भूमिहीनलाई पक्की घर

बुधबार, ०८ माघ २०७६, ०७ : १९
भूमिहीनलाई पक्की घर

दमक । अति विपन्न तथा भूमिहीन सुकुम्बासी परिवारका लागि दमक नगरपालिकाले व्यवस्थित घर ‘नमुना बस्ती’ निर्माण गरेको छ । १८ कट्ठा सरकारी जमिनमा नगरपालिकाले २४ वटा पक्की घर निर्माण गरेको हो ।

दमक १ स्थित रतुवा खोलाको उकास जमिनमा व्यवस्थित बस्ती बसाल्ने उद्देश्यले ‘एकीकृत नमुना बस्ती’ निर्माण गरेको नगरपालिकाले जनाएको छ । पक्की पर्खालसहितको बस्ती निर्माण गर्न ३ करोड ७० लाख रुपैयाँ खर्च भएको नगरपालिकाका योजना शाखा प्रमुख इन्जिनियर तीर्थ श्रेष्ठले जानकारी दिए ।गत वर्षको संघीय स्थानीय विकास पूर्वाधार साझेदारी कार्यक्रमको एक करोड ४० लाख, प्रदेश सरकारको ससर्त अनुदान १ करोड ३० लाख र नगरपालिकाको एक करोड रुपैयाँ लगानीमा बस्ती निर्माण गरिएको श्रेष्ठले बताए ।

एउटा परिवारका लागि ८ धुर जमिन उपलब्ध गराइएको छ । जसमा दुइटा बेडरुम, एउटा लिभिङरुम, एउटा किचन र बरन्डासहित चार कोठाको घर निर्माण गरिएको छ । प्रत्येक परिवारको लागि शौचालय, पानीको व्यवस्था गरिएको छ । टिनको जस्ता पाता लगाइएको घरमा जिप्सनको सिलिङ समेत निर्माण गरिएका छन् । विद्युत जडान, ढल निकास तथा बस्तीमा लकिङ टायल समेत बिछ्याउने उपमेयर गीता अधिकारीले जानकारी दिइन् ।

‘सबै घरहरू भवन मापदण्डअनुसारका छन् । फराकिला कोठा र आवश्यक सबै पूर्वाधार निर्माण गरेका छौं,’ उनले भनिन् । ती घरहरू भूमिहीन सुकुम्बासीलाई उपलब्ध गराउन लागेको मेयर रोमनाथ ओलीले जानकारी दिए । ‘जो तीन पुस्तासम्म सुकुम्बासी छ । मुलुकभरि एक धुर जमिन छैन । र, दमक नगरपालिकाभित्र कम्तीमा १० वर्षदेखि बसोबास गर्दै आएको छ भने त्यस्तो परिवारलाई यी घर उपलब्ध गराउन लागेका हौं’ मेयर ओलीले भने ।

अहिलेसम्म ६ परिवार छनोट गरिसकेको उनले बताए । नगरपालिकाले चालु वर्षमा पनि अर्को एउटा नमुना बस्ती निर्माण गर्ने मेयर ओलीले जानकारी दिए । ‘वडा नं. ७ मा पनि करीब एक बिघा सरकारी जमिन फेला परेको छ । उक्त जमिनमा पनि भूमिहीन सुकुम्बासीका लागि घर निर्माण गर्ने तयारीमा छौं’ उनले भने । राजधानी दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस