घटना हुन थालेका छन् । 
कुलमानको व्यक्तित्वलाई भजाएर केही कामचोर, चाकडीबाज कर्मचारीले उठती धन्दा चलाएको तथ्य सार्वजनिक भएको छ । कुलमानको वरीपरी रहेका व्यक्तिहरु नै उनलाई बद्नाम गराउन लागिपरेका छन् । त्यसमा उनकै  सचिवालयमा रहेका कर्मचारी समेत क्रियाशील रहेको आरोप लागेको छ । यो आरोप अरुले होइन, प्राधिकरणका क्रियाशील सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को तर्फबाट आधिकारिक टे«ड यूनियनमा निर्वाचित नेपाल राष्ट्रिय कर्मचारी संगठनले लगाएको हो । 

आधिकारिक कर्मचारी टे«ड यूनियनका अनुसार कुलमानको नाम लिएर केही कामचोर कर्मचारीले संस्थाकै बदनाम गराउन लागिपरेका छन् । तर यो कुरा थाहा पाएर पनि थाहा नपाएको जसो गरी कुलमान चुप बसिरहेको समेत उनीहरुको भनाइ छ । प्राधिकरणले नयाँ नेतृत्व पाएपछि लोडसेडिङ हटाएको तथा विद्युत् प्रणालीमा सुधार गरेको विषय दिनको घाम जत्तिकै छर्लङ्गै छ । तर सोही कामलाई भजाउँदै उठती धन्दा चलाउने, घुस खाने काममा उनकै नजिकका रहेका भनिएहरु परिचालित भएका छन् । 
विशेषगरी कुलमानको नजिक रहनेमा पर्छन्, प्राधिकरणका प्रवक्ता प्रबल अधिकारी, यस्तै भर्खरै उपकार्यकारी निर्देशक भएका मनोज सिलवाल, प्रशासन महाखाशाका तुलाराम गिरी । यस्तै अर्का सचिवालयमै कार्यरत छन् शिव अधिकारी । यस्तै कुलमानले पत्याएका अर्का उपकार्यकारी निर्देशक हुन् हरराज न्यौपाने । यी सबै कुलमानको नाम बेचेर कमाऊ धन्दामा लागेको आधिकारिक टे«ड यूनियनको आरोप छ ।

उनीहरुले कुलमानलाई देखाएर उद्योगी तथा व्यवसाियीबाट पैसा उठाएको, कर्मचारीको सरुवा बढुवामा चलखेल गरेको तथा एमडी सरलाई भनिदिन्छु भन्दै शाारीरिक रुपमा अशक्त रहेका कर्मचारीमाथि समेत ज्यादती गरेको पाइएको छ । नागरिकलाई दिएको राहतको नाममा कुलमानलाई भजाएर उठती धन्दा चलाएको उनीहरुको आरोप छ । 
सरकारले देशमा शून्य भष्ट्राचारको नीति लागू गरेपनि प्राधिकरणमा उक्त कुरा लागू हुन सकेको छैन । भष्ट्राचार गर्नेप्रति प्रधानमन्त्री केपी शर्मा ओली कडा रुपमा उत्रिएको भनिए पनि सरकारी स्वामित्त्वको नेपाल विद्युत् प्राधिकरणमा अहिले पनि बिजुली लिन उद्योगहरुले प्रतिमेगावाट रु १० लाख घुस बुझाउनुपर्ने अवस्था कायमै रहेको बताइन्छ । कुलमानलाई धेरैले भगवानको रुपमा अति गरेका छन् । तर कुलमानको नामलाई लिएर धन्दा चलाउनेलाई कारवाही गर्ने आँट उनले गर्न सकेका छैनन् । सर कत्ति राम्रो, कत्ति राम्रो काम भन्दै चाकडीबाजाले कुलमानलाई सिध्याइसकेका छन्, तर उनी सोही चाकडीबाजको कुरामा रमाएर बसेको उनका जानकारहरु बताउँछन् । 

