उपेन्द्र निवास हरिसिद्दिमा किन भयो त्यो जमघट ?

सफल खबर संवाददाता

मंगलबार, १४ माघ २०७६, ०९ : ०३
उपेन्द्र निवास हरिसिद्दिमा किन भयो त्यो जमघट ?

काठमाडौं । नेकपा नेतृत्वको सरकारबाट बाहिरिएका बाबुराम भटटराई र उपेन्द्र यादवको पार्टी अहिले के गर्दै होलान् ? सत्ताधारी दल नेकपाको पेलाईमा परेको समाजवादी पार्टीले यो बीचमा सरकारमै रहदा समेत पहिले आफ्नो पार्टीको भागमा परेको प्रदेश प्रमुख मात्र गुमाएन, सरकारबाट बाहिरिएपछि राजपासँग तालमेल गरेर सत्ताधारी दल नेकपाले अवलम्वन गरेको चलाखीका कारण राष्ट्रिय सभा चुनावमा प्रदेश २ को एक सिट पनि गुमाईसकेको छ ।

दिनप्रतिदिन सत्तारुढ दल नेकपाकै कारण पार्टी संरचनामा परेको चोट पछि समाजवादी पार्टी झण्डै १८ महिनाको सरकारको बसाईवाट वाहिरिएको थियो । सरकारमा रहेको दल नेकपाले आफ्नै पार्टीभित्र खेल्न थालेको निष्कर्समा पुगेको समाजवादी पार्टीले पनि सत्तारुढ दल नेकपालाई जवाफ फर्काउन अनेक जुक्ति निकाल्न थालेको छ ।

यो बीच उसले पार्टीको आन्तरिक संरचना बलियो बनाउने, सत्तारुढ दल नेकपाभित्रै खेल्ने रणनीति अख्तियार गरेको छ । सक्दासम्म सरकार बाहिर रहेका शक्तिहरुका बीचमा गठजोंड बनाउने योजनामा समेत उपेन्द्र यादव र बाबुराम भटटराईले मेहनत थालेको समाजवादीका एक नेताले बताए ।यसका लागि उनीहरुले नेकपाभित्रका केही मधेस केन्द्रीत नेताहरुसँगको भेटघाटलाई तिव्रता दिन थालेका छन् । त्यही क्रममा उपेन्द्रले १२ माघको राती आफ्नै निवासमा केही मधेसी नेताहरुको गोप्य जमघट गरेको खुलेको छ ।

उपेन्द्र यादवको निवास हरिसिद्धीमा उनले पार्टी र नेकपाका केही मधेस केन्द्रीत नेताहरुका बीचमा जमघटको मेसो मिलाएका थिए । त्यहाँ उनले नेकपाका नेताहरु मात्रिका यादव र प्रभु शाहसम्मलाई समेत निम्ताएर समसामायिक राजनीतिका विषयमा छलफल गरेको स्रोत बताउँछ ।

उनले किन अहिले आप्mनै निवासमा त्यस्तो भेटघाटको वातावरण निर्माण गरिरहेका छन् ? समाजवादीका एक नेता भन्छन्,–‘यो पार्टी नीति अनुसारको भेटघाट हो । अन्य राजनीतिक दलका योजना र आफनो पार्टीका रणनीति बनाउन साथ पुग्ने उदेश्यले उहाँ (उपेन्द्र)ले भेटघाट थाल्नुभएको हो ।’

राजपासँगको पार्टी एकतामा ब्रेक लागेपछि उपेन्द्र आफै राजनीतिक वातावरण निर्माणका लागि पहलकदमीमा जुटेका हुन् । राजपासँगको पार्टी एकता अन्तिम चरणमा पुग्दै गर्दा राजपाको एउटा प्रस्तावले एकता भांडिएको थियो ।

