चीनमा नेपाली विद्यार्थीको रेस्क्यु गर्न जहाज तयारी अवस्थामा : भट्टराई

सफल खबर संवाददाता

शनिबार, १८ माघ २०७६, १७ : ३१
चीनमा नेपाली विद्यार्थीको रेस्क्यु गर्न जहाज तयारी अवस्थामा : भट्टराई

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले चीनमा रहेका नेपाली विद्यार्थीको रेस्क्युु गर्न जहाज तयारी अवस्थामा रहेको बताएका छन्।

कोरोना भाइरस र यसबाट पर्यटन क्षेत्रमा परेको असरका विषयमा शनिबार पर्यटन बार्डमा भएको छलफलमा मन्त्री भट्टराईले चीनमा अध्ययनरत विद्यार्थीहरुलाई फिर्ता गर्न २ वटा जहाज तयारी अवस्थामा रहेको बताएका हुन्। पराराष्ट्र मन्त्रालयले चिनियाँ सरकार र दूतावससँग प्रभावित क्षेत्रका विषयमा जानकारी लिइरहेको जानकारी गराउँदै भट्टराईले अहिलेसम्म नेपाली विद्यार्थीहरु सुरक्षित रहेको बताए।

चीनको सबैभन्दा बढी प्रभावित क्षेत्र वुहानमा १९० जना नेपाली विद्यार्थी अध्ययनरत छन्। अन्य देशहरुले आफ्ना नागरिकहरुलाई फिर्ता बोलाइरहेको सन्दर्भमा भट्टराईले नेपाली विद्यार्थीहरुको उद्धारका लागि २ वटा जहाज तयारी अवस्थामा रहेको जानकारी गराएका हुन्। ‘आवश्यक पर्‍यो भने २ वटा जहाज नेपाल एयरलाइन्स र हिलमालय एयरलाइन्स तयारी अवस्थामा छन्। दुवै एयरलाईन्ससँग मैले कुरा गरेर तयारी अवस्थामा रहनु भनेको छु। कुनै पनि बेला सरकारले रेस्क्यु गर्छ’, उनले भने।

बाहिर फैलाइएजस्तो भयावह अवस्था नभएको चिनियाँ अधिकारीहरुले विश्वस्त बनाएको उनले बताए। कतिपय शक्तिराष्ट्रहरुले आफ्नो स्वार्थपूर्तिका लागि भयावह अवस्था सिर्जना गर्ने, आतंक मच्चाउने गरेको उनको भनाइ थियो। ‘यहि होला भन्न त सकिन्न तर धेरैले आफ्नो स्वार्थपूर्तिका लागि यस्तो प्रचार गर्ने गर्दछन्। हामी जोगिनुपर्छ’, उनले भने।

नेपाल आउने पर्यटक र आउन चाहाने पर्यटकहरुलाई नेपाल सुरक्षीत र ठीक छ भन्ने सन्देश प्रवाह गर्न पनि उनले आग्रह गरे। विभिन्न पर्यटकिय स्थलहरुमा अझै प्रचार सामग्री अपुग भएको उल्लेख गर्दै भट्टराईले ठमेल, लुम्बिनीलगायतका क्षेत्रमा नेपाली, अंग्रेजी र चिनियाँ भाषाका प्रचार सामग्री पठाउने तयारी भइरहेको बताए।

प्रतिक्रिया दिनुहोस