कोटिहोम महायज्ञको नाममा ठगी धन्दा

प्रमुख वाचक बालयोगेश्वर उर्फ विजय भण्डारीको एउटा झुठ यस्तो छ

भण्डारीले भने, "म अहिले घाटामा छु, मेरो कमाई वर्षको एक लाख रुपैयाँ पनि छैन, मैले कर तिर्नै पर्दैन"

सूर्यप्रकाश कँडेल

सोमबार, १३ माघ २०७६, १७ : ३२
प्रमुख वाचक बालयोगेश्वर उर्फ विजय भण्डारीको एउटा झुठ यस्तो छ

चितवन । गतवर्ष पुसमा पार्वतीपुरस्थित भानु माध्यमिक विद्यालयले आयोजना गरेको महायज्ञमा बलयोगेश्वर उर्फ विष्णु प्रपन्नाचार्य उर्फ विजय भण्डारी प्रमुख वाचक थिए । उनले महायज्ञ आयोजक समितिबाट आफ्नो पारिश्रमिक वापत पच्चीस लाख रुपैयाँ नगद लिएका थिए । एउटै महायज्ञबाट पच्चीस लाख रुपैयाँ नगद लिएका बलयोगेश्वर उर्फ विष्णु प्रपन्नाचार्य उर्फ विजय भण्डारीले पत्रकार सामु भने आफ्नो वार्षिक आम्दानी एक लाख रुपैयाँमात्र भएको बताएका छन् ।

एउटै महायज्ञबाट २५ लाख रुपैयाँ पारिश्रमिक लिने अनि आफ्नो वार्षिक आम्दानी एक लाख रुपैयाँ पनि छैन भन्ने कथित बालयोगेश्वर महाराज अर्थात् उनै विजय भण्डारीको अडियो रेकर्ड सफल खबरले प्राप्त गरेको छ । 

उक्त अडियोमा भण्डारीले आफूले लगाएको लुगा समेत भक्तजनबाट प्राप्त भएको बताएका छन् । आफूले हवाइजहाजमा यात्रा गर्दा टिकट अरुले नै काटिदिने, गाडीमा इन्धन अरुले नै हालिदिने गरेको पनि उनको दाबी छ ।

कोटिहोम महायज्ञ सुरु हुनुभन्दा दुई दिनअघि गत बिहीबार नारायणी नदी किनारमा आयोजित पत्रकार सम्मेलनमा भण्डारीले यस्तो भनेका छन्,

"व्यक्तिगत आम्दानीमा केही पनि छैन । आम्दानी भए पो कर तिर्नु ? आम्दानी नै छैन, झन् खर्च बढी छ । कहाँ लगेर देखाउने मैले खर्च ? अहिले म ऋणमा छु । अहिले म लसमा छु । मेरो आम्दानी भएको छैन । मेरो वार्षिक एक लाख रुपैयाँ पनि कमाई छैन । अब आम्दानी नै नभएको... एक लाख रुपैयाँभन्दा तल कर छुट गरिदिएको छ नेपाल सरकारले । त्यही भएर अहिले बालयोगेश्वर महाराज भन्ने व्यक्ति कर तिर्न सक्ने अवस्थामा छैन । यदि यो महायज्ञबाट ठूलो दक्षिणा दिनु भएछ भने र भविष्यमा कमाएछु भने कति प्रतिशत तिर्ने सरकारको नियम छ, त्यो कुनै पनि हालतमा यहाँहरुको अगाडि कर कार्यालयमा गएर तिर्ने प्रतिवद्धता जानकारी गराउन चाहन्छु ।"

आफ्नो खर्च व्यवस्थापनबारे उनले अगाडि भनेका छन्, "अहिलेसम्म जति हिँड्छु म, जुन व्यवस्थापन गर्नु पर्छ, मेरो परिवारबाट, घरपरिवारबाट, आफन्त, भक्तजन, टिकाटाला...। प्लेनमा चढ्न गयो भने एउटाले टिकट काटिदिन्छ । गाडीमा हिँड्न परे अर्कोले तेल हालिदिन्छ । यिनी कपडाहरु सबै मागेकै हो मेरो, सबै । एउटा एउटा भक्तहरुले दिएका हुन् । त्यसो भएको हुनाले अहिले कर तिर्न सक्ने अवस्था नभएको हुँदा उल्टै सरकारले मलाई यत्रो अभियान चलाइराखेको छ भ्रमण वर्षको रुपमा, मैले कर तिर्नभन्दा पनि नेपाल भ्रमण वर्षबारे सरकारले गर्नु पर्ने काम ।" 

सरकारलाई आफूले कर तिर्नेभन्दा पनि उल्टै सरकारले आफूलाई ५० लाख रुपैयाँ दिनु पर्ने आसय व्यक्त गर्दै उनले भनेका छन्, "विद्यालय बनाउने काम हामीले गर्ने, अस्पताल हामीले बनाउने, दाहसँस्कार हामीले गराउने, सामुदायिक भवन हामीले बनाउने, ज्येष्ठ नागरिक आश्रम हामीले बनाउने, नेपाल भ्रमण वर्षको प्रचार, ल हेर्नुहोस्, भगवान बुद्धको प्रचार, लुम्बिनीको प्रचार, भ्रमण वर्षको प्रचार त्यहाँ टाँगेका छौँ । तपाईंहरुले यत्रो गर्नु भएछ, हामीले गर्नु पर्ने काम । बरु दस बीस लाख, पचास लाख यो यज्ञलाई हामी दिन्छौँ भन्न पर्नेमा अहिले झन् उल्टै करको बारे दिन पर्ने अवस्था हो भने त झन् त्यहाँ हामी कष्ट अवस्थामा हुन्छौँ ।"

अढाई मिनेट लामो उक्त अडियोको अन्ततिर उनले भनेका छन्, "बालयोगेश्वर महाराजले यति पैसा यहाँबाट लगेका छन्, त्यसको कर तिरेनन् भन्ने आएछ भने त्यसमा म तयार छु, तिर्ने पनि छु । नतिरेको खण्डमा त्यसको सजाय भोग्न पनि तयार छु ।"

कर छल्न माहिर भण्डारी

आन्तरिक राजश्व कार्यालय भरतपुरमा बालयोगेश्वर महाराज वा विजय भण्डारीको नामबाट कुनै पनि किसिमको कर तिरेको अभिलेख भेटिँदैन । गतवर्ष पुसमा पार्वतीपुरस्थित भानु माध्यमिक विद्यालयले आयोजना गरेको महायज्ञमा उनले प्राप्त गरेको २५ लाख रुपैयाँको उनले कर तिरेका छैनन् । 

यो त एउटा उदाहरणमात्र हो, दुनियाँलाई विभिन्न प्रलोभनमा ठग्न पल्केका भण्डारीले आजसम्म उनी प्रमुख वाचक भएवापत महायज्ञबाट प्राप्त कुनै पनि आम्दानीमा कर तिरेका छैनन् ।

यदि सरकारले प्रभावकारी छानबिन गर्ने हो भने आफ्नो आम्दानी सामाजिक कार्य र ट्रष्टमा लगाएको देखाएर भण्डारीले कर छल्दै आएको प्रमाणित हुने जानकारहरुको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस