सापकोटालाई सभामुख बनाउने निर्णयपछि यतिसम्म भयो बालुवाटारमा

सफल खबर संवाददाता

शनिबार, ११ माघ २०७६, १५ : १२
सापकोटालाई सभामुख बनाउने निर्णयपछि यतिसम्म भयो बालुवाटारमा

काठमाडौं । सभामुखमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले स्थायी कमिटी सदस्य अग्निप्रसाद सापकोटालाई अगाडि सारेपछि केही डलरवादीहरुको निदहराम भएको छ । नेकपा सचिवालयको बैठकले सर्वसम्मतीले सापकोटालाई उम्मेदवार बनाउने निर्णय गरेपछि सबैभन्दा बढी पिरलो डलरवादीका अलावा पूर्व एमालेका केही नेतालाई भएको छ ।

विशेषगरी राष्ट्रपति कार्यालयमा सल्लाहकारको जागिर खाएका सुवोधराज प्याकुरेल, डलरवादीको रुपमा परिचित हिमाल खबरपत्रिकाका साहु कनकमणि दीक्षित, विदेशी पैसामा साँझ बिहानको छाक टार्ने चरण प्रसाई, डलर भने पछि तीन हात उफ्रेर जाने दिनेश त्रिपाठीलाई नराम्ररी सताएको छ । चुल्हो बल्न नै छाड्ने भयो भनेर उनीहरु विगतका युद्धकालीन मुद्दालाई पुनः बल्झाउन कसरी सकिन्छ भनेर निहुँ खोजेर बसेका छन् । 

माओवादीले लडेर ल्याइदिएको गणतन्त्रमा विराजमान भएकी विद्यादेवी भण्डारीको सल्लाहकार पड्काएका प्याकुरेलले अझै पनि तत्कालीन माओवादीका नेताहरुलाई युद्ध अपराधमा कारवाही गर्नुपर्छ भन्दै हल्ला गरेर बसेका छन् । रमाइलो त के भयो भने सभामुखमा सापकोटालाई उम्मेदवार बनाउने निर्णय गरेकै दिन प्रधानमन्त्री केपी शर्मा ओलीका सहयोगी जस्तो भूमिकामा रहेका सुवासचन्द्र नेम्वाङकै पहलमा डलरवादीको रुपमा परिचय बनाएका कनकमणि दीक्षित, चरण प्रसाईलाई प्रधानमन्त्री निवास बालुवाटार बेलाइएको थियो । 

बैठकमा सहभागी प्रधानमन्त्रीका एक सहयोगीका अनुसार प्रचण्डहरुले पेलेकै भरमा सापकोटालाई उम्मेदवार त बनाइयो । उनी माथि अर्जुन लामाको हत्याको अभियोग लागेको छ । त्यससम्बन्धी मुद्दा सर्वोच्च अदालतमा समेत विचाराधीन अवस्थामा रहेको छ । सो मुद्दालाई कसरी उचाल्न सकिन्छ भनेर नेम्वाङले दीक्षितहरुबाट सहयोग चाहेको बताएका थिए । 

नेम्वाङले आयोजना गरेको उक्त छलफलमा प्रधानमन्त्री केही समय बसेर म औषधी लिनु छ भन्दै आफ्नो शयन कक्षतिर लागेका थिए । सभामुख हुन नपाएको पीडामा परेका नेम्वाङकै इशारामा दीक्षितहरुले सापकोटा उम्मेदवार भएको भोलिपल्ट नै राष्ट्रिय छापाहरुमा सापकोटाविरुद्ध जनमत तयार पार्ने गरी समाचार सामग्री छपाएका थिए । दीक्षितको योजनालाई मलजल गर्ने गरी नेम्वाङले समेत आफ्ना निकटका पत्रकार समेत परिचालन गरेका छन् ।

बालुवाटारमा नै आयोजित सो छलफलमा प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाल, परराष्ट्र सल्लाहकार राजन भट्टराई तथा प्रेस सल्लाहकार सूर्य थापा समेत रहेको बताइन्छ ।  सभामुख त हुने नै भइहाल्यो, धेरै समय दिन हुँदैन, जसरी भएपनि उसलाई दोस्रो महरा प्रकरण घटाएर भएपनि हटाउनुपर्छ भन्ने निष्कर्षका साथ बैठक सकिएको थियो । 

प्रचण्डको चट्टानी अडानका कारण पूर्वमाओवादीले सभामुख पाएको हो । प्रचण्डले तलमाथि गरेका भए फेरि पनि सभामुखमा उनै नेम्वाङ आउने कुरामा कुनै आशंका नै थिएन । सधैँ एउटै व्यक्तिलाई एउटै पद चाहिने, नेकपामा सभामुख बन्न लायक अरु कोही पनि नभएको जसरी नेम्वाङलाई नै अघि सार्ने प्रवृत्तिलाई यस पटक प्रचण्डले राम्रै दनक दिएका थिए । सोही दनकको रनाहामा परेपछि नेम्वाङकै साजिसमा दीक्षितहरुसँग परामर्श गरिएको थियो । दीक्षितहरुले जसरी भएपनि पूर्व माओवादीका नेतालाई युद्ध अपराधी करार गर्न भए नभएका कुरा उचालेर बसेका छन् । उनको ध्यान नै आफ्नो सबैभन्दा ठूलो शत्रु पूर्व माओावादी भए जस्तै गरी प्रकट भइरहेको छ । 