त्यस्तो प्रस्ताव थियो, वरियतामा महन्थ ठाकुर पहिलो, डा. बाबुराम भटटराई दोश्रो र अशोक राईलाई तेश्रो वरियता मानेर हिमाल, पहाड, तराई मिलाउने, मधेसी, खस ब्राम्हण र आदीवासी जनजाति मिलाउने र अन्य नेताहरुको त्यसपछिको वरियता मिलाउने राजपा नेताहरुको प्रस्तावले उपेन्द्र पार्टी एकताबाट पछि हटे्का थिए ।

राजपा नेताहरुले उपेन्द्रलाई रोक्नका लागि डा. बाबुराम भटटराईले नयाँ शक्ति निर्माण गर्दा नेतृत्वका लागि गरेको अभ्यासकै शैलीमा राजपा नेताहरुले मधेसी, खस ब्राम्हण र जनजाति नेताहरुको क्लष्टर बनाई नेतृत्व निर्माण गर्नुपर्ने प्रस्ताव गरिदिएका थिए ।

यस्तो प्रस्तावपछि उपेन्द्र पार्टीमा कमजोर बन्ने निश्र्कष राजपा नेताहरुको थियो । त्यसपछि नै एकता वार्ता भाडिएको थियो । तर फेरि पछिल्लो पटक उपेन्द्रले आफ्नै पहलकदमीमा बढाएको राजनीतिक भेटघाटको तिव्रतालाई भने निक्कै अर्थपूर्ण रुपमा हेर्नुपर्ने विश्लेषण राजनीतिक वृत्तमा हुन थालेको छ ।

राजपासँग भांडिएको एकता प्रक्रियापछि राजपा र नेकपा बीच अहिले बढ्दो हिमचिम छ । प्रदेश २ को राष्ट्रिय सभा चुनाव पनि नेकपाले चलाखीपूर्ण ढंगले राजपासँग मिलेर लडेको छ । सभामुख चुनावमा पनि राजपा नेताको समर्थन लिएर नेकपाले राजपासँगको हिमचिम देखाएको छ । उपसभामुखमा समेत राजपालाई आश्वासन देखाएर नेकपाले अहिले आफुतिर तान्ने प्रयास गरिरहेको छ । 

सरकारमा सहभागी गराउन पनि नेकपाले गरिरहेको प्रयासलाई असफल पार्ने र सकभर नेकपा र राजपाबीचको बाक्लिदो सम्बन्धमा दरार कसरी पैदा गर्न सकिन्छ भन्ने रणनीतिमा अहिले समाजवादी पार्टी लागेको छ । सरकारको नेतृत्वमा रहेको नेकपा र राजपाबीच बढ्दो हिमचिम पछि प्रदेश २ को सरकारको समिकरणमा पर्न सक्ने असरका बारेमा पनि उपेन्द्र बाबुराम चिन्तित देखिएका छन् ।

सकभर राजपासँग नेकपाको सम्बन्धमा दरार उत्पन्न गराउन सकिए प्रदेश २ मा आप्mनो पार्टीको नेतृत्वको सरकार टिकिरहने, मधेसमा आफनो पार्टीको पकड बलियो बनिरहने बुझाईमा समाजवादी पार्टी देखिन्छ । जसले गर्दा पनि नेकपा राजपा सम्बन्धमा दरार पैदा गराउन समाजवादी पार्टी लागेको छ । सोही कारण पनि उपेन्द्र निवासमा हुन थालेको भेटघाटलाई अर्थपूर्ण रुपमा लिनुपर्ने उनी निकट नेताहरु नै बताउँछन् ।

आजभोलि किन उपेन्द्रले आफनो पार्टी इतर दलका नेताहरुसँगको भेटघाटलाई महत्व दिईरहेका छन् ? अनि किन उनले आफ्नै निवासमा लन्च र डिनरका लागि अन्य पार्टीका खासगरी मधेस निकट नेताहरुको जमघट गराईरहेको छन् ? यसभित्र उपेन्द्रको अर्थपूर्ण राजनीति लुकेको हुन सक्ने अनुमान लगाउन थालिएको छ ।
 

प्रतिक्रिया दिनुहोस