विद्युत् माग गर्ने उद्योगीहरुले प्रतिमेगावाट १० लाख रुपैयाँ घुस दिएर विद्युत् माग गरेको गुनासो गरेका छन् । विद्युत् दिने निकायमा छन् हरराज न्यौपाने । उनी कुलमानको विश्वासपात्र हुन् । यस्तै विद्युत् माग स्वीकृत गर्नेमा छन्, प्रबलराज अधिकारी । उनी समेत कुलमानको भित्रिया हुन् । उनीहरुले विद्युत् माग गर्ने उद्योगीसँग घुस माग्ने गरेको उद्योगी खुलमखुल्ला बताउँछन् । ‘कुलमानले घुस नखाएर भयो र उनका कर्मचारीले दिन दहाडै घुस मागेका छन्, यसलाई हामीले सुशासन भन्ने कि कुशासन ?’ एक उद्योगीले भने । वीरगन्जमा उद्योग चलाउन खोजेका एक उद्योगीलाई त प्राधिकरणको हेटौडा डिभिजन कार्यालयका प्रमुखले प्रतिमेगावाट २० लाखको दरले घुस माग गरेको गुनासो गरेका छन् । भार प्रेषण केन्द्रका कर्मचारीदेखि, वितरण केन्द्र र ग्रिडका कर्मचारीले समेत उद्योगीलाई पेल्ने समय यही हो भन्दै घुस माग गर्ने गरेको पाइएको छ । 

यस्तै वीरगन्ज औद्योगिक करिडोरमा उद्योग दर्ता गरेका एक उद्योगीले उद्योगमा  ७ मेगावाट बिजुली माग गर्दा प्रतिमेगावाट रु १० लाखका दरले प्राधिकरणका कर्मचारीलाई एकमुष्ठ ७० लाख घुस दिएको बताउने गरेका छन् । ती उद्योगीले आफ्नो उद्योगमा बिजुलीको लाइन ल्याउनका प्राधिकरणका कर्मचारीहरुलाई घुस मात्रै नभई अरु सेवा सुविधा समेत दिनुपर्ने बताएका छन् । 
उद्योगीहरुका अनुसार जुन  उद्योगीले प्रति मेगावाट १० लाख रुपैयाँ घुस दिन सक्दैन, उसलाई प्राधिकरणले बिजुली दिँदैन नै भन्दा हुन्छ भन्ने जस्तो भएको छ । जानकारहरुका अनुसार जो जसले लाइन पाइएका छैनन्, उनीहरुले घुस दिएनन्, जसका कारण उनीहरुको उद्योगले विद्युत् पाएका छैनन् । 

कुलमानले सुशासन र आर्थिक पारदर्शिताको विषयलाई भाषणमा प्रमुख जोड दिने गरेपनि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पछिल्लो ६ महिनामा ४० प्राधिकरणका कर्मचारीलाई घुस सहित पक्राउ गरेको छ । सामान्य विद्युत्को मिटर लिन होस्, लोड स्वीकृति लिन होस वा अन्य कुनै समस्या समाधानका लागि निवेदन दिँदा नै किन नहोस् प्राधिकरणका कर्मचारीलाई घुस दिनै पर्छ । घुस लिनेमा कुलमानलको नजिकका भनिएका तथा उनका सहयोगी भनिएकाहरु नै विशेष गरी सक्रिय छन् । कुलमानले कमाएको इज्जत समेत उनीहरुले पानीमा बगाइदिएका छन् । 
अहिले प्राधिकरणमा १ मेगावाट बराबर रु १० लाख घुस बुझाउनु पर्ने दर नै निर्धारण भइसकेको उद्योगीहरु बताउँछन् । प्राधिकरणले तोकेको घुस बुझाउने उद्योगलाई लाइन लिन कुनै समस्या नभएको ती उद्योगीबीचमा स्थापित नै भएको छ । प्रधानमन्ी ओली, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनको नाम लिएर समेत प्राधिकरणका उच्च कर्मचारीले घुस उठाउने गरेको पाइएको छ । 

एक उद्योगीले गुनासो गर्ने शैलीमा भने ‘मसँगै अर्का एक उद्योगी पनि नयाँ उद्योगका लागि लाइन माग्न जानु भएको थियो, तर अहिलेसम्म लाइन पाउनुभएको छैन । जबकी मेरो उद्योगको उत्पादन बजारमा आइसकेको छ ।’ उहाँले प्राधिकरणका कर्मचारीलाई किन घुस दिने, यो नियमानुसार पाउने कुरा हो भन्दै बस्दा काम हुन सकेको छैन ।