दीक्षितहरुको भेलामा नेम्वाङले सापकोटा विरुद्ध जनमत तयार पार्न के के गर्न सकिन्छ, सबै रणनीति अपनाउन समेत आग्रह गरेको बताइन्छ । उक्त छलफलमा सहभागी एक सदस्यका अनुसार नेम्वाङले सबैभन्दा पहिले सापकोटाको विषयमा गर्न सकिने कानूनी, प्रचारात्मक तथा सामाजिक सञ्जालको उपयोगलगायतका विषयमा चासो राखेका थिए । उनको चासोमा जवाफ दिँदै दीक्षितले सर्वोच्च अदालतमा विचाराधीन मुद्दालाई छिटो भन्दा छिटो फैसलामा लगेर सभामुखको ओहोदामा नै सापकोटालाई गिरफ्तार गराउनुपर्ने सुझाव दिएका थिए । अघिल्लो जसरी जेल गएको थियो यसैगरी सापकोटालाई पनि जेल हाल्नुपर्छ । त्यसो भए प्रचण्डहरुलाई पनि साइजमा ल्याउन सकिन्छ भन्ने उनको तर्क थियो । 

दीक्षितले त्यत्तिमात्रै भनेनन् ‘तपार्इँ (सुवास नेम्वाङ) त कानूनको जानकार, वरिष्ठ अधिवक्ता पनि हुनुहुन्छ । अदालतमा विचाराधीन अवस्थामा रहेका माओवादीका नेता तथा कार्यकर्ताको मुद्दालाई फैसलामा लैजान र धमाधम जेल हाल्ने वातावरण बनाउने तर्फ लाग्नुस् । हामी जनमत बनाउन लाग्छौँ ।’ दीक्षितले खुलामञ्चमा प्रचण्डले पाँच हजार मान्छे मारेको जिम्मा लिन्छु भनेर दिएको भाषणलाई नै आधार बनाएर अन्तर्राष्ट्रिय रुपमा पनि लविङ गर्न सुझाव दिएका थिए । ‘मौका यही हो, एकै निशानमा पूर्वमाओवादीका धेरै नेतालाई ठिक गर्न सकिन्छ’, दीक्षितले भनेका थिए।  

फूलेको कपाल कन्याउँदै दीक्षित बोल्दै गए, कानूनी शासन भन्ने, विधिको सर्वोच्चता भन्ने, खुलमखुल्ला मान्छे मारेको विषयमा जिम्मा लिन्छु भन्नेलाई त ठिक गर्नुपर्छ । दीक्षित बोलिरहेका बेला नेम्वाङको अनुहार उल्यालो र चमकले भरिपूर्ण देखिएको थियो । दुई पार्टी मिलेर नेकपा भएपनि तपाईहरु नेकपा(एमाले) नै हो ।

पूर्व गुरिल्लाहरुलाई त्यत्ति सजिलै खान दिनुहुन्छ, यो पार्टी सुवास कण । दीक्षितले भन्दै गए, ‘जसरी भएपनि पूर्व गुरिल्लाहरुलाई ठेगान लगाउने संयुक्त मिशनमा छौ । यो मिशन जसरी भएपनि सफल बनाउनुपर्छ । मिशन  सफल बनाउन प्रधानमन्त्रीको पनि साथ सहयोग रहनु पर्छ । एउटै महिलाको तिरले महरालाई मोहरा बनाइएको छ, तपाई हामी सबै जानकार नै छौँ । अब पालो प्रचण्ड र सापकोटाको हो । 

छलफलमा नेम्वाङले कमै मात्र बोलेका थिए । सबैभन्दा बढी उनै दीक्षित बोलेका थिए । प्रसाईले भने खासौ केही नभने पनि पूर्व गुरिल्लालाई ठिक गर्नुपर्छ भन्नेमा उनको समेत सहमत रहेको थियो । सापकोटाविरुद्ध त्यत्रो साजिस गरेका नेम्वाङ गत मंगलबार भने उनै सापकोटाको समर्थक बसेर सभामुख बनाउन लाइन लागेका थिए । यस्तो दोक्ला चरित्र भएका नेम्वाङलाई जति समय नेकपाले बोकेर हिँड्छ त्यत्ति नै समय धेरै दुःख पाउने निश्चित रहेको जानकारहरु टिप्पणी गर्छन् । 
 

प्रतिक्रिया दिनुहोस