विप्लवको पार्टीभित्र घर झगडा : पत्रकार संगठनको अध्यक्षमाथि नै गम्भीर आरोप

सफल खबर संवाददाता

बुधबार, ०८ माघ २०७६, ०९ : ०४
विप्लवको पार्टीभित्र घर झगडा : पत्रकार संगठनको अध्यक्षमाथि नै गम्भीर आरोप

काठमाडौं । प्रतिबन्धित नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको पार्टीभित्र आर्थिक अराजकता मच्चिदा पार्टी नेताहरुकै बीचमा आरोप-प्रत्यारोप चुलिएको छ । पार्टीभित्रको पत्रकार संगठनका अध्यक्ष नै भूमाफियासँग रुपैयाँ र स्कुटर लिएर हिडेपछि यो विषयले पार्टीभित्र बबन्डर मच्चिएको छ ।

कैलालीको हरैयाबाट सुकुम्बासीलाई उठीवास लगाउन भूमाफियासँग पार्टी नीति विपरित रकम अुसलेको र साँठगााठ गरेको आरोप पत्रकार संगठनकै अध्यक्षलाई लागेपछि उनलाई अहिले पार्टी स्थायी समिति बैठकले कारवाही गरेको सर्कुलर सार्वजनिक भएको छ । यो विषयमा नेकपाकै दुई खाले वक्तब्य सार्वजनिक भएका छन् ।

पत्रकार संगठनका अध्यक्ष प्रकाश डुम्रे, महासचिव हेम विष्ट र केन्द्रीय सदस्य ओम हमाललाई कैलाली हरैयाका भूमाफिया विमल बस्यालवाट पार्टी नीति विपरित रकम लिएर अपचलन गरेको आरोपमा अनिश्चितकालिन निलम्वन गरिएको एउटा सर्कुलर सार्वजनिक भएको छ ।
 (हेनुहोस्, पार्टी स्थायी समिति बैठकको सर्कुलर)
 
यो सर्कुलर सार्वजनिक भएपछि पत्रकार संगठनका फ्याक्सन इन्चार्ज अनिल शर्मा विरहीले त्यस्तो सार्वजनिक भएको सर्कुलर दूरासायपूर्ण तरिकाबाट पार्टी र जनसंगठनले खेलेको भूमिकाबाट अत्तालिएकाहरुले अफवाह र भ्रम फैलाउन मात्र खोजेको वक्तब्य दिएका छन् । अहिले निलम्वन भनिएका पत्रकार संगठनका अध्यक्ष, महासचिव विरही निकट ब्यक्ति हुन् । पत्रकार संगठनमा गत वर्ष नै पक्ष विपक्षमा नेताहरु नै लागिदिदा संगठन नै विभाजन हुन पुगेको थियो ।
(हेर्नुहोस विरहीको वक्तब्य)
 
त्यसबेला फ्याक्सन इन्चार्ज रहेका जिवन्त (मोहन कार्की) सत्तारुढ दल नेकपा प्रवेश गरिसकेका छन् । विरही अहिले फ्याक्सन इन्चार्ज भएर ६ महिना अगाडी मात्रै जिम्मेवारीमा आएका थिए । त्यसपछि डुम्रे लगायतले उनलाई आफनो प्रभावमा पारेर अनेक काम गरिरहेको आरोप अर्काे पक्षको छ । विप्लव पार्टीभित्र शीर्ष नेतृत्वमै देखिएको अन्तरविरोधको एउटा उदाहरण पत्रकार संगठनमा देखिएको विवाद भएको त्यस पार्टीका एक जना नेताले बताए । विप्लव र प्रकाण्ड मध्ये पार्टी भित्र पकड कसले जमाउने र जनसंगठन कब्जा कसले गर्ने भन्नेमा केही समय देखि नै विवाद पर्दै आएको थियो ।

प्रकाण्ड खासगरी आर्थिक अभियानमा बढी जोडिएका कारण पनि उनीसँग निकट छन्, डुम्रे विरही लगायतका नेताहरु । डुम्रेले यी नेताहरुलाई आर्थिक रुपमा गुन लगाएका कारण पनि उनको कारवाहीवाट सन्तुष्ट छैनन् प्रकाण्ड । पार्टी निर्णयका विरुद्धमा प्रकाण्ड आफैंले वक्तब्य दिन नमिल्ने भएकाले विरहीलाई सो समुहले वक्तब्य दिन लगाएर डुम्रेको बचाउ गर्न लगाईएको आरोप पनि विप्लवको पार्टीभित्र अहिले बहस बनिरहेको छ ।

कैलाली हरैयाका सुकुम्बासीको उठिबास लगाएको भन्दै पार्टीले कारवाहीको धम्की दिइरहेको बेला पत्रकार संगठनका अध्यक्ष लगायतकाले पोखरा पुगेर उनै माफियासँग रकम बुझेको, पार्टीलाई पोजिटिभ बनाउने र सुकुम्बासी उठाउन पार्टीभित्र लबिंङ गर्ने भन्दै रकम बुझेको आरोप डुम्रे लगायतलाई लागेको छ ।

बाहिर प्रचारमा आएका यी दुई थरी आरोप प्रत्यारोप विप्लवको पार्टीभित्रको घर झगडालाई चुलीमा पु¥याउने देखिन्छ । यो घटना सही भएको एउटा पक्षले बताईरहेको छ भने अर्काे पक्षले भ्रम र अफवाह मात्र भनेको छ । खास वास्तविकता के हो ? केही समय पछि पक्कै खुल्नेछ । 
 

प्रतिक्रिया दिनुहोस