तरुल र सखरखण्डको मूल्य झण्डै दोब्बरले वृद्धि

पत्रपत्रिकाबाट

बुधबार, ०१ माघ २०७६, ०८ : १७
तरुल र सखरखण्डको मूल्य झण्डै दोब्बरले वृद्धि

काठमाडौँ । माघे संक्रान्तिमा बढी खपत हुने तरुल, सखरखण्ड र पिँडालुजस्ता कन्दमूलको मूल्य यसवर्ष झण्डै दोब्बरले वृद्धि भएको छ ।

यी कन्दमूलको मूल्य गतवर्षको तुलनामा ९१ प्रतिशतसम्मले बढेको कालिमाटी तरकारी तथा फलफूल बजार विकास समितिले बताएको छ ।

समितिको दैनिक मूल्य सूचीअनुसार गतवर्ष पुस ३० गतेको तुलनामा यस वर्ष सखरखण्ड र तरुलको मूल्य ९१ प्रतिशतले बढेको छ भने पिँडालुको मूल्य ३० प्रतिशतले वृद्धि भएको हो ।


गतवर्ष पुस ३० गते सखरखण्ड र तरुलको खुद्रा मूल्य प्रतिकेजी ५५ रुपैँया र पिँडालुको खुद्रा मूल्य ६५ रुपैँया थियो । यस वर्षको पुस २९ गते (मंगलबार) सखरखण्ड र तरुलको खुद्रा मूल्य प्रतिकिलो १०५ रुपैँया र पिँडालुको खुद्रा मूल्य प्रतिकिलो ८५ रुपैँया पुगेको छ ।

मूल्य बढे पनि यसको कारोबार भने चलायमान रहेको समितिका उपनिर्देशक विनय श्रेष्ठले बताए । यो समाचार आजको आर्थिक अभियानमा छ ।

प्रतिक्रिया दिनुहोस