नेकपा केन्द्रीय समिति बैठक आजबाट

सचिवालय सदस्यबाहेक समूह विभाजन गरी प्रतिवेदनमाथि छलफल गराइने, १५ समूहमा २९ जनाका दरले रहने

सफल खबर संवाददाता

बुधबार, १५ माघ २०७६, ०९ : २४
नेकपा केन्द्रीय समिति बैठक आजबाट

file photo

काठमाडौं । सत्तारुढ दल नेकपाको केन्द्रीय समिति बैठक आजबाट शुरु हुदैंछ । पार्टी एकताको २१ महिनापछि बैठक पहिलो पटक आजबाट बस्न लागेको हो । यस अगाडी एक पटक बैठक बसेपनि त्यो मात्र दल निर्वाचन आयोगमा दर्ताका लागि केन्द्रीय सदस्यहरुको नागरिकता र हस्ताक्षर संकलनका लागि मात्र थियो ।

त्यो बैठकमा प्रधानमन्त्री र पार्टी अध्यक्ष प्रचण्डले सम्बोधन गरेर केन्द्रीय नेताहरुलाई बिदा गरेका थिए । त्यसयता नेकपाको केन्द्रीय समिति बैठक बस्न सकेको छैन् । विधानतः ६-६ महिनामा बस्नुपर्ने केन्द्रीय समिति बैठक २१ महिनासम्म पार्टी नेतृत्वले नबोलाएपछि पार्टीमा तिव्र असन्तुष्टि बढेको थियो । यही बीच आजबाट केन्द्रीय समिति बैठक राष्ट्रिय सभा गृहमा बस्न लागेको हो ।

बैठकमा केन्द्रीय समिति र आमन्त्रित स्थायी समिति सदस्य गरी ४४७ जना सहभागी हुनेछन् । प्रतिवेदनमाथी छलफलका लागि समुह विभाजन गरि गर्न लागिएको छ । ठूलो संख्याको केन्द्रीय समिति रहेका कारण समुह विभाजन गरि छलफल गराउनु पर्ने बाध्यता आईलागेको नेताहरुको भनाई छ ।

समुह विभाजन गर्दा सचिवालय सदस्यलाई सहभागी गराइने छैन् । स्थायी समिति र केन्द्रीय समिति सदस्यहरुको मात्र समुह विभाजन गरि बैठकमा राजनीतिक प्रतिवेदन र विधान संसोधन प्रस्तावमाथी छलफल गराउन लागिएको छ । १५ वटा समुहमा २९ जनाका दरले समुह विभाजन गर्न लागिएको छ ।

समुह अल्फावेटका आधारमा विभाजन गर्न लागिएको र त्यसो गर्दा पार्टी एकतामा अझै पनि हुन नसकेको अन्तरघुलन नेताहरुका बीचमा हुने नेकपाले जनाएको छ । विभाजित समुह मध्ये ८ वटा समुहको राष्ट्रिय सभा गृह, ४ ओटाको पार्टी कार्यालय धुम्बाराही र ३ वटाको पेरिसडाँडा सम्र्पक कार्यालयमा समुह छलफल चलाइने योजना नेकपाले बनाएको छ ।

बिहान ११ बजेवाट शुरु हुने बैठकको उदघाटन प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओलीले गर्नेछन् । त्यसपछि शुरु हुने बैठकमा कार्यकारी अध्यक्ष प्रचण्डले पार्टीको राजनीतिक प्रतिवेदन, महासचिव विष्णु पौडेलले संगठनात्मक तथा विधान संसोधन प्रस्ताव पेश गर्नेछन् । त्यसमा समुह विभाजन गरेर छलफल गराइने छ । बैठक १९ गतेभित्र सक्ने तयारी नेकपाको छ । 
 

प्रतिक्रिया दिनुहोस