प्राधिकरणलाई घुसबापत पैसा बुझाउन ढिला गर्नु भनेको आफ्नो उद्योग ढिला सञ्चालन गर्नु हो भन्ने निष्कर्षमा उद्योगी पुगेका छन् ।  घुस नबुझाएका दजनौ उद्योगीलाई अहिले पनि प्राधिकरणले लाइन दिएको छैन । विभिन्न बहाना देखाउने र अल्झाउने मात्रै गरेको नयाँ उद्योगका लागि लाइन माग्न निवेदन दिएका एक अर्का उद्योगी बताए ।
‘प्राधिकरणको सबै प्रक्रिया पूरा गरिसकेको भएपनि  विद्युत् दिन आलटाल गर्दै बारम्बार घुस माग्ने गरेको पाइएको छ । प्राधिकरणको सबै  प्रक्रिया पूरा भइसकेको छ भन्छ, तर लाइन दिँदैन । अब घुसको प्रक्रिया मात्रै पूरा गर्न बाँकी छ, अर्का उद्योगीले गुनासो गरे । जन आह्वनमा खबर छ । 

तर, प्राधिकरणका कुलमानको दाहिने हात भन्दै बसेका उपकार्यकारी निर्देशक हरहरराज न्यौपानेले केही लाइनको क्षमता वृद्धि गर्नुपर्ने भएकाले केही समय लाइन दिन नसकिएको भन्दै काइते जवाफ दिने गर्छन् । उनले कुलमानको नाममा घुस उठाएको विषयमा आफूलाई थाहा नभएको बताउने गरेका छन् ।  उनले प्राधिकरणले घुस नलिइ विद्युत नै दिँदैन रे भन्ने उद्योगीको गुनासोमा कुनै सत्यता नभएको समेत जिकिर गरेका छन् ।  विशेष गरी बारा–पर्सा, विराटनगर, भैरहवालगायतका औद्योगिक करिडोमा स्थापना भएका उद्योगले बिजुली लिन सकेका छैनन् ।  प्राधिकरणले विद्युत नदिएका कारण कतिपय उद्योगले डिजल जेनेरेटरबाट उत्पादन गरिरहेका छन् भने कतिपयले उत्पादननै गर्न सकेका छैनन् । एक उद्योगीका अनुसार दुई वर्षअघि बिजुलीको क्षमता बढाउन दिएको निवेदनको अहिलेसम्म सुनुवाई भएको छैन । कारण ती उद्योगीले प्राधिकरणका कर्मचारीलाई घुस दिनुपर्छ भन्ने विषमा थाहा पाए वा पाएनन् भन्ने प्रश्न सतहमा आएको छ । कुलमानलाई भगवान बनाउनेहरु नै प्राधिकरणलाई धरासायी बनाउन लागे भन्दै आधिकारिक यूनिनयले त्यस्तो प्रवृत्तिको भण्डाफार गर्ने बताएको छ । 

नेपाल विद्युत प्राधिकरणभित्रको आधिकारिक ट्रेड युनियन कर्मचारी संगठनले कार्यकारी निर्देशक कुलमान घिसिङ तथा व्यवस्थापन विरुद्ध आन्दोलनको घोषणा समेत गरेको छ । आधिरिक ट्रेड युनियनको भूमिका खुम्च्याउन खोजेको र व्यवस्थापनसँग भएको समझदारी बेवास्ता गरेको भन्दै आन्दोलनको घोषणा गरेको यूनियनले जनाएको छ । सत्तारुढ दल नेकपा निकटसमेत रहेको कर्मचारी युनियनले आफूले रचनात्मक सहयोग गर्दागर्दै व्यवस्थापनले पेल्ने काम गरेको आरोप लगाएको छ ।

मानवीय पक्षलाई समेत ख्याल नगरी कर्मचारीहरूको सरुवा गर्ने र आफू निकटकालाई राम्रो ठाउँमा सार्ने तथा बढुवा गर्ने व्यवस्थापनमा निरंकुश शैली बढिरहेको आरोप छ । घिसिङको नाम उल्लेख नगरी युनियनले उनीविरुद्ध भण्डाफोर सुरु गरेको जनाएको छ । कुलमानको नाम लिएर धन्दा चलाउनेहरु विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा समेत उजुरी परेको छ । त्यत्तिमात्रै प्राधिकरण सञ्चालक समितिका अध्यक्ष समेत रहेका ऊर्जामन्त्री वर्षमान पुन समक्ष समेत उजुरी परेको छ । उद्योगीहरुले मन्त्री पुन समक्ष गुनासो पनि गरेका छन् । 
 

प्रतिक्रिया दिनुहोस