विप्लवको पार्टीले यस्तो बनायो जेल नीति

पार्टीमा आँकलन गरेभन्दा बढी आत्मसुरक्षावादी, आत्मसमर्पणवादी र पलायनवादी समस्याहरु देखा परेको निश्कर्ष

सफल खबर संवाददाता

सोमबार, १३ माघ २०७६, ११ : २८
विप्लवको पार्टीले यस्तो बनायो जेल नीति

काठमाडौं । प्रतिबन्धित नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाले पार्टीभित्र आँकलन गरेभन्दा बढी आत्मसुरक्षावादी, आत्मसमर्पणवादी र पलायनवादी समस्याहरु देखा परेको निश्कर्ष निकालेको छ । पार्टीका कार्यकर्तादेखि क्षेत्रिय ब्यूरो सदस्य, केन्द्रीय सदस्य देखि पोलिटब्यूरो सदस्य भईसकेका नेताहरुसम्म पनि यो समस्या देखा परेको भन्दै त्यसलाई तत्काल सुधार नगरे पार्टी कमजोर बन्ने निश्कर्ष निकालेको छ ।

सफलखबरलाई प्राप्त विप्लवको गोप्य राजनीतिक दस्तावेजमा त्यस्तो समस्या औंल्याईएको पाईएको छ । पार्टीभित्र देखा परेका यस्ता कार्यशैलीगत कमजोरी सुधार नगर्ने हो भने पार्टीलाई निक्कै ठूलो क्षति पुग्न सक्ने आंकलन पनि विप्लवको राजनीतिक दस्तावेजमा उल्लेख गरिएको छ ।

कतिपय जिल्लामा पार्टी नेता कार्यकर्ता प्रक्राउ परेपछि अहिले पनि कागज गर्ने, आत्मसमर्पण गर्ने र दलाल पूँजीवादी सत्ताको पहरेदार बन्न पुगेको सरकारी पार्टीमा प्रवेश गर्ने, सरकारसँग मिलेर क्रान्तिका विरुद्ध भ्रमछर्न र दमन गर्न आउने घोर आत्मसमर्पणवादी प्रवृत्तिहरु देखिने गरेको भन्दै पार्टीले जेल नीति बनाएर जानुपर्नेमा विप्लवले जोड गरेका छन् ।

सरकारले गत वर्ष चैत २८ मा प्रतिबन्ध लगाएपछि पार्टी पंक्तिमा कार्यशैलीगत कमजोरीहरु निकै गंभीर देखिएको भन्दै विप्लवले आफ्नो जिम्मेवारी अनुरुप आचरण नगर्ने, शान्तिकालकै जसरी हल्काफुल्का तरिकाले काम गर्ने, आफ्नो कार्यक्षेत्रभन्दा बाहिर माथिल्लो समितिलाई जानकारी नगरी अनावश्यक सम्बन्ध राख्ने, गाडीहरुको प्रयोगमा ध्यान नदिने, रुट सेल्टरको प्रयोगमा लापर्वाही गर्ने, कार्यक्रमहरु गर्दा अव्यवस्थित र बिना सूरक्षा बस्ने, विरोधीहरुसँगका भेटघाटलाई सस्तो बनाउने, फोनको प्रयोगमा कमजोरी गर्ने जस्ता समस्याहरु केन्द्रीय सदस्यहरुदेखि जिल्लासम्मका नेताहरुमा व्यापकरुपले देखिएको दस्तावेजमा उल्लेख छ ।

यस्तो छ अब विप्लवको पार्टीको जेल नीति
क) केन्द्रीय समितिका सदस्यहरुले आफ्नो पार्टी हैसियतको परिचय खुलस्तरुपले दिने तर सैन्य हैसियत नदिने । पार्टीको गोपनीयता पुरै रक्षा गर्ने, कुनै पनि विरोधी पार्टीसँग साँठगाँठ गरेर या कागज गरेर नछुटने, आत्मसमर्पण नगर्ने बरु जेल बसेर पार्टी नीति अनुरुप संघर्ष गर्ने  ।
ख) आरबीएम, डीसीएमहरुले राज्यले थाहा पाएको छ भने पार्टी जिम्मेवारी खोल्ने, थाहा पाएको छैन भने पार्टी सदस्य भएको बताउने, पार्टीको गोपनीयता पुरै रक्षा गर्ने, विरोधी पार्टीसँग साँठगाँठ नगर्ने, आत्मसमर्पण नगर्ने, कागज गरेर नछुटने ।
ग) जनसेनाका सदस्य सामान्य अवस्थामा समातिएमा सामान्य कार्यकर्ता या समर्थक भएको, युवा संगठनको सदस्य भएको बताउने, कार्यवाहीबाट समातिएमा जनसेनाको सदस्य भएको मात्र बताउने । दुशमनसँग आत्मसमर्पण नगर्ने, कागज गरेर नछुट्ने ।
घ) जवसका कार्यकर्ता समातिएमा आफू जवसको सदस्य भएको बताउने, आत्मसमर्पण नगर्ने ।
ङ) समर्थक जनता गिरफ्तार परेमा आफू सामान्य जनता मात्र भएको बताएर छुट्न पाइने तर आत्मसमर्पण नगर्ने ।
च) गिरफ्तार परेका सबै कमरेडहरुले छुटने संभावना देखिएको अवस्थामा बाहेक धरौटी नराख्ने । जेलमा बसेर कानूनी संघर्ष गर्ने ।
छ) जेल नीति विपरित गएर पार्टीलाई क्षतिपुग्ने कार्य गरेमा जिम्मेवारीबाट निलम्बन गर्ने । रुपान्तरण भएमा कार्यवाही भएको दोष हेरी जिम्मेवारी दिइने छ । 
ज) गिरफ्तार पर्ने कमरेडहरुलाई हिरासत र जेलभित्र भेटघाट गर्न ब्युरो स्तरमा जेल व्यवस्थापन समिति बनाएर संपर्क सहयोग गर्ने ।

प्रतिक्रिया दिनुहोस