अनुशासित, नैतिकवान् र जिम्मेवार बन्न ‘नेकपा’ मा नयाँ आचारसंहिता

पत्रपत्रिकाबाट

मंगलबार, ०७ माघ २०७६, ०७ : ०४
अनुशासित, नैतिकवान् र जिम्मेवार बन्न ‘नेकपा’ मा नयाँ आचारसंहिता

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले आफ्ना नेता–कार्यकर्तालगायत सदस्यलाई सबैसँग मर्यादित, सरल र मिठासपूर्ण भाषा प्रयोग गर्दै अनुशासित, नैतिकवान् र जिम्मेवार बन्न निर्देशन दिएको छ । नेकपाले जारी गरेको आचारसंहितामा आफ्ना सदस्यलाई अनुशासन, जिम्मेवारीबोध र कर्तव्यबोधको पाठ सिकाइएको छ ।

नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले सोमबार जारी गरेको ११ बुँदे आचारसंहितामा पार्टीका नेता, कार्यकर्तासहित सबै सदस्यले अब शिष्ट भाषा प्रयोग गर्नुपर्ने उल्लेख छ । भ्रष्टाचार, कालोबजारी, गैरकानुनी कमिसन, करछली, अनियमितताजस्ता अपराध नगर्ने, गर्न नदिने तथा आफूसँग प्राप्त सूचना सरकारलाई उपलब्ध गराउने कर्तव्य निर्वाह गरी नमुना बन्नुपर्ने आचारसंहितामा उल्लेख छ । आचारसंहिता उल्लंघन गर्नेको सदस्यता खारेज गर्ने चेतावनी पनि नेकपाले दिएको छ । यो निर्देशनसँगै नेकपा सदस्यले अब कसैलाई पनि हेप्न र होच्याउन पाउनेछैनन् ।

‘परिवारका सदस्य र अरूसँग बोलिने भाषा मर्यादित, सरल र मिठासपूर्ण बनाउनुपर्छ । कसैलाई पनि हेलाहोचो, एकारान्त तथा तँ भन्न पूर्ण रूपले बन्द गर्नुपर्छ । छोराछोरीको विवाहलाई सरल मितव्ययी बनाउनुपर्छ । जन्मदिन, व्रतबन्ध, पास्नीजस्ता परम्परागत संस्कारलाई घरपरिवारमा मात्र सीमित गर्नुपर्छ,’ अध्यक्षद्वय ओली र दाहालले जारी गरेको आचारसंहितामा उल्लेख छ ।

पार्टीको सिद्धान्त, कार्यक्रम, नीति र विधान, नियमावली, निर्णय तथा आचारसंहिता पालना गर्नु प्रत्येक पार्टी सदस्यको कर्तव्य रहेको उल्लेख गर्दै नेकपाले आचारसंहिता उल्लंघन गर्नेलाई कारबाही गर्ने चेतावनी दिएको छ । आचारसंहिताको पालना नगर्ने तथा पटक–पटक सचेत गराउँदा पनि नसुध्रिने सदस्यलाई कानुनसँग सम्बन्धित सवालमा कानुनबमोजिम, पार्टी अनुशासनसँग सम्बन्धित सवालमा पार्टी विधान, नियमावली र निर्णयबमोजिम कारबाही गरिने नेकपाले जनाएको छ ।

झट्ट हेर्दा प्राविधिक जस्तो लाग्ने आचारसंहिता पार्टीले झेलिरहेका राजनीतिक तथा संगठनात्मक समस्याहरूको समाधानका लागि महŒवपूर्ण रहने नेकपाले जनाएको छ । पार्टीलाई गतिशील र अभिभारा वहन गर्न समर्थ तुल्याउन आचारसंहिताको प्रभावकारी कार्यान्वयनमा सक्रिय रूपमा जुट्न केन्द्रीय कमिटी, प्रदेश कमिटी, जिल्ला कमिटीलाई निर्देशन दिइएको छ ।

नेकपाले आफ्ना सदस्यलाई परिवारका सदस्यहरू सबैजना सँगै बसेर खाना खानुपर्ने आचारसंहिता बनाएको छ । बालबालिका, अशक्त र ज्येष्ठ नागरिकलाई काम लगाउन नपाइने र उनीहरूसित प्रेम, सहयोग र सद्भावपूर्ण व्यवहार गर्नुपर्ने आचारसंहितामा उल्लेख छ । परिवारमा गालीगलौज, झगडा, भेदभाव र छुवाछूत पूर्ण रूपले अन्त्य गर्नुपर्ने उल्लेख गर्दै नेकपाले चाडपर्व र अन्य कामका लागि खर्च गर्दा मितव्ययी हुनुपर्ने निर्देशन गरेको छ । यस्तै, घरभित्र र बाहिर पनि महिलाप्रति सम्मान प्रकट गर्नुपर्ने नेकपाले जनाएको छ ।

‘हामीलाई इतिहासले जनताको जनवाद कार्यान्वयन गर्ने, समृद्धि हासिल गर्ने र समाजवाद निर्माण गर्ने ऐतिहासिक जिम्मेवारी प्रदान गरेको छ । हामी सही नीति र प्रभावकारी संगठनात्मक प्रबन्धका साथ अघि बढेका छौं । यसका लागि पार्टीका नेता, कार्यकर्ता र सदस्यहरूले यी आचारसंहिता पालन गर्न जरुरी छ,’ नेकपाले जारी गरेको निर्देशनमा भनिएको छ ।

नेकपाले प्रत्येक पार्टी सदस्यले श्रमप्रति आस्था र श्रमजीवीप्रति सम्मान प्रकट गर्नुपर्ने उल्लेख गर्दै जुनसुकै प्रकारको श्रमिक बन्न तयार हुनुपर्ने जनाएको छ । आफूले गरेको श्रमबाट आर्जित कमाइबाट राज्यलाई कर तिर्नु र जीवन निर्वाह गर्नुपर्ने जनाउँदै नेकपाले पार्टीलाई आफ्नो कमाइबाट नियमित रूपमा सदस्यता शुल्क र लेबी बुझाउनुपर्ने आचारसंहिता बनाएको छ ।

‘बेलाबेलामा परिवारका सदस्य सबै जुटेर पारिवारिक बैठक बसी हार्दिकतापूर्ण वातावरणमा सबैले सबैलाई सल्लाह, सुझाव दिने र आलोचना गर्ने स्थिति निर्माण गुर्नपर्छ,’ नेकपाले जारी गरेको आचारसंहितामा उल्लेख छ, ‘१६ वर्ष पुगेका परिवारका सबै सदस्यबीच दिनभरि गर्नुपर्ने घरका कामहरू सम्पन्न गर्न कार्यविभाजन गर्नुपर्छ । कार्यविभाजन गर्दा सबभन्दा अप्ठेरो काम आफूले लिनुपर्छ ।’ राजधानी दैनिकमा खबर छ । 

प्रतिक्रिया दिनुहोस