चितवन । नारायणी नदी किनारमा माघ ११ गतेदेखि सुरु भएको कोटिहोम महायज्ञले गति लिन सकेको छैन । मंगलबार बिहान १० बजेसम्म पनि एक सय आठ हवन कुण्डहरु खाली थिए । भक्तजनहरुको चहलपहल सुरु भएकै थिएन । मुख्य हवन कुण्डमा भने उद्घाटनकै दिनदेखि हवन चलिरहेको छ ।
कोटिहोम महायज्ञका प्रमुख वाचक एवं डिजाइनर बालयोगेश्वर उर्फ विजय भण्डारीका काला कर्तुतहरु मिडियामा आउन थालेपछि कोटिहोम महायज्ञ नै विवादमा तानिएको हो । आयोजक संस्था भरतपुर २३ स्थित पशुपति मन्दिर व्यवस्थापन समितिलाई यो महायज्ञ "नखाउँ भने दिनभरिको शिकार, खाउँ भने कान्छो बाबुको अनुहार" भनेजस्तो भएको छ ।
कोटिहोम महायज्ञमा प्रमुख वाचकको व्यासमा बसेर गुरु वशिष्ठले प्रवचन दिइरहेका छन् । उनको सहयोगीको रुपमा श्रवण गुरु र शेखर शर्मा पौडेलले प्रवचन दिने गरेका छन् । दैनिक एक हजार दुई सय जनाको हाराहारीमा भक्तजन आएको आयोजकको दाबी छ । वास्तविक भक्तजनको संख्या योभन्दा निकै कम छ ।
पत्रकार सम्मेलनमा चर्काचर्की
कोटिहोम महायज्ञमा प्रमुख वाचक फेरिएको विषयमा जानकारी दिन भन्दै मंगलबार बिहान महायज्ञस्थलमा आयोजित पत्रकार सम्मेलनमा आयोजक र पत्रकारबीच चर्काचर्की भएको छ । महायज्ञ आयोजकले जुन विषयमा पत्रकार सम्मेलन आयोजना गर्ने भनेका थिए, त्यस विषयमा कुनै जानकारी आएन । आयोजकले उल्टै पत्रकारहरुलाई "धर्मविरोधी" भन्दै बालयोगेश्वर उर्फ विजय भण्डारीका काला कर्तुतहरु मिडियामा आउनु भनेको "धर्ममाथिको आक्रमण" हो भनेपछि पत्रकारहरुले त्यसको प्रतिकार गरेका थिए ।
"कुनचाहिँ मिडियाले महायज्ञ हुनु हुँदैन, हिन्दू धर्म खराब हो भनेर लेखेका छन् ?" भनेर पत्रकार दीर्घाबाट कडा स्वरमा प्रश्न गरिएपछि आयोजकले "हामीले पत्रकारहरुलाई धर्मविरोधी भनेका छैनौँ" भनी प्रष्टीकरण दिएका थिए । बालयोगेश्वरलाई महायज्ञ आयोजकले अलग गरिसकेको छैन । उनी फरार नरहेको र उनको बारेमा मिडियामा आएका कुराहरुको छानबिन गर्न उनलाई प्रमुख वाचकको व्यासमा नराखिएको आयोजकको भनाइ छ ।
बालयोगेश्वरलाई ब्याक गराउने प्रयास
महायज्ञ आयोजक मूल समितिका संयोजक लालबहादुर दवाडीले महायज्ञलाई चुस्तदुरुस्त पार्ने प्रयास भइरहेको बताए । उनले बालयोगेश्वरलाई ब्याक गराउने कुरा छलफलको क्रममा रहेको जानकारी दिए । "हामी अहिले अत्यन्त पीडामा छौँ" उनले भने, "बालयोगेश्वरलाई ब्याक गराउने कुरा छलफलको क्रममा छ ।"
गतवर्ष पुसमा पार्वतीपुरस्थित भानु माध्यमिक विद्यालयले आयोजना गरेको महायज्ञमा बलयोगेश्वर उर्फ विष्णु प्रपन्नाचार्य उर्फ विजय भण्डारी प्रमुख वाचक थिए । उनले महायज्ञ आयोजक समितिबाट आफ्नो पारिश्रमिक वापत पच्चीस लाख रुपैयाँ लिएका थिए । एउटै महायज्ञबाट पच्चीस लाख रुपैयाँ लिएका बलयोगेश्वर उर्फ विष्णु प्रपन्नाचार्य उर्फ विजय भण्डारीले आफ्नो वार्षिक आम्दानी एक लाख रुपैयाँमात्र भएको बताउँदै कर छल्दै आएका छन् ।
सफल खबरलाई निस्तेज पार्ने धम्की
बलयोगेश्वर उर्फ विष्णु प्रपन्नाचार्य उर्फ विजय भण्डारीले कर छलेको विषयमा सफल खबर डट कमले समाचार प्रकाशित गरेपछि महायज्ञ आयोजक समितिले आक्रोश व्यक्त गरेको छ । महायज्ञका प्रवक्ता दिलिप न्यौपानेले पत्रकार सम्मेलनमै सफल खबरलाई पूर्णरुपमा "निस्तेज पार्ने" धम्की दिएका छन् । उनले तीन दिन अगाडिसम्म कान्तिपुरले ७२ लाख रुपैयाँको बार्गेनिङ गरेको र नपाएको झोँकमा समाचार लेखेको आरोप लगाए ।
महायज्ञका प्रवक्ता न्यौपानेले पैसाको कारणले मिडियाले उचाल्ने र थेचार्ने काम गरेको आरोप लगाए पनि त्यसलाई प्रमाणित गर्न सकेनन् । उनले बलयोगेश्वर उर्फ विष्णु प्रपन्नाचार्य उर्फ विजय भण्डारी फरार रहेको भन्ने समाचारको पनि खण्डन गरे । यसले के पुष्टि गर्छ भने महायज्ञ आयोजक समिति कथित बालयोगेश्वरलाई महायज्ञबाट अलग गराउने मनस्थितिमा छैन । जबसम्म महायज्ञबाट बालयोगेश्वर अलग हुने छैनन्, तबसम्म महायज्ञ सफल हुने देखिँदैन ।
प्रतिक्रिया दिनुहोस
सूर्यप्रकाश कँडेल
मंगलबार, १४ माघ २०७६, १४ : ३९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रास्वपामा विवाद, विवाद चर्किनुमा यी हुन् दुई कारण
नयाँ सरकारको नेतृत्वबारे जंग्गीअड्डाबाहिर विवाद
माओवादीसँगको एकता प्रयासले नेसपामा चर्कियो विवाद
५२ संवैधानिक निकायको नियुक्ति विवादमा आज पनि सुनुवाइ
धनुषामा चोक नामकरण विवाद- प्रहरीले गोली चलायो, तीनजना घाइते
पाथीभरा केबलकार निर्माण विवाद : दुई वार्ता टोलीबिच छलफल सुरु