के हो नोभेल कोरोना भाइरस ? यसबार कसरी बच्ने.....

सफल खबर संवाददाता

विहीबार, १६ माघ २०७६, १० : ३१
के हो नोभेल कोरोना भाइरस ?  यसबार कसरी बच्ने.....

काठमाडौँ । नोभेल कोरोना भाइरसको अत्याधिक संक्रमण भएको चिनको उवान प्रान्तबाट आएका एक व्यक्तिमा रुघाखोकी र ज्वरो देखिएपछि अन्य बिरामी झैँ आफैँ टेकु अस्पतालको ओपिडीमा उपचार गराउन आएका थिए । 

उनको नमूना परीक्षणका लागि विश्व स्वास्थ्य सङ्गठनको हंगकंग प्रयोगशालामा पठाइएको थियो । उक्त परीक्षणमा उनीमा नोभेल कोरोना भाइरस संक्रमण भएको पुष्टि भयो । यो पुष्टी भएको माघ ९ गते हो । उनी अहिले घर फर्किसकेका छन् ।

नेपालमा गत पुस १६ गते  उनी चिकित्सकको सम्पर्कमा आएका थिए । पुस २८ गते भर्ना  भएका माघ ९ गते उक्त भाइरस रहेको पुष्टि भएको थियो । भाइरस देखिएपछि सरकारले उच्च सतर्कता अपनाउन थालेको छ । अलिहेसम्म सम्पर्कमा आएका १२ जना मध्ये एक जनामा मात्रै भाइरस देखियो । एक जना निगरानीमा छन् भन अन्यलाई पठाईसकिएको छ ।  

संक्रमण बढ्नसक्ने आशङ्कामा सरकारले विभिन्न क्षेत्रमा डेस्क स्थापना गरेर संक्रमण फैलन नदिन आवश्यक तयारी थालिसकेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयले रोकथामकै लागि विभिन्न क्षेत्रमा डेस्क स्थापना गरेको छ । भने विमानस्थलमा चौबिसैघण्टा आगन्तुकको स्वास्थ्य परीक्षण भइरहेको छ । 

त्रिभूवन अन्तरराष्ट्रिय विमानस्थलमा आगन्तुकको परीक्षणका लागि चौबिसै घण्टा स्वास्थ्यकर्मीको टोली खटाइएको मन्त्रालयका प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठले बताए । सरकारले यसबाट आत्तिनुपर्ने अबस्था नरहेको जनाएको छ । तर सतर्कता अपनाउन आग्रह गरेको छ । 

कस्तो असर गर्छ ?
नोभेल कोरोना भाइरसले रुघाखोकीदेखि गम्भीर प्रकारको स्वाशप्रश्वाशको समस्या निम्त्याउन सक्ने चिकित्सकले बताएका छन् । शुरुमा जनावरबाट मान्छेमा आएको यो भाइरस पछिल्लो समयमा मान्छेबाट मान्छेमा सरेको विश्वस्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले पुष्टि गरिसकेको छ । 

कोरोना भाइरस विभिन्न सात खालमा छ । सन् २००३ मा चाइनामा सार्स कोरोना देखा परेको थियो । त्यसपछि सन् २०१२ मा मर्स कोरोना देखियो । अहिलेको ३१ डिसेम्बरमा चीनको हुवान शहरबाट नोभेल कोरोना भाइरस देखिएको हो । 

मुख्य लक्षण
यो रोगको मुख्य लक्षण भनेको ज्वरो आउनु, सास फेर्न अफ्ठेरो हुनु र छातीमा सङ्क्रमण हुनु हो । रुघाखोकी जस्तै लक्षण देखिने भाइरस श्वासप्रश्वास, एक जनाले प्रयोग गरेको सामान वा रुमाल प्रयोग गर्दा, हात मिलाउँदा सर्नसक्ने चिकित्सकको भनाइ छ ।

यसको नियन्त्रणका लागि तत्कालै पहिचान गर्ने, त्यसलाई व्यवस्थापन र निदानात्मक उपाए अपनाउने, संक्रमित व्यक्तिको नजिकका मान्छे खोजेर उनीहरुको निगरानी गर्ने जस्ता उपाए अपनाउनुपर्नेमा चिकित्सकको जोड छ । धेरै भिडमा नजाने, व्यक्तिगत सुरक्षा र सरसफाइमा ध्यान दिने, सकेसम्म हात नमिलाउने, मिलाएमा साबुन पानीले राम्ररी हात धुनसमेत चिकित्सकले भनेका छन् । 

विश्वको अबस्था 
विश्वका १४ मुलुकमा यो भाइरस देखिएको छ । देखिएका झण्डै पाँच हजार मध्य सबैभन्दा बढी चिनका छन् । अहिलेसम्म १०६ जनाको मृत्यु भइसकेको पुष्टि भएको छ । चीन बाहिर भियतनाममा मात्रै मान्छेबाट मान्छेमा सरेको पुष्टि भएको तर मान्छेबाट मान्छेमा कति समयमा र कुन परिमाणमा सर्छ भन्ने कुरा अझै यकिन छैन ।

कति अवधिमा रोग सर्छ भन्ने प्रष्ट नभए पनि सामान्यतः दुई देखि १५ दिनभित्रमा लक्षण देखिने जनाइएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार बढी संक्रमण फैलिएको चीनको उवान प्रान्तमा १ सय ९० जना नेपाली रहेको तथ्याङ्क आएको छ । जसमध्ये १ सय जना सम्पर्कमा आइसकेका छन् । 

शुरु कहिलेबाट भयो ?
सन् २००२ मा चाइनामा सार्स कोरोना भएको थियो । त्यसको पुष्टि २००३ मा विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले ग¥यो । त्यहाँ आठ हजार जनामा संक्रमण भएकोमा ७ सय ७४ को मृत्यु भएको थियो । मृत्युदर बढी थियो । सन् २०१२ मा साउदी अरबमा मर्स कोरोनाको संक्रमण हुँदा मृत्युदर ३५ प्रतिशत थियो । अहिले तीन प्रतिशत मृत्युदर हुनु सामान्य भएको मन्त्रालयको दाबी छ । सन् २०१५ मा दक्षिण कोरिया पनि देखिएको थियो । 

सामान्य रुघा लाग्दैमा कोरोना भनेर डराउनु पर्दैन 
चिकित्सकले सामान्य रुघाखोकी लागेका पनि टेकु अस्पतालमा आउने क्रम बढेको भन्दै संक्रमण क्षेत्रका मानिसलाई मात्रै विशेष निगरानी जरुरी रहेको बताएका छन् । अन्यले नियमित नजिकका स्वास्थ्य संस्थामा उपचार गराए हुने चिकित्सकको भनाई छ । तर यसको सावधानी अपनाउन भने आग्रह गरेको छ । अहिले सामान्य ज्वरो र रुघा लागेका मान्छेसमेत कोरोना भन्दै आउने क्रम बढेको छ । 

प्रतिक्रिया दिनुहोस