नेपाल पनि ‘कोरोना’ भाईरस संक्रमणको जोखिममा, यसको लक्षण र यसबाट कसरी जोगिने ?

एजेन्सी

बुधबार, ०८ माघ २०७६, ११ : ४८
नेपाल पनि ‘कोरोना’ भाईरस संक्रमणको जोखिममा, यसको लक्षण र यसबाट कसरी जोगिने ?

एजेन्सी । चीनबाट देखा परेको नयाँ भाइरस कोरोनाको संक्रमण अन्य देशहरुमा पनि देखा पर्न थालेको छ । चिनमा त यो भाईरसको संक्रमणबाट ९ जनाले ज्यान नै गुमाई सकेका छन् । ४ सय ४० भन्दा बढी मानिसमा यसको संक्रमण देखिएको छ । विश्वभरि नै फैलने क्रममा रहेको यो भाईरस नेपाल भित्रन नदिन सरकारले विशेष सर्तकता अपनाएको छ ।

नेपालसंगै यो भाइरसको संक्रमण अमेरिका, दक्षिण कोरिया लगायतका स्थानमा देखा परिसकेको छ । स्वास्थ्यकर्मीहरुका अनुसार यसको संक्रमण श्वासप्रश्वासको माध्यमबाट सर्ने गरेको छ । गत हप्ता चिनको वुहान शहरबाट फर्किएका एक नेपाली विद्यार्थीलाई पनि भाइरसको सङ्क्रमण रहेको शङ्का गर्दै चिकित्सकहरूको निगरानीमा राखिएको शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पतालले जनाएको छ । 

के हो कोरोना भाइरस?
विश्व स्वास्थ्य सङ्गठनका अनुसार कोरोना भाइरस रुघाखोकीदेखि मिडल इस्ट रेस्पिरेटरी सिन्ड्रोम र सिभिएर एक्युट रेस्पिरेटरी सिन्ड्रोमजस्ता गम्भीर रोग निम्त्याउने भाइरसहरूको ठूलो समूहको एउटा सदस्य हो ।  

नयाँ प्रकारको कोरोना भाइरस यसअघि मानवमा पहिचान गरिएको थिएन । कोरोना भाइरस जूनोटिक अर्थात् जनावर र मानिसबीच सर्ने भाइरस हो । पहिचान भएका थुप्रै प्रकारका कोरोना भाइरस जनावरहरूमा देखिए पनि मानिसहरूलाई तिनले सङ्क्रमित बनाएका थिएनन् । तर अहिले यसको संक्रमण मानिसहरुमा पनि देखिन थालेको छ । 

यो रोगको संक्रमणको लक्षण के हो ?
विश्व स्वास्थ्य सङ्गठनका अनुसार कोरोना भाइरसबाट सङ्क्रमित हुने मानिसहरूमा केही साझा लक्षणहरू देखिन्छन्।
ज्वरो आउनु र खोकी लाग्नु
छिटोछिटो सास फेर्नु
श्वासप्रश्वासमा कठिनाइ हुनु
गम्भीर भएमा निमोनिया हुनु
सिभिएर एक्युट रेस्पिरेटरी सिन्ड्रोम हुनु
मिर्गौलाले काम गर्न छोड्छ र मृत्यु समेत हुन सक्छ
यसको संक्रमणबाट कसरी जोगिन सकिन्छ?

कसरी जोगिने ?

यो भाइरसको सङ्क्रमणबाट जोगिन विश्व स्वास्थ्य सङ्गठनले निम्न प्रकारका सुझाव दिएको छः
नियमित रूपमा हात सफा गर्ने
खोक्दा वा हाच्छिउँ गर्दा मुख छोप्ने
मासु र अण्डा राम्रोसँग पकाएर खाने
कोरोनाभाइरस लागेको लक्षण देखिएका मानिसदेखि टाढा बस्ने